खाद्यले तिहारपछि कैलालीका ६ ठाउँबाट किसानको धान खरिद गर्ने

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • कैलालीमा ३० हजार क्विन्टल धान खरिदको कोटा, मोटा धान प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँमा खरिद गर्ने

धनगढी- सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १ मंसिरबाट कैलालीमा धान खरिद सुरु गर्ने भएको छ । जिल्लाका ६ ठाउँमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरिने खाद्यको प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

खाद्यले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँमा खरिद गर्नेछ । तर, अहिले स्थानीय बजारमा धानको न्यूनतम समर्थन मूल्यभन्दा प्रतिक्विन्टल आठ सयदेखि हजार रुपैयाँसम्म कममा कारोबार भइरहेको छ । धेरैजसो किसानले व्यापारीलाई सस्तोमा धान बिक्री गरिसकेपछि सरकारी कम्पनीले खरिद सुरु गर्न लागेको हो ।

खाद्यले खरिदमा ढिलाइ गर्दा व्यापारीले तोकेको मूल्यमा किसान धान बेच्न बाध्य छन् । खाद्यले खरिद सुरु गरेपछि धानको मूल्य बढ्ने किसानको अपेक्षा छ । खाद्यले न्यूनतम समर्थन मूल्यमा खरिद सुरु गरेपछि कतिपय व्यापारीले पनि मूल्य बढाएर खरिद गर्ने गर्छन् ।

खाद्यले गत साता कैलालीमा ३० हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर प्रदेश कार्यालयलाई खरिदको परिपत्र पठाएको थियो । कोटा निर्धारणपछि बिहीबार बसेको जिल्ला खरिद समितिको बैठकले आगामी १ मंसिरबाट ६ ठाउँमा खरिद सुरु गर्ने निर्णय गरेको हो ।

टीकापुर, सत्ती, भजनी, जोशीपुर, गौरीगंगा र धनगढीको मोहनपुरमा खरिद केन्द्र सञ्चालन गर्ने निर्णय भएको खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले जानकारी दिए । ‘बिहीबार बसेको जिल्ला खरिद समितिको बैठकले खरिद केन्द्र र सुरु गर्ने मितिसम्बन्धी निर्णय गरेसँगै खरिदको तयारी अगाडि बढाएका छौँ,’ उनले भने । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने खरिद समितिमा कृषि ज्ञान केन्द्रका प्रमुख सदस्य र खाद्यको प्रादेशिक कार्यालय प्रमुख सदस्यसचिव रहने व्यवस्था छ । धान खरिदका लागि कञ्चनपुरमा खाद्यले बिहीबारबाट किसानलाई कुपन बाँड्न सुरु गरिसकेको छ । खाद्यको महेन्द्रनगरस्थित कार्यालयबाट निर्धारित आठ हजार क्विन्टल धान खरिद गरिने थापाले बताए ।

जिल्ला खरिद समितिको बैठकले कैलालीमा धान खरिदको कोटा बढाउन खाद्यको केन्द्रीय कार्यालयलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ । यहाँ उत्पादन हुने धानको तुलनामा खाद्यले न्यून मात्रामा खरिद तथा किसानले व्यापारीलाई सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेकाले कोटा बढाउन आग्रह गर्ने निर्णय गरिएको थापाले बताए ।

गत वर्ष कैलालीमा ३८ हजार नौ सय ४९ क्विन्टल मोटा धान खरिद गरेको खाद्यका खरिद केन्द्रमा धान बिक्रीका लागि किसानको ठुलो भिड लागेको थियो । निर्धारित कोटा पूरा भएको भन्दै खरिद बन्द गरिएपछि कतिपय किसानले धान बिक्री गर्न नै पाएनन् । सोही कारण खाद्यको प्रदेश कार्यालयले यस वर्ष ६० हजार क्विन्टल खरिदका लागि केन्द्रमा सिफारिस गरेको थियो ।

कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख घनश्याम चौधरीले कैलालीमा उत्पादन हुने धानको परिमाणको तुलनामा सरकारले गर्ने खरिदको मात्रा निकै न्यून रहेको बताए । चौधरीका अनुसार यहाँ वार्षिक करिब तीन लाख मेट्रिकटन धान उत्पादन हुन्छ र त्यसको आधा धान किसानले बिक्री गर्छन् । ‘बिक्री हुने मात्राको १० प्रतिशत मात्र सरकारले खरिद गरिदिए बजार मूल्यमा प्रतिस्पर्धा भएर किसानले उचित मूल्य पाउँथे,’ उनले भने, ‘सरकारले खरिद गर्ने मात्रा निकै कम भयो । यसले बजारमा हस्तक्षप गर्न सक्दैन ।’ त्यही कारण मूल्यमा व्यापारीको मनोमानी हुने गरेको उनले बताए ।

चौधरीका अनुसार धानमा मात्र किसानले सरकारबाट निर्धारित मूल्य नपाउने अवस्था छ । गहुँमा भने समर्थन मूल्यभन्दा बढीमा बजारमा कारोबार हुने गरेको छ । अधिकांश किसानले मोटा धान लगाउने भएकाले पनि उचित मूल्य नपाउने समस्या रहेको सरोकारवाला बताउँछन् । 

सुझावित समाचार