काठमाडाैं/ रसुवा भोटेकोशी बाढीले रोकिएको करिब दुई महिनापछि बंगलादेशमा पुनः विद्युत् निर्यात सुरु भएको छ । भारतले अघिल्लो साता २५ मेगावाटको काबेली बी–१ र २३ मेगावाटको सोलुखोला जलविद्युत्् आयोजनालाई स्रोत देखाएर बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको थियो । त्यसपछि शुक्रबारदेखि बंगलादेशमा विद्युत् निर्यात भएको हो ।
यद्यपि, यो वर्ष बंगलादेश विद्युत् निर्यात गर्ने अवधि अब कात्तिक २९ गतेसम्म मात्रै छ ।
नेपालले १५ जुनदेखि १५ नोभेम्बर (असारदेखि कात्तिक)सम्म बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता छ । त्योअनुसार यो वर्ष आगामी २९ कात्तिक (१५ नोभम्बर)सम्म विद्युत् निर्यात गर्न पाउँछ ।
बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न स्रोतका रूपमा देखाइएको २४ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र १० भदौको बाढीले बगाएसँगै बंगलादेशतर्फको विद्युत् निर्यात पनि ठप्प भएको थियो । त्यसलगत्तै सोलु खोला र काबेली–१ परियोजनाको विद्युत् बंगलादेश निर्यात गर्न सहमति माग्दै नेपाल विद्युत् प्राधिकरणले भारतलाई पत्र पठाएको थियो । तर, भारतले लामो समयसम्म त्यसमा सहमति पठाएन । जबकि, ती दुई आयोजनाको बिजुली भारतमा बिक्री गर्न भने पहिले नै अनुमति थियो । तर, त्यही बिजुली बंगलादेश निर्यात गर्न भारतले अनुमति दिन अस्वाभाविक रूपमा ढिलाइ गरेको हो ।
प्राधिकरणले भारतीय प्रसारणलाइन हुँदै असारदेखि कात्तिकसम्म (वर्षको पाँच महिना) बंगलादेशमा निरन्तर ४० मेगावाट विद्युत् निर्यात गर्दै आएको छ । भारतले बंगलादेशमा निर्यात गरिने नेपाली बिजुलीका लागि पनि परियोजना नै तोकेर सहमति ल्याउनुपर्ने सर्त राखेको छ । भारतले आफ्नो प्रसारणलाइन प्रयोग हुने भन्दै यस्तो सर्त लागू गरेको थियो ।
सोही सर्तअनुसार यसअघि २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्रबाट १८.६० मेगावाट र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रबाट २१.४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने गरी भारतबाट अनुमति लिइएको थियो । तर, १० भदौको रसुवा बाढीले उक्त दुवै परियोजना बन्द भएका छन् । नेपालबाट ४० मेगावाट विद्युत् भारतीय प्रसारणलाइन हुँदै बंगलादेश निर्यात गर्ने गरी १७ असोज ०८१ मा त्रिपक्षीय सम्झौता भएको थियो ।
सम्झौतापत्रको अवधि पाँच वर्षको रहेको छ । नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)बिच भएको सम्झौताअनुसार १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६.४० सेन्ट पाउनेछ । भारतले पनि प्रसारणलाइन प्रयोग गर्न दिएबापत बंगलादेशबाट तोकिएको शुल्क पाउनेछ ।
१४.१ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाको सट्टा २० मेगावाटको तल्लो मोदी जलविद्युत् केन्द्रको विद्युत् भारतको हरियाना प्रदेशमा निर्यात गर्न अनुमति दिएको छ । १० भदौको बाढीले देवीघाट जलविद्युत् आयोजना पनि बगाएको थियो । यस आयोजनाको बिजुली भारतको हरियाना प्रदेशमा निर्यात हुने गर्छ ।
बाढीले परियोजना बगाएसँगै हरियानाको विद्युत् निर्यात पनि आंशिक प्रभावित भएको थियो । नेपालले हरियानामा चार सय मेगावाटसम्म विद्युत् मध्यकालीन सम्झौता गरेर बिक्री गर्ने सम्झौता छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बंगलादेशमा पुनः विद्युत् निर्यात सुरु भएको बताए । ‘भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि बंगलादेशतर्फ बिजुली निर्यात पुनः सुरु भएको छ ।
बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि हो,’ उनले भने, ‘यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।’
तीन महिनामा भारतमा १६ अर्ब १५ करोडको बिजुली निर्यात
चालू आर्थिक वर्ष ०८३/८४ को तीन महिनामा भारततर्फ १६ अर्ब १५ करोड १३ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । गत आवको तीन महिनामा १४ अर्ब १२ करोडबराबरको विद्युत् निर्यात भएको थियो । पटक–पटक बाढीले उत्पादन घटाएको अवस्थामा समेत चालू आवमा विद्युत् निर्यातबाट हुने आम्दानी १४.३७ प्रतिशतले बढेको छ ।
गत आवभर भने नेपालबाट २९ अर्ब ३२ करोडबराबरको विद्युत् निर्यात भएको थियो । यो वर्ष कति विद्युत् निर्यात हुन्छ, त्यो भने हेर्न बाँकी छ । नेपालले भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब ११ सय ७९ मेगावाट छ । बर्खामा बढी हुने विद्युत् बंगलादेश र भारतमा निर्यात गरिन्छ । हिउँदमा आन्तरिक माग धान्न भारतबाटै आयात गरिन्छ । यद्यपि, विगत तीन वर्षदेखि नेपाल विद्युत् निर्यातकर्ता बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ भन्छन्– भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि बंगलादेशतर्फ बिजुली निर्यात पुनः सुरु भएको छ । बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महŒवपूर्ण उपलब्धि हो । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।