भृकुटीमण्डपमा स्वास्थ्यसम्बन्धी दुई प्रदर्शनी हुने भएका छन् । ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ तथा ‘नेपाल हस्पिटल, सर्जिकल तथा अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुने भएका हुन् । मिडिया स्पेस सोलुसन्स (एमएसएस), फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल)को आयोजना हुन गइरहेको प्रदर्शनी ५ देखि ७ पुससम्म चल्नेछ ।
उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी सयभन्दा बढी कम्पनीका स्टल रहनेछन् । नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसर बढाउन यी प्रदर्शनीले भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा गति लिएको र यी क्षेत्रबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुन्छ भनी बताइएको छ । साथै, स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको आयोजको भनाइ छ ।
नेपाल फर्मा र हेल्थ प्रदर्शनीले स्थानीय औषधि, चिकित्सा र स्वास्थ्य सेवा उद्योगका लागि सञ्जालको काम पनि गरी औषधोपचारको क्षेत्रमा नयाँ आविष्कारदेखि नयाँ औषधिको विकाससम्मको विश्वव्यापी नवीनता प्रविष्ट गराउने माध्यम पनि बन्नेछ । यसप्रकारका सहकार्यले नेपालमा गुणस्तरीय औषधि र स्वास्थ्य उद्योगको विकासलाई सक्षम बनाउन व्यापक स्थान प्रदान गर्ने उद्देश्यलाई सकार्दै मानिसहरूको स्वास्थ्य सेवा आवश्यकतामा प्रतिस्पर्धात्मक रूपमा योगदान पुर्याउने अपेक्षा लिइएको छ ।
यो प्रदर्शनीले विभिन्न देशका कम्पनी र ब्रान्डसहित बिजिनेस लिडर, डाक्टर, वैज्ञानिक, रोग विशेषज्ञ, अनुसन्धानकर्ता, सरकारी अधिकारी, नीति–निर्माता र उद्योग पेसेवरलाई एकसाथ समेट्नेछ । यो एक्सपोले नयाँ आविष्कार र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जाने आयोजकको विश्वास छ ।