ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन करिब १० हजार तीर्थयात्रीले दर्शन गरेका छन्। कात्तिक १७ गते मंगलबार यस वर्षकै सबैभन्दा बढी संख्यामा भक्तजन पाथीभरा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार मंगलबार यस वर्षकै सबैभन्दा ठुलो संख्यामा तीर्थयात्री पाथीभरा पुगेका हुन्। पछिल्लो समय पाथीभरा दर्शनका लागि आउने भक्तजनको संख्या बढ्दै गएको र मंगलबारको आगमनले यस वर्षको अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको उनले बताए।
दसैँ, तिहार तथा नवरात्रको समयमा पाथीभरामा दर्शनार्थीको चाप बढी हुने गरेको छ। विशेषगरी कात्तिक महिनामा बिदा, चाडपर्व र अनुकूल मौसमका कारण देशका विभिन्न जिल्लासँगै भारतका सिक्किम, आसामलगायत स्थानबाट समेत भक्तजन पाथीभरा पुग्ने गरेका छन्।
वार्षिक दुई लाखभन्दा बढी दर्शनार्थी
पाथीभरा क्षेत्र विकास समितिको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ।
आर्थिक वर्ष ०८०/८१ मा दुई लाख ३१ हजार ३३४ जनाले पाथीभराको दर्शन गरेका थिए। आर्थिक वर्ष ०८१/८२ मा यो संख्या घटेर दुई लाख १७ हजार ८७६ पुगेको थियो। आर्थिक वर्ष ०८२/८३ मा भने दर्शनार्थीको संख्या बढेर दुई लाख ५२ हजार ७८ पुगेको थियो।
यसरी आर्थिक वर्ष ०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ हजार २०२ जना बढी दर्शनार्थी पाथीभरा पुगेका थिए।
समुद्री सतहबाट तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरा मन्दिर ताप्लेजुङको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य हो। पाथीभरा माताको दर्शन तथा पूजाआजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यहाँ नेपालका विभिन्न जिल्ला तथा भारतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन्।
ताप्लेजुङ सदरमुकाम फुङलिङ हुँदै सवारीसाधनबाट काफ्लेपाटीसम्म पुग्न सकिन्छ। काफ्लेपाटीबाट करिब पाँच किलोमिटर पैदल उकालो यात्रा गरेपछि पाथीभरा मन्दिर पुगिन्छ।
पछिल्लो समय पाथीभरामा बढ्दै गएको दर्शनार्थीको चापले धार्मिक पर्यटनको सम्भावनालाई थप बलियो बनाएको छ। ठुलो संख्यामा तीर्थयात्री पुग्दा स्थानीय होटेल, यातायात, पसल तथा अन्य पर्यटन व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने गरेको छ।
यस वर्ष एकै दिन करिब १० हजार भक्तजनले पाथीभराको दर्शन गर्नुलाई मन्दिरप्रतिको धार्मिक आस्था र पर्यटकीय आकर्षण विस्तार हुँदै गएको संकेतका रूपमा हेरिएको छ।