१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ९ आइतबार
  • Friday, 13 September, 2024
रमेश सुवेदी काठमाडाैं
२o८१ भदौ ९ आइतबार o९:o१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

साफ यू–२० च्याम्पियनसिप : युवा टोलीलाई फाइनलमा  स्थान बनाउने सुनौलो अवसर

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ९ आइतबार o९:o१:oo

पहिलो दुई संस्करणको लगातार उपाधि उचालेको नेपालले त्यसपछिका तीन प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै सेमिफाइनलबाटै बाहिरिएको थियो, यसपटक कमजोर देखिएको भुटानलाई हराउँदै फाइनलमा पुग्ने सुनौलो अवसर

भुटानविरुद्ध मैदान उत्रँदै गर्दा नेपाललाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० च्याम्पियनसिपको फाइनल पुग्ने सुनौलो अवसर छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदै छ ।

दुईपटकको च्याम्पियन नेपाल भुटानलाई हराउँदै तेस्रोपटक फाइनल खेल्ने योजनामा छ । यसअघि सन् २०१५ र २०१७ मा नेपालले लगातार प्रतियोगिताको उपाधि जितेको थियो । तर, त्यसपछि भएको तीन प्रतियोगितामा नेपालको सहभागिता निराशाजनक छ । तीनैपटक सेमिफाइनलबाट माथि बढ्न सकेन । भारत र बंगलादेश नेपालसामु बाधक बन्दै आएका थिए । 

यसपटक तुलानात्मक रूपमा कमजोर मानिएको भुटान नेपालसामु चुनौती बन्ने पक्का छ । तर, नेपाली खेलाडीले छिटो–छरितो खेल प्रदर्शन गर्दै शारीरिक र प्राविधिक रूपमै बलियो भएको प्रमाणित गरिसकेका छन् । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ सेमिफाइनलमा भुटानसँग खेल्न टिम तयार रहेको बताउँछन् । ‘यो हाम्रा लागि सुनौलो अवसर हो । हामी यो अवसरलाई गुमाउँदैनौँ,’ श्रेष्ठले भने । उनको प्रशिक्षणमा नेपालले समूह ‘ए’को पहिलो खेलमा श्रीलंकालाई १–० तथा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशलाई २–१ ले हरायो । ‘दुवै खेलमा हाम्रो खेलाडीले राम्रो खेले । अब, भुटानविरुद्ध यही प्रदर्शनको आशा छ,’ श्रेष्ठले भने । भुटानविरुद्ध खेल्दा कप्तान कुशल देउवासँगै नीराजन धामी, अनिल बम्जन, अभिनाश स्याङ्तान, आश्विन घोरासैनी, सबिना घिरिरे, राम थापा, नीरज कार्की र गोलकिपर जियारथ सेखसँग प्रशिक्षक श्रेष्ठले ठूलो आशा गरेका छन् । 

सुधारिएको भुटान 
दक्षिण एसियाली फुटबलमा भुटानले पछिल्लो समय सुधारिएको प्रदर्शन गरेको छ । एकपछि अर्काे प्रतियोगितामा भुटानले सफलता हासिल गर्दै आएको छ । तीनपटकको च्याम्पियन भारतविरुद्ध समूह ‘बी’को खेलमा भुटान १–० ले पराजित भयो । भुटानविरुद्ध गोल गर्न भारतलाई हम्मेहम्मे परेको थियो । 

दोस्रो खेलमा माल्दिभ्सविरुद्ध १० खेलाडी हुँदा पनि २–१ को पुनरागमन जित निकाल्यो । सन् २०१९ हल्चोकमा भएको समूह चरणमा भुटानले नेपालविरुद्ध ऐतिहासिक ३–० को जित निकालेको हो । भुटानले उमेर तथा सिनियर फुटबलमा नेपाललाई हराएको यो नै पहिलोपटक हो । क्लबस्तरमा भने २९ साउनमा भएको खेलमा भुटानको पारो एफसीले नेपालको चर्च ब्वाइजविरुद्ध ऐतिहासिक जित निकाल्यो । त्यसैले पनि भुटानको टिम नेपालविरुद्ध उच्च मनोबलका साथ मैदान उत्रँदै छ । नेपाल समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’को उपविजेता हो । दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश सोमबार भिड्नेछन् ।