१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
भानु नगरपालिका– १३ स्थित टुटेपानी सामुदायिक होमस्टेका आमाहरू परम्परागत वेशभूषामा
२o८१ भदौ ९ आइतबार o९:१२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आमाहरूले धानेको होमस्टे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o९:१२:oo

भानु नगरपालिका– १३ स्थित टुटेपानी सामुदायिक होमस्टेका महिलालाई अहिले पाहुना राख्न भ्याई–नभ्याई छ । पछिल्लो समय होमस्टे ग्रामीण पर्यटनको उपयुक्त गन्तव्य बन्दै गएकाले स्थानीयले आय–आर्जन पनि गर्न थालेका छन् । त्यति मात्र नभई होमस्टे पछिल्लो समय संस्कार र संस्कृति जोगाउने माध्यम बन्न थालेको छ । विशेष गरी बिदाको दिनमा आन्तरिक पर्यटकको चाप बढी हुने गरेको टुटेपानी सामुदायिक होमस्टेकी अध्यक्ष कौशिला गुरुङले बताइन् ।

होमस्टे अहिले आन्तरिक पर्यटकको रोजाइ बनेको छ । त्यसैले आउनुभन्दा अगाडि जानकारी दिएर आउँदा राम्रो हुन्छ । कहिलेकाहीँ पाहुना धेरै भएर राख्ने ठाउँको अभाव हुने उनले बताइन् । उनले भनिन्, ‘हाम्रो होमस्टेमा ६० जना मात्रै राख्न सक्ने क्षमता छ, तर त्यो दिनमा एक सयभन्दा बढी पाहुना आउनुभयो । हामीलाई पाहुनाको व्यवस्थापन गर्नै हम्मेहम्मे भयो ।’ 

होमस्टे आएका पाहुनालाई आमाहरूले नै स्वागत गर्ने गरेको सचिव अमर गुरुङले बताए । त्यसपछि गाउँमै बनाएको अर्गानिक खाजा खुवाएर नाचगान गरिन्छ । ‘गाउँमा वृद्ध अवस्थाका महिला–पुरुष मात्र छन् । त्यसैले पाहुनालाई आमाहरूले नै नाचगान गरेर रमाइलो गराउनुहुन्छ,’ उनले भने, ‘गाउँका धेरैका छोराछोरी पढ्न बजार झरेपछि युवायुवती त भेट्नै सकिन्न ।’ त्यसैले होमस्टेमा आएका सबै पाहुनालाई परम्परागत वेशभूषामा सजिएर आमाहरूले नै स्वागत–सत्कार गर्नुहुन्छ ।’  

अहिले १६ घरका आमाहरू होमस्टे प्रवर्द्धनमा व्यस्त छन् । उनीहरूले गुरुङ जातिको पुरानो नाच नाचेर स्वागत गर्नुका साथै गुन्द्रुक, भटमास, कोदोको सेलरोटी, मकै, लोकल कुखुराका साथमा अर्गानिक खाना खुवाइन्छ । प्याकेजमा आएका पाहुनाले प्रतिव्यक्ति एक हजार रुपैयाँ तिरेर स्वागत खाजा, त्यसपछि मासु खाना र बिहान नास्ता गर्न पाइन्छ । बिहान उठ्नेबित्तिकै उदाएको सूर्य र हिमाल हेर्न पाइन्छ । त्यो नै पाहुनाका लागि रमाइलो पक्ष हो । पाहुनालाई परम्परागत वेशभूषामा सजिएर फूलमालाले स्वागत गर्ने गरेको जिल्ला समन्वय समिति तनहुँका पूर्वपवक्ता गल गुरुङले बताए । होमस्टेमा नाचगानको रमाइलो लिन पाउनुका साथै अर्गानिक खानाको स्वादले मन नै फुरुंग बनाएको पराशर कलेजका प्रमुख अमृत भण्डारीले बताए ।