सातामै प्रतिमन आठ हजार बढ्यो अलैँचीको मूल्य

अलैँचीको मूल्य आइतबार प्रतिमन ८८ हजार पुग्यो

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

अलैँचीको मूल्य एक सातामा प्रतिमन (४० केजी) आठ हजारले बढेको छ । अघिल्लो साता प्रतिमन ८० हजारले कारोबार भएको अलैँचीको मूल्य आइतबार बढेर ८८ हजार पुगेको हो । 
अलैँची व्यवसायी कमल बरालले आइतबार ताप्लेजुङमा प्रतिमन ८८ हजारमा किनबेच भएको बताए । गत साता ८० हजारमा मात्र कारोबार भएको अलैँचीको मूल्य आइतबार ८८ हजारमा कारोबार भएको उनले जानकारी दिए । मूल्य बढ्दै गएपछि किसानमा अझै उत्साह थपिएको छ । तर, किसानलाई मूल्यभन्दा पनि अलैँची घर भित्र्याउने चटारो बढी रहेको उनले बताए । ताप्लेजुङ बेँसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैँची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन् । 

फुङलिङ नगरपालिका वडा नम्बर ६ का किसान शिवप्रसाद पोख्रेलले अलैँची टिप्ने मुख्य समयमा नटिपे वर्षभरको मिहिनेतमा असर पर्ने भएकाले चार्डपर्वमा समेत बगानमै बिताउने गरेको बताए । जिल्लाका अधिकांश किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन् । 

अलैँची खेतीले किसानसँगै स्थानीय मजदुरलाई समेत रोजगारी दिएको छ । बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदुरले दैनिक पाँच सयदेखि आठ सय रुपैयाँ ज्याला पाउने गरेका छन् । त्यसमा पनि अझै अलैँची टिप्न महिलालाई समेत रोजगारी भएको छ । अधिकांश महिला अलैँची बगान जाने, अलैँची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आम्दानी हुने गरेको महिला मजदुर बताउँछन् । 

ताप्लेजुङका नौ स्थानीय तहका ६१ वडामध्ये ६० वडामा अलैँचीको उत्पादन हुने गरेको छ । ताप्लेजुङ कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लामा चार हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिएको छ । त्यसबाट करिब दुई हजार दुई सय ९१ मेट्रिकटन उत्पादन हुने गरेको बताइन्छ ।

ताप्लेजुङ देशमै सबैभन्दा बढी अलैँची उत्पादन हुने जिल्ला हो । पछिल्लो समयमा उत्पादन र खेती क्षेत्रफलमा उतारचढाव खेखिए पनि जिल्लामा अलैँची किसानको मुख्य नगदेबालीका रूपमा साथै खोल्सीको कालो सुन भनेर चिनिन्छ । देशभरको उत्पादनमा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा तथा तेह्रथुम प्रमुख जिल्ला रहेका छन् । 

यस वर्ष अलैँचीको सुरुवाती मूल्यसमेत विगतको तुलनामा राम्रो रहेको व्यवसायी बताउँछन् । मूल्यमा आएको पछिल्लो वृद्धिले किसानलाई रहत दिएको छ । अलैँचीको मूल्य अन्तर्राष्ट्रिय बजारको माग, आपूर्ति र गुणस्तरअनुसार घटबढ हुने भएकाले अहिलेको मूल्य स्थिर भने नरहने अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्याक्ष भद्रवीर रेग्मी बताउँछन् ।

हालको मूल्यवृद्धि र उत्पादन भित्र्याउने मुख्य याम एकैपटक परेकाले जिल्लाका किसानका लागि अलैँची अहिले आम्दानीको आशाका साथै कामको चटारोले पीडित बनाएको छ । 

सुझावित समाचार