युक्रेनको सैन्य गुप्तचर तथा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले रुसको कुर्स्क क्षेत्रमा रुसी सेनासँगसँगै लडिरहेका उत्तर कोरियाली सेना पहिलोपटक मारिएको दाबी गरेका छन् ।
युक्रेनको सैन्य गुप्तचर एजेन्सी ‘जियुआर’ले सोमबार उत्तर कोरियाली सेनाको एकाइमा क्षति पुगेको बताएको छ । प्लेखोभो, भोरोब्जा र माटिनोभ्का गाउँनजिकको कुर्स्क क्षेत्रमा तैनाथ उत्तर कोरियाली सेनामा ‘ठुलो क्षति’ पुगेको छ ।
त्यहाँ ‘कम्तीमा ३० सेना’ मारिएका या घाइते भएका छन् । ‘कुरिलोभ्का गाउँमा समेत कम्तीमा तीनजना उत्तर कोरियाली सैनिक बेपत्ता भएका छन्,’ जियुआरले सोमबार आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ ।
पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले वासिंटन डिसीमा पत्रकारसँग कुरा गर्दै युक्रेनी सेनाको दाबीमा सत्यता रहेको बताए । अमेरिकाले उत्तर कोरियाली सेना कुर्स्क क्षेत्रको लर्डामा ‘मारिएको वा घाइते भएको’ ‘संकेत’ फेला पारेको उनले बताए ।
दक्षिण कोरियाली, अमेरिकी र युक्रेनी गुप्तचरका अनुसार करिब ११ हजार उत्तर कोरियाली सैनिकलाई युक्रेन युद्धमा लड्न रुसमा पठाइएको छ । रुस पठाइएका अधिकांश उत्तर कोरियाली सेना कुर्स्क क्षेत्रमा तैनाथ छन्, जुन आंशिक रूपमा युक्रेनी नियन्त्रणमा छ ।