तिहार विशेष रैथाने मेला

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं- मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्न सरकारले तिहार विशेष रैथाने मेला आयोजना गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत थापाथलीस्थित कम्पनीपरिसरमा तीनदिने मेला सुरु भएको हो ।

रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षणका निम्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा मेला आयोजना गरिएको बताइएको छ ।

मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी एवं स्थानीय उत्पादकका प्रदर्शनी तथा बिक्री स्टल छन् । मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषिउपजलगायत स्वदेशी तथा स्थानीय उत्पादनलाई प्राथमिकता खाद्यले जनाएको छ ।

स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणका माध्यमबाट कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको उपभोग बढाउने सरकारको लक्ष्य छ ।

साथै, आगामी दिनमा पनि साताको दुई दिन सार्वजनिक बिदाको समय उपयोग गर्दै सप्ताहान्तमा यस्ता कार्यक्रम सञ्चालन गरिने बताइएको छ । सरकारले यही अभ्यास र मोडेललाई देशका ७७ वटै जिल्लामा विस्तार गर्दै अघि बढाउने योजना बनाएको छ ।

सुझावित समाचार