काठमाडौं/ प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले सूर्यविनायक–धुलिखेल सडक निर्माण छिटो सम्पन्न गर्न निर्देशन दिएको छ । समितिले सोमबार आयोजनाका पदाधिकारीसँग छलफल गर्दै देखिएका समस्या छिटो समाधान गरेर काम सम्पन्न गर्न निर्देशन दिएको हो ।
सूर्यविनायक–साँगा सडक खण्डको ५३ प्रतिशत र साँगा–धुलिखेल सडकखण्डको ७४ प्रतिशत कार्य सम्पन्न भएको निष्कर्ष निकालिएको छ । आयोजनाअन्तर्गत जगाती पुल, महादेव खोला पुललगायत पुण्यमाता पुलको भौतिक प्रगति मात्र १२ प्रतिशत भएको देखिएको छ ।
समितिका सभापति आशिष गजुरेलको संयोजकत्वमा भएको छलफलमा काभ्रे २ का सांसद वदनकुमार भण्डारी, भक्तपुर १ का सांसद रुकेस रञ्जित र सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख विजयकुमार महतोको समेत उपस्थिति रहेको थियो ।
बैठकले सूर्यविनायक–धुलिखेल सडक आयोजना निर्माण कार्यका क्रममा भक्तपुर, सूर्यविनायक तथा बनेपा क्षेत्रमा देखिएका विद्युत् पोल सार्ने, सडक सीमाभित्रका घर तथा संरचना हटाउने र अत्यधिक चारबाटो (इन्टरसेक्सन) को माग लगायतका समस्या तथा अवरोधहरूको तत्काल पहिचान गरी शीघ्र समाधान गर्ने निर्णय गरेको छ । यसका लागि सम्बन्धित निर्माण व्यवसायी, आयोजना कार्यालय र सरोकारवाला निकायबिच आवश्यक समन्वय र सहजीकरण गरिने भएको छ ।