काठमाडौं/ ललितपुरको जावलाखेल मैदानमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १२–१६ कात्तिकसम्म मेला सञ्चालन हुन लागेको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै तिहारअघि घरआँगनको बगैँचा सजाउन तथा स्वागत–सत्कारमा प्रयोग हुने फूलको सहज उपलब्धता गराउन मेला आयोजना गर्न लागिएको मेलाका संयोजक सुमन महर्जनले बताए ।
उनका अनुसार मेलाले गोदावरी फूलको व्यावसायिक प्रवर्द्धन, समयअनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित सञ्चलान हुन लागेको मेलामा व्यावसायिक स्टल ७८, प्लान्ट क्लिनिक स्टल एक अफिसियल स्टल चार, प्रतियोगितात्मक स्टल दुई र फोटो सेल्फी स्टल एक गरी कुल ८६ वटा प्रदर्शनी कक्ष रहने संयोजक महर्जनले जानकारी दिए ।
‘यो प्रदर्शनी गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी रहेकाले गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रमलाई पनि निरन्तरता दिइनेछ,’ उनले भने । प्रदर्शनीमा सहभागी नर्सरी–फार्महरूले उत्पादन गरेको गोदावरी फूलको पाँचवटा प्रजाति मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर रहने एसोसिएसनले जनाएको छ ।