नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरूका लागि तीनदिने चेयरपर्सन क्लब सदस्य सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। आ.व. ०८०/८१ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४९१ अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले काठमाडौंस्थित होटेल सोल्टी क्राउन प्लाजामा कार्यक्रम आयोजना गरिएको हो।
कम्पनीकी चेयरपर्सन प्रेमाराज्यलक्ष्मी सिंहले तोकिएको लक्ष्य पूरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनाेट भएका सबै अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरूमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरूलाई सम्मान गरेकी थिइन्। सो अवसरमा उनले आ.व. ०८०/८१ मा समग्र जीवन बिमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरूको अतुलनीय योगदान रहेको बताइन्।
उनले कम्पनीको वित्तीय सूचकहरू पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तीय संरचना, कम्पनीका प्रचलित बिमा योजनाहरू, बिमितहरूलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिति, व्यापक अभिकर्ता सञ्जाल आदि सबैले आउने दिनहरूमा कम्पनीले थप प्रगति गर्नेमा विश्वस्त रहेको बताइन्।
कार्यक्रममा उपस्थित अभिकर्ताहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान गरेका थिए।
समारोहमा आ.व. ०८०/८१ मा सय वा सोभन्दा बढी बिमालेख बिक्री गर्न सफल अभिकर्ताहरू, नेसनल स्टार र नेसनल सुपर स्टार घोषित अभिकर्ताहरू, विगत १० वर्षदेखि निरन्तर चेयरपर्सन क्लबमा छनाेट हुने अभिकर्ताहरू, आ.व. ०८०/८१ मा सञ्जाल व्यवसायमा नेपालभरबाट उत्कृष्ट व्यवसाय गर्ने सातजना र आफ्नो कोडबाट उत्कृट व्यवसाय गर्ने सात अभिकर्तालाई पनि विशेष सम्मान गरिएको थियो।
यसैगरी, नेपालभरबाट आफ्नो कोड र सञ्जालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वितीय र तृतीय हुने अभिकर्ताहरू र समूहगत व्यवसायबाट प्रथम हुने एकजना गरी सातजना अभिकर्तालाई विशेष सम्मानको आयोजना गरी सम्मानपत्रलगायत नगद पुरस्कारबाट सम्मानित गरिएको कम्पनीले जनाएको छ।