विवाह फरक परिवारको सदस्यसँग नजिकको नाता गाँस्ने महत्वपूर्ण सम्बन्ध हो । पूर्वीय समाजले समेत यस सम्बन्धलाई दुई परिवारबीचको ज्यादै निकट र पवित्र सम्बन्धका रूपमा व्याख्या गर्छ । हिन्दू धर्ममा अग्निकुण्डको घेरामा सात फेरा घुमेर जोडिएको सात जन्मको साथ मानिने पतिपत्नीको सम्बन्ध तथा अन्य धार्मिक सम्प्रदायका आ–आफ्नै विधिविधानमा आधारित भएर जोडिएका सम्बन्धमा आज बहुत डरलाग्दो दरार पैदा भएको छ । हिजोसम्म लोग्नेस्वास्नीको झगडा परालको आगो भनिन्थ्यो । तर, आज त्यो झगडा मुढाको आगोमा बदलिएको छ, जुन अदालत नपुगी निभ्दैन । सम्बन्ध नतोडी फिर्ता हुँदैन । दिन–प्रतिदिन बढ्दो सम्बन्धविच्छेद, महिला हिंसा र बलात्कारका घटनाले समाज असुरक्षित बन्दै गएको छ । हाम्रा अतीतदेखिका पवित्र सम्बन्धहरू किन यसरी बिग्रिए ? समाज किन यतिबिघ्न असुरक्षित बन्न पुग्यो ? यसका खास तथ्य नपहिल्याई निष्कर्षमा पुग्न सकिन्न ।
यौवनलाई अनुशासित र मर्यादित बनाई मानवजीवन व्यवस्थित गर्ने नाममा सुरु गरिएको विवाह पद्धतिले महिलालाई सामाजिक जीवनबाट अलग्याएर व्यक्तिको स्वतन्त्रतालाई समेत दोस्रो व्यक्तिको अधीनस्थ रहने निजी सम्पत्तिका रूपमा स्थापित गरायोे । महिलाको शिरको सिन्दुर, मंगलसूत्र र चुरापोते उनका सौन्दर्यका साधन भएनन् । यी त उनी कसैकी निजी सम्पत्ति हुन्, अब उनलाई अरूले हेर्न र छुन अनुमति छैन भन्ने सूचनाका बलिया प्रमाण बने । समाज वा परिवारमा महिलाको बौद्धिकस्तरको कुनै मूल्य भएन । सामाजिक कार्यमा सक्रिय महिलाको अरू व्यक्तिसँगको सहकार्यलाई शङ्काका दृष्टिले हेरियो । पतिपत्नीबीच बौद्धिकस्तरमा सहकार्य भएन । यसरी महिला समाजको साँगुरो सीमाभित्र कैद भएकाले विग्रहतिर जान बाध्य भए ।
आफ्ना स्थापित मूल्य–मान्यतालाई छाडेर पश्चिमा संस्कृतिको नक्कल गर्ने मनसायले पनि सम्बन्धविच्छेद भएको पाइन्छ । गरिबी, अशिक्षा, लागुऔषधको सेवन तथा अक्षमताले सम्बन्धविच्छेदलाई बढावा दिएको छ । घरपरिवार, समाज तथा दाम्पत्य जीवनको महत्व र यसको गहिराइ बुझ्न नसक्दा पनि सम्बन्धविच्छेद भएका छन् । जीवनको अर्थ नबुझी हतार–हतारमा विवाह बन्धनमा बाँधिनु, बाटो हिँड्दाहिँड्दै कसैसँग प्रेममा पर्नु, अन्तर्जातीय सम्बन्धलाई समाजले नस्विकार्नु, व्यक्तिको आनिबानी, चालचलन, शिक्षादीक्षा, परिवार, संस्कार र संस्कृति केही नबुझी छिनमै सारा मर्यादा तोडेर शरीर सुम्पनुले पनि सम्बन्ध टुटेका छन् । पुरुष या महिला वैदेशिक रोजगारीमा गएपछि सम्बन्ध चिसिँदै जाँदा पनि थुप्रै सम्बन्ध तोडिएका छन् । आधुनिक सूचना तथा सञ्चार प्रविधि, इन्टरनेट, फेसबुक, मोबाइल, युट्युब तथा विविध सामाजिक सञ्जालको प्रयोगले पनि कमजोर मस्तिष्क र मनोविज्ञानलाई नराम्रो प्रभाव पारेको छ ।
महिलाको शिरको सिन्दुर, मंगलसूत्र र चुरापोते उनका सौन्दर्यका साधन भएनन् । यी त उनी कसैकी निजी सम्पत्ति हुन्, अब उनलाई अरूले हेर्न र छुन अनुमति छैन भन्ने सूचनाका बलिया प्रमाण बन्दै गए, जसले सम्बन्धहरू थप भत्किन थाले ।
कानुनवेत्ताका अनुसार हाल दैनिक सम्बन्धविच्छेदका थुप्रै मुद्दा अदालतमा दर्ता हुने गरेका छन् । परिवर्तित सामाजिक सम्बन्धमा महिलाको संलग्नतासँगै प्रेमविनाका सम्झौता एवं करकापमा टिकेका कमजोर सम्बन्ध दिनानुदिन भत्किने क्रम जारी छ । पतिपत्नीबीचको प्रेम सकिएर त्यो ठाउँमा अर्को कुनै अनुरागले प्रवेश पाउनासाथ सम्बन्धविच्छेदको बाटो खुल्ने गरेको छ । सन्तानोत्पादन, संरक्षण र घरायसी कामकाजको बोझले महिला यौन, प्रेम र रोमान्सप्रति उदासीन भइरहेका हुन्छन् भने पुरुष अत्यधिक यौनकुण्ठा बोकेर विवाहेतर सम्बन्ध बनाउन लालायित भइरहेका हुन्छन् । यस्तो अवस्थाको निरन्तरता र आशंकाले पनि सम्बन्धविच्छेद बढ्दो छ ।
मुलुकी देवानी संहिताको परिच्छेद ३, दफा ९३ मा पतिपत्नीले चाहेमा जहिलेसुकै सम्बन्धविच्छेद गर्न सक्ने उल्लेख छ । तेस्रो व्यक्तिसँग यौनसम्बन्ध राखेको ठहरिएमा, अंगभंग हुने गरी कुटेमा, कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको काम वा जाल प्रपञ्च गरेमा वा पतिले समेत जबर्जस्ती करणी गरेमा सम्बन्धविच्छेदको बाटो रोज्न सकिने कानुनी सुविधा छन् । तर, कतिपयले यिनै सुविधाको दुरुपयोग गरेर पनि सम्बन्धविच्छेद गर्न चाहेका छन् । खाना पकाउनु, खुवाउनु, बच्चा जन्माउनु, श्रीमान्, सासू–ससुराले भनेअनुसार काम गर्नु नै महिलाको दैनिकी बनेपछि त्यसबाट महिला उम्किन चाहे । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि श्रीमती अर्कैसँग गई छोडपत्र गर्ने क्रम बढ्यो । श्रीमान्ले पठाएको पैसा हिनामिना गरेर उनलाई हिसाब बुझाउन नसक्दा पनि छोडपत्र हुने गरेका छन् । पुरुषको अल्लारे र उत्ताउलोपनले घरमा श्रीमती हुँदाहुँदै अर्कैसँग लागेर सम्बन्ध तहसनहस भएका घटना पनि धेरै छन् । गरिबी, शोषण, पैसाको अभाव, सामाजिक सञ्जालको विकृति तथा वैदेशिक रोजगारका कारण श्रीमान्बाट पाइने मायाको अभावले पनि छोडपत्रको दायरा बढेको देखिन्छ ।
तथ्यांकले भन्छ, सम्बन्धविच्छेद गर्न चाहनेमा पुरुषको भन्दा महिलाको संख्या अधिक छ । सासू, ससुरा तथा आफ्नै श्रीमान्बाट समेत अत्यधिक शोषण र दमन सहेर बसेका महिलाले हिम्मत गरेर स्वतन्त्र बस्न खोजेका छन् । शिक्षा, चेतना र जागरणका हिसाबमा पनि महिला हिजोभन्दा आज धेरै अगाडि छन् । पढेलेखेका र स्वरोजगार महिलाको संख्या दिनप्रतिदिन बढ्दो छ । आप्mनो खुट्टामा उभिन सक्ने आधार र बलिया कानुनी दायराले पनि महिलालाई स्वतन्त्र बस्न बल पु¥याएको छ ।
महिला र पुरुषका हकमा समान रूपमा नियम लागू नहुँदा पनि व्यक्तिगत तथा सामाजिक असन्तुलन बढेको छ । महिला, पुरुष र समाजको त्रिकोणत्मक द्वन्द्व नै सम्बन्धविच्छेदको मूल आधार बनेको छ । निजी सम्पत्तिको आडमा वर्गसमाज रहुन्जेल यो सम्बन्ध सुमधुर हुन सक्दैन । पुरुषको स्वामित्वको निजी सम्पत्तिमा अडिएको वर्गीय समाजमा महिलालाई न माइतीको न घरको हुने अवस्था बनाएको छ । महिलालाई पिता वा पतिमा आश्रित नबनाई समान हकको अधिकारी बनाउनुपर्छ । चिन्दै नचिनेको व्यक्तिसँग एकै दिन देखभेट गरेकै आधारमा छोरीले विवाहमा राजी हुनुपर्ने र विवाहलाई सम्पत्ति लेनदेनको जस्तो व्यवसाय बनाउने परिपाटी बन्द गर्नुपर्छ । समान हक, समान अधिकार, आपसी प्रेम र मानवताका आधारमा स्थापित सम्बन्धलाई मात्र स्थायी रूपमा टिकाउ बनाउन सकिन्छ । समान हक, आपसी समझदारी, सहकार्य, एकता, सामाजिक तथा नैतिक बन्धन र फराकिलो कानुनी बन्देज नै यस्ता समस्या रोक्ने दर्बिला पर्खाल हुन् ।