मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
रासस न्यूयोर्क
२o८१ पौष ४ बिहीबार १२:५१:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’

Read Time : > 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार १२:५१:oo

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबिच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताएका छन्।

विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध अन्त्य गर्ने आफ्नो सरकारको पटक–पटक प्रयास विफल भएको भन्दै युद्धविरामले गाजामा स्थायी शान्तिको वातावरण बनाउने विश्वस्त व्यक्त गरे।

‘म आशावादी छु। तपाईं पनि हुनुपर्छ,’ जनवरी २० मा कार्यकाल पूरा हुने ब्लिन्केनले भने, ‘हामीले जिम्मेवारीबाट बिदा लिनुअघि युद्धविरामका लागि प्रत्येक हप्ताको हरेक दिनको पलपल प्रयोग गर्नेछौँ।’

वैदेशिक सम्बन्ध परिषद्को बैठकमा उनले भने, ‘हामीले युद्धविरामको सम्भावना के हो भनेर अनुमान लगाउनु गलत हुनेछ।’ उनले युद्धविराम सम्झौताअन्तर्गत केही बन्धकहरूलाई मुक्त गरिएकोतर्फ संकेत गर्दै भने, ‘युद्धविराम हुनुपर्छ । यो हुन आवश्यक छ। हामीले बन्धकलाई घर फर्काउनु आवश्यक छ।’

युद्ध सुरु भएयता मध्यपूर्वको १२औँ भ्रमणका क्रममा गत हप्ता गरेको मूल्यांकन दोहोर्‍याउँदै हमासले आफ्नो संरक्षक इरानलाई भएको क्षतिका कारण थप लचकता देखाएको ब्लिन्केनले बताए।

ब्लिन्केनले गाजामा दीर्घकालीन उपस्थितिको समर्थन गर्ने इजरायली नेतृत्वको भनाइलाई अस्वीकार गर्दै युद्धको अन्त्य इजरायलको हितमा रहेको तथा युद्धपछि सम्झौता हुनु आवश्यक छ भन्ने आफ्नो अडान दोहोर्‍याए।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको अभूतपूर्व आक्रमणका कारण एक हजार २०८ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश सर्वसाधारण थिए।

हमास आक्रमणको बदलामा गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ४५ हजार ९७ जनाको मृत्यु भएको छ, जसमध्ये अधिकांश सर्वसाधारण रहेको संयुक्त राष्ट्रसंघले पुष्टि गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ।

राष्ट्रसंघको तथ्यांकअनुसार इजरायली आक्रमणबाट गाजास्थित प्यालेस्टिनी इलाकाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ, जसका कारण १९ लाखभन्दा बढी प्यालेस्टिनी विस्थापित भएका छन्। यो गाजाको कुल जनसंख्याको करिब ९० प्रतिशत हो।