ग्लोबल आइएमईको अत्याधुनिक कर्पोरेट भवन बन्दै

आइतबार, २२ कार्तिक, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ । शुक्रबार निर्माणस्थलमा आयोजित एक समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक जगको पूजा (भूमिपूजा) गरेर भवन निर्माणको औपचारिक सुरुवात गरेका हुन् ।

करिब एक लाख ४६ हजार वर्गफिटमा फैलिने यो भवन कुल १२ तलाको हुनेछ । जसमा गाडी पार्किङका लागि दुई तलाको भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि नौवटा तला रहनेछन् । वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर बैंकले यसलाई उपत्यकाकै नमुना व्यावसायिक भवनका रूपमा उभ्याउन खोजेको छ ।

भूमिपूजापछि बोल्दै बैंकका अध्यक्ष ढकालले यो भवन वाणिज्य बैंकहरूका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठुलो संरचना हुने बताए । ‘नयाँ भवन अत्याधुनिक तथा सुविधासम्पन्न हुनुका साथै काठमाडौं उपत्यकाको एउटा नमुना (आइकन) भवन बन्नेछ,’ उनले भने । उनले अत्याधुनिक भवन निर्माणसँगै सेवाग्राहीलाई बैंकको सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी हुने बताए ।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकका सेवाग्राही तथा कर्मचारीलाई ध्यानमा राखेर पार्किङदेखि भित्री संरचनासम्म आधुनिक इन्जिनियरिङलाई प्राथमिकता दिएको बताए । 

सुझावित समाचार