दीपावलीमा फूल तथा माला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो विभिन्न स्थान

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । काठमाडौं महानगरपालिकाले दीपावली पर्वलाई लक्षित गर्दै स्वदेशी फूल तथा माला बिक्री–वितरणका लागि महानगर क्षेत्रभित्र विभिन्न स्थान तोकेको छ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयअन्तर्गत महानगर प्रहरी बलले सूचना जारी गर्दै नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको बिक्री–वितरणलाई प्राथमिकता दिन व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको हो।

महानगरपालिकाले दीपावलीका अवसरमा प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न तथा नगराउन अनुरोध गरेको छ। सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरले जनाएको छ।

स्वदेशी उत्पादनको प्रवर्द्धन तथा नेपाली किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले महानगरले विभिन्न स्थानमा फूल तथा माला बिक्रीका लागि व्यवस्था गरेको हो।

महानगरले तोकेका बिक्री स्थलहरूमा नयाँ बानेश्वरको एनबी सेन्टर, शंखमूलको बिग मार्ट, आइप्लेक्स मल, मध्यबानेश्वरको सेल्सबेरी, बत्तीसपुतलीको फोनिक्स टावर, तीनकुने चौर, सिफल चौर, चाबहिलको एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार, केएल टावर अगाडि, स्वयम्भूको धर्मचक्र पार्क, कालीमाटी, कलंकीको भाटभटेनी, नयाँ बजार, माछापोखरीलगायतका स्थान रहेका छन्।

त्यसैगरी हाँडीगाउँका विभिन्न डबली, सामाखुसीको कोइराला स्मार्ट, महाराजगन्जको सेल्सबेरी, गोंगबुको बिग मार्ट, चप्पल कारखाना, बालुवाटारको बिग मार्ट, कमलादीको आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, टेबहाल मन्दिर परिसर, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स, लगन, जैसीदेवल र भृकुटीमण्डपलाई समेत बिक्री स्थलका रूपमा तोकिएको छ।

महानगरपालिकाले तोकिएका स्थानमा नेपाली किसानले उत्पादन गरेका फूल तथा माला बिक्री–वितरण गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको छ।

यस व्यवस्थासम्बन्धी थप जानकारी तथा सहजीकरणका लागि महानगर प्रहरी बलको सम्पर्क नम्बर ०१–५९०१७६३, ०१–५९०१७६४ तथा मोबाइल नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।


 

सुझावित समाचार