मेलवर्नको नेपाली मन्दिरलाई सुनको जलप सहितको ५२ केजी तौल भएको बुद्धको मूर्ति हस्तान्तरण गरिएकाे छ । लुम्बिनी-कपिलवस्तु विश्व अभियानकातर्फबाट उक्त मूर्ति हस्तान्तरण गरिएको हाे । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक विशेष कार्यक्रमकाबिच मूर्ति हस्तान्तरण गरेका हुन् ।
लुम्बिनी-कपिलवस्तु विश्व अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्ष समेत रहेका स्व. धर्मबहादुर शाक्यले बुद्धको जन्मस्थलका बिषयमा सिर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने उद्देश्यले मूर्ति स्थापना गर्न चाहेका थिए । उनकै चाहना अनुसार अभियानले मूर्ति हस्तान्तरण गरेको हो ।
नेपालमा बन्ने बुद्धको मूर्ति अन्य देशमा बन्ने बुद्धको मूर्तिभन्दा फरक हुने भएकोले अभियानको उद्देश्य प्राप्तीमा सहयोग पुर्याउनु र नेपाली कलायुक्त बुद्धको मूर्ति विश्वका विभिन्न भागमा पुर्याउनु स्व. शाक्यको उद्देश्य थियो ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नु अघि पञ्चकन्या सहितको सहभागीहरुले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र बुद्धिस्ट झन्डा, बुद्ध नेपालमा जन्मिएको सन्देश सहितका प्लेकार्ड र बाजागाजा सहितको र्याली समेत गरेका थिए । सहभागीहरु नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि तीन जना लामाहरुद्वारा बौद्ध परम्परा अनुसार विधिपूर्वक पुजापाठ गरिएको थियो ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराई लगायत अन्य पदाधिकारीहरु भिम न्यौपाने, सुधिर शाक्य, अनन्त राज पौडेल, दीपक आचार्यले सहयोगको लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानलाई धन्यवाद ज्ञापन गर्दै लेखिएको सम्मानपत्र विश्व संयोजक श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।