बाँके–बर्दियामा व्यावसायिक गाईपालन गर्नेहरू बढ्दै

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

बाँके- बाँके र बर्दियामा व्यावसायिक रूपमा गाईपालन गर्नेको संख्या बढ्न थालेको छ । उन्नत जातका गाई भित्र्याएर व्यावसायिक गाईपालन गर्नेको संख्या बढेको बढैयाताल गाउँपालिका– ७, मैनापोखरका किसान ज्ञानेन्द्र लम्सालले बताए । उनले गत वर्ष ४६ हजार लिटर दुध बिक्री गरेको बताए । गत वर्षभन्दा यस वर्ष दुधको परिमाण बढ्ने उनको भनाइ छ । ‘गत वर्षको तुलनामा दुहुना गाईको संख्या बढेको छ,’ उनले भने, ‘संख्या बढ्दा दुधको परिमाण पनि बढ्ने नै भयो ।’

लम्सालले ३१ वटा जर्सी गाई पालेका छन्, जसमध्ये १५ वटा दुहुना छन् । एउटा गाईले दैनिक कम्तीमा १० लिटर दुध दिने गरेको बताउँदै असोजदेखि फागुनसम्म दुध बढ्ने सिजन भएको उल्लेख गरे । ‘सिजनमा दैनिक दुई सय २० लिटर र अफसिजनमा एक सय २० लिटर दुध उत्पादन हुन्छ,’ उनले भने ।

त्यसैगरी, कोहलपुर नगरपालिका– ११, चप्परगौडीका छविलाल भट्टराईले पनि ४६ वटा गाई पालेका छन् । तीमध्ये १० वटा दुहुना छन् । उनले अहिले दैनिक करिब ७० लिटर दुध उत्पादन हुने गरेको बताए । ‘२० वटा गाई गाभिनो छन् । सिजनमा डेढ सय लिटर दुध उत्पादन हुन्छ,’ उनले भने ।

कोहलपुर नगरपालिका– ८, पिपरीका थलबहादुर खड्काको गोठमा पनि ३२ वटा गाई छन् । तीमध्ये १३ वटा दुहुना रहेको उनले बताए । अहिले उनले दैनिक सय लिटर दुध उत्पादन गर्दै आएका छन् । सिजनमा दैनिक एक सय ३० देखि एक सय ५० लिटर दुध उत्पादन हुने गरेको उनले बताए । उनी भन्छन्, ‘वर्षभर सरदर दैनिक एक सय २० लिटर दुध उत्पादन हुन्छ ।’

यता, चप्परगौडीकै शारदा शर्माले गाईपालन गर्न थालेको लामो समय भएको छ । उनले १२ वटा गाईमध्ये तीनवटा दुहुना र पाँचवटा गाभिनो भएको बताइन् । ‘कात्तिक–मंसिरमा गाभिनो गाई ब्याए भने दुधको परिमाण बढ्छ,’ उनले सुनाइन् ।

बाँसगढीका गोविन्द उपाध्यायले ४० वटा गाई पालेका छन् । यीमध्ये १२ वटा दुहुना गाई हुन् । उनका अनुसार अहिले दैनिक एक सय १५ लिटर दुध उत्पादन हुँदै आएको छ । सिजनमा भने प्रतिदिन एक सय ७० लिटरसम्म उत्पादन हुने उनको भनाइ छ । ‘११ वटा बाछी हुर्किंदै छन् । तीमध्ये ६ वटा गाभिनो छन्,’ उनले भने । असोज–कात्तिकमा ब्याएपछि दुधको परिमाण ह्वात्तै बढ्छ ।’ 

बढैयाताल गाउँपालिका मैनापोखरकी मनीषासिंह थारूले पनि व्यावसायिक रूपमा गाईपालन गरेकी छिन् । उनीसँग २० वटा गाई छन् । तीमध्ये १० वटा दुहुना र पाँचवटा गाभिनो भएको उनले बताइन् । दैनिक सय लिटर दुध उत्पादन हुने गरेको उनी बताउँछिन् । ‘अहिले अफसिजन हो । सिजनमा दैनिक डेढ सय ५० लिटर दुध उत्पादन हुन्छ,’ उनले भनिन् । 

सुझावित समाचार