सन् २०२१ अगस्टयता भएको सबैभन्दा शीर्ष सत्तारूढ नेताको हत्याले तालिबानभित्र ठुलो आन्तरिक विभाजन रहेको आशंकालाई जन्माएको छ
डिसेम्बर ११ मा काबुलमा भएको बम विस्फोटमा मारिने पाँचजनामध्ये एक तालिबान सरकारका मन्त्रीसमेत थिए । मृतक शरणार्थीमन्त्री खलिल उर रहमान हक्कानी अफगानिस्तानभित्र प्रभावशाली रहेको ‘हक्कानी सञ्जाल’का शीर्ष नेता थिए । तालिबानको सबैभन्दा नजिकको सहयोगी सञ्जालले सन् २०२१ मा तालिबानलाई काबुल कब्जा गर्न सघाएको थियो । त्यसयता दुई समूह संयुक्त रूपमा सत्ता चलाइरहेका छन् ।
खलिल हक्कानीको हत्यालगत्तै त्यसको जिम्मा इस्लामिक स्टेट (आइएस)को खोरासन प्रोभिन्स शाखा (आइएसकेपी)ले लिएको थियो । खलिल तीन वर्षअघि अमेरिका समर्थिन असरफ घानीको सरकार अपदस्थ भएर तालिबान नेतृत्वको सरकार गठन भएयता मारिने सबैभन्दा ठुला सत्तारुढ नेता हुन् । यस हत्याले तालिबान र उसका सहयोगीबिचको आन्तरिक तनाव, अफगानिस्तानभित्र ‘आइएसकेपी’को प्रभाव र अझ बृहत्तर रूपमा समग्र अफगानिस्तानको सुरक्षाबारे प्रश्न उठाएको विश्लेषक बताउँछन् ।
कसले मार्यो हक्कानीलाई ?
हक्कानी सञ्जालका सबैभन्दा शीर्ष नेता सिरजुद्दिन हक्कानीका काका हुन्, खलिल उर रहमान हक्कानी । तालिबान नेतृत्वको सरकारमा दोस्रो शीर्ष मन्त्री मानिने सिरजुद्दिन हाल देशभरको सुरक्षा व्यवस्था हेर्ने गृह मन्त्रालय सम्हालिरहेका छन् । तालिबानले देशभर नियन्त्रण कायम गरेपछि खलिललाई राजधानी काबुलको सुरक्षाको जिम्मेवारी दिइएको थियो । पछि सरकार गठन हुँदा उनी शरणार्थीमन्त्री बने । विगतमा खलिलले हक्कानी सञ्जालले सञ्चालन गर्ने कारबाहीको नेतृत्व गर्ने गरेका थिए । साथमा उनलाई अलकायदाको सेनालाई सघाउने जिम्मेवारी पनि दिइएको थियो । उनी आफ्नो सञ्जालको कोष संकलन प्रयासमा महत्वपूर्ण कडीसमेत थिए ।
सन् २०११ मा अमेरिकी अर्थ मन्त्रालयले उनलाई ‘आतंकवादी’को सूचीमा राख्यो । उनलाई पक्रेर वा मारेर ल्याउन सघाउनेलाई ५० लाख डलरको पुरस्कार घोषणा गरिएको थियो । ‘उनी अत्यन्त महत्वपूर्ण थिए,’ जेनेभामा मुख्यालय रहेको सेन्टर अन आम्र्ड ग्रुप्सका सह–निर्देशक एस्ले ज्याक्सनले भनिन् । ज्याक्सनका अनुसार हक्कानी सञ्जाल निर्माणमा ठुलो भूमिका निभाएका खलिलको तालिबान सरकारभित्र बलियो प्रभाव थियो । ‘उनी आफ्ना काम गर्न स्वतन्त्र थिए, जसलाई तिनले पूर्ण उपभोग गरे । उनले आफूले चाहेजसरी काम गरे,’ ज्याक्सनले भने ।
सन् २०२१ मा मन्त्री पदमा हक्कानीको चयन हुँदा पश्चिमी अधिकारीमाझ चिन्ता छाएको ‘इन्टरनेसनल क्राइसिस ग्रुप’का वरिष्ठ सल्लाहकार ग्राएम स्मिथ बताउँछन् । ‘युद्धका दिनका कठोर कमान्डरका रूपमा मात्र पश्चिमी अधिकारीले उनलाई चिनेका थिए । शरणार्थी मन्त्रीले धेरै अवस्थामा एनजिओसँग काम गर्नुपर्ने भएकाले यस मन्त्रालयको नेतृत्व नरम व्यक्तित्व भएको मानिसले गरोस् भन्ने तिनको चाहना थियो,’ स्मिथले भने ।
तर, मन्त्रीका रूपमा हक्कानीले व्यावहारिक नेताको पहिचान बनाए । ‘पर्दापछाडि उनी युवती र महिलाहरूले माध्यमिक विद्यालय र विश्वविद्यालय पढ्न पाउनुपर्ने पक्षमा लबिङ गरिरहेका थिए,’ स्मिथले सम्झिए । तालिबानले महिला स्वतन्त्रतामा थुप्रै नियन्त्रण लागू गरेको भए पनि महिलाको उच्च शिक्षामाथि प्रतिबन्ध लगाउने विषयमा सरकारभित्र पक्ष–विपक्ष देखिएको थियो । मुख्यतः हक्कानी सञ्जालका नेताहरू महिलाको उच्च शिक्षमाथिको पूर्ण प्रतिबन्धको विरोधमा उत्रिएको विश्लेषकहरू बताउँछन् । ‘उनी हक्कानी सञ्जालभित्र एक शक्तिशाली व्यक्तित्व थिए । सञ्जालले मन्त्री पदका एक सदस्य गुमाएकाले उसको शक्ति घट्नेछ,’ ज्याक्सनले भनिन् ।
तालिबान नेतृत्वभित्रै विभाजन
खलिल हक्कानीमाथिको आक्रमणको जिम्मेवारी तत्कालै आइएसकेपीले लियो । तथापि, आक्रमणको निसानाको हैसियत र आक्रमणको प्रकृतिले हत्या कतै तालिबान सरकारभित्रको आन्तरिक तनावले निम्त्याएको त होइन भन्ने आशंका जन्मायो । तालिबान र हक्कानी सञ्जालका शीर्ष सदस्यमाथिको आक्रमणका लागि धेरै लामो योजना तथा घुसपैठको आवश्यकता पर्छ । ‘खलिल हक्कानी सजिलै मार्न सकिने व्यक्ति थिएनन् । उनी आफैँ पनि सधैँ हातहतियार लिएर हिँड्थे भने उनका वरिवरि बलियो सुरक्षा उपस्थिति रहन्थ्यो । साथै उनले कुनै अपरिचित व्यक्तिलाई आफू नजिक आउन दिने सम्भावना अत्यन्त न्यून थियो,’ ज्याक्सनले बताइन् ।
इन्टरनेसनल क्राइसिस ग्रुपका विश्लेषक इब्राहिम बहिसले आक्रमणका तालिबानभित्रको आन्तरिक द्वन्द्व हत्याको कारण हो भन्ने आशंका बढाएको मान्छन् ।हक्कानी सञ्जालका सदस्यले तालिबानका सर्वोच्च नेता हैबतुल्ला अखुन्डादाले लिएका केही निर्णप्रति खुलेर विरोध जनाएका थिए । हक्कानीहरू दक्षिणपूर्वी भेगका आफ्ना प्रभाव क्षेत्रमा बलपूर्वक लागू गरिएका केही फर्मान जारी गरिँदा पनि विरोधमा उत्रिएका थिए ।
तालिबानले भने आफूहरूबिच विवाद रहेको हल्लालाई खण्डन गरेको छ । उपप्रधानमन्त्रीसमेत रहेका अब्दुल घानी बरादरलगायत कैयाैँ शीर्ष तालिबान नेता खलिल उर रहमान हक्कानीको अन्तिम संस्कारमा सहभागी भए । बरादरले त्यहाँ आन्दोलनका नेताबिच कायम ‘प्रेम र मित्रता’को चर्चा गरे । उनले समर्थकलाई सरकारभित्र ठुलो विवाद रहेको हल्लाको पछि नलाग्न आग्रह गरेको खबर बाहिरिएको छ । केही मतभिन्नताका बाबजुद तालिबान सरकारका गुटबिचको विवाद तिनका बिच खुला द्वन्द्व निम्त्याउने स्तरको नरहेको सुरक्षा विश्लेषक बताउँछन् ।
‘कुनै पनि सरकारभित्र विवाद हुनु सामान्य हो । तालिबान नेताबिच राजनीतिक असमझदारी छ भन्ने विषय पहिलेदेखि बाहिरिइसकेकाले नयाँ होइन,’ स्मिथले भने । गत तीन वर्षको अवधिमा सत्तारुढ समूहका गुटबिच कुनै हिंसात्मक द्वन्द्व भएको छैन । यसले पनि उनीहरूबिच ठुलो विवाद रहेकोमा सेन्टर अन आम्र्ड ग्रुप्सकी सह–निर्देशक ज्याक्सन आशंका जताउँछिन् ।
आइएसकेपीको प्रभाव
यदि आइएसकेपी हक्कानीको हत्याका लागि साँच्चै जिम्मेवार भए, यसले ऊ अफगानिस्तानमा बलियो शक्ति रहेको संकेत गर्छ । तालिबानले त्यस समूहमाथि विगतमा ठुलो सैन्य अभियान चलाएको थियो । यसका बाबजुद ऊ अफगानिस्तानको मुख्य सुरक्षा चुनौती रहिरहेको देखिन्छ । ‘यो अफगानिस्तानमा लामो समयपछि भएको शीर्ष नेतृत्वको हत्या हो । यदि खलिल हक्कानीजस्ता उच्चपदस्थ नेता मारिन सक्छन् भने समग्र सुरक्षामा गम्भीर समस्या रहेछ भन्ने संकेत गर्छ,’ ज्याक्सनले भनिन् ।
गत जुलाईमा प्रकाशित संयुक्त राष्ट्रसंघीय निगरानीको एक रिपोर्टअनुसार अफगानिस्तानमा आइएसकेपीले केही नेता र भूमि गुमाएको भए पनि लडाकु भने बढाएको थियो । तिनको लडाकुको संख्या चार हजारबाट बढेर ६ हजार पुगेको रिपोर्टले उल्लेख गरेको छ । हक्कानीजस्ता शीर्ष नेताको हत्या गर्न सफल भएको मान्ने हो भने पनि समूहले गर्ने आक्रमणको संख्या भने पछिल्ला तीन वर्षमा घटिरहेको तथ्यांकले देखाउँछ ।
‘सन् २०२१ अगस्टमा सत्ता कब्जा गरेपछिका सुरुवाती महिनामा तालिबानले आइएकेपीविरुद्ध ठुलो संघर्ष गर्नुपरेको थियो । पछि तालिबानले आइएसकेपीका शीर्ष नेताकेन्द्रित हत्या अभियान चलायो । त्यसयता हिंसाको स्तर घटिरहेको छ । आइएसकेपी तालिबानको शक्तिशाली सुरक्षा संयन्त्रसँग अस्तित्वका लागि संघर्ष गरिरहेको सन्दर्भमा पछिल्लो हत्यालाई हेरिनुपर्छ,’ स्मिथले भने । विश्लेषक बहिस पनि आइएसकेपीले खुला आक्रमण गर्न नसकेपछि रणनीतिक निसानामाथि आक्रमण बढाएको स्विकार्छन् ।
‘तिनले अहिले या त दूतावास, होटेल वा पर्यटकजस्ता विदेशी चासोका केन्द्रलाई निसाना बनाइरहेका छन् या शीर्ष तालिबान नेतृत्व पछाडि गएका छन्,’ बहिसले भने । अफगानिस्तानभित्र कमजोर भएको भए पनि आइएसकेपीको अन्तर्राष्ट्रिय प्रभाव र आक्रमण क्षमता भने बढेको बहिस बताउँछन् । यो तथ्य समूहले गत जुनमा रुसभित्र आक्रमण गरेर उजागर गरिसकेको छ । जुलाईको संयुक्त राष्ट्र संघको रिपोर्टले पनि आइएसकेपीले आफ्नो ‘आर्थिक तथा सामरिक क्षमता बढाएको र भर्ती प्रयासलाई तीव्र बनाएको’ उल्लेख गरेको थियो । आइएसकेपीले तालिबान लडाकुसमेत भर्ती गरिरहेको रिपोर्ट आएका छन् । बहिस तालिबानको सुरक्षा व्यवस्थामा देखिएको चुककै कारण पछिल्लो आक्रमण सम्भव भएको मान्छन् । ‘आइएसकेपी अफगानिस्तानबाट समूल नष्ट हुनेछ भन्ने विचार असम्भव देखिन्छ । तालिबानले उनीहरूबाट लामो चुनौती सामना गर्नुपर्ने देखिन्छ,’ उनले भने ।
–अल जजिराबाट