असोजमा पाँच अर्ब १० करोड विदेशी लगानी प्रतिबद्धता

शुक्रबार, १३ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- असोजमा पाँच अर्ब १० करोड ७५ लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विभिन्न ९४ वटा परियोजनाका लागि सोबराबरको लगानी प्रस्ताव आएको उद्योग विभागले जनाएको छ । लगानी प्रतिबद्धता आएका परियोजना सबै साना प्रकृतिका छन् ।

तथ्यांकअनुसार अटोमेटिक रुटबाट ८८ परियोजनामा चार अर्ब ८४ करोड १५ लाख ५० हजार र स्वीकृति प्रक्रियाबाट ६ परियोजनामा २६ करोड ६० लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ ।

चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो तीन महिनामा भने चार सय २२ परियोजनामा १६ अर्ब २३ करोड १९ लाख ५५ हजार रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । तथ्यांकअनुसार साउनमा एक सय ९१ परियोजनामा तीन अर्ब ७७ करोड २८ लाख ८४ हजार र भदौमा भने एक सय ३६ परियोजनामा ६ अर्ब ३५ करोड १५ लाख २१ हजार लगानी प्रतिबद्धता आएको थियो । असोजमा भने ९४ परियोजनामा पाँच अर्ब १० करोड ७५ लाख लगानी प्रतिबद्धता आएको थियो ।

गत आवको तीन महिनामा भने ३५ अर्ब १३ करोड ७७ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । गत आवको तीन महिनामा तीन सय ११ परियोजनामा लगानी प्रतिबद्धता आएको थियो । गत आवको साउनमा एक सय २७ परियोजनामा २४ अर्ब १० करोड ५० लाख, भदौमा एक सय नौ परियोजनामा आठ अर्ब ९८ करोड ७० लाख र असोजमा मात्रै ७५ परियोजनामा दुई अर्ब चार करोड ५७ लाख  लगानी प्रतिबद्धता आएको थियो । 

कुन क्षेत्रमा कति ? 
समीक्षा अवधिमा सबैभन्दा धेरै लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । तीन महिनामा पर्यटनका एक सय आठ परियोजनामा ६ अर्ब आठ करोड २८ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

रकमका आधारमा दोस्रो नम्बरमा ऊर्जा क्षेत्र छ । ऊर्जाका दुई परियोजनामा चार अर्ब लगानी प्रतिबद्धता आएको छ । तेस्रो नम्बरमा भने सेवामूलक क्षेत्र छ । सेवा क्षेत्रका ३३ परियोजनामा तीन अर्ब ५७ करोड ५४ लाख ३८ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

यस्तै, उत्पादनका २५ परियोजनामा एक अर्ब ६० करोड ५३ लाख रुपैयाँ, कृषिका दुई परियोजनामा चार करोड र सूचना प्रविधिका दुई सय ५२ परियोजनामा ९२ करोड ८३ लाख ६७ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । संख्याका आधारमा सूचना प्रविधिमा धेरै लगानी प्रतिबद्धता आएको छ । 

सुझावित समाचार