भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले बुधबार सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले तीनवटै फर्म्याटमा गरी २८७ खेलमा ७६५ विकेट लिएका छन् । भारतको क्रिकेट इतिहासमा आश्विन दोस्रो धेरै विकेट लिने बलर हुन् । पूर्वकप्तान तथा स्पिनर अनिल कुम्बलेले आफ्नो करिअरमा ९५३ विकेट लिएका थिए । अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट बराबरीमा सकिएपछि आश्विनले सन्न्यास घोषणा गरेका हुन् । खेलपछि आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित शर्मासँगै ड्यासमा उपस्थित आश्विनले सन्न्यासबारे जानकारी गराएका थिए ।
‘आजको दिन मेरो भारतीय टोलीका लागि अन्तिम रह्यो, अब अन्तर्राष्ट्रिय क्रिकेट खेल्दिनँ र घरेलु क्लबमा आबद्ध हुनेछु,’ उनले भने, ‘खेल्ने धेरै चाहना थियो, तर युवालाई मौका दिन यो निर्णय लिएको हुँ ।’ सन् २०१० मा उनले श्रीलंकाविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका थिए । डेब्युपछि उनी निरन्तर रूपमा टोलीमा छन् । अनिल, युवराज सिंह र हरभजन सिंहपछि भारतीय टोलीमा आश्विनले फरक स्थान बनाए ।
उनले टेस्टमा ५३७ विकेट हात पारेका छन् । टेस्टमा उनले ३७ पटक पाँचभन्दा बढी विकेट लिएका छन् । उनले आठपटक दुवै इनिङमा गरी १० विकेटको प्रदर्शन गरेका थिए । विश्वस्तरीय बलर हुनुका साथै उनले आवश्यक परेका वेला राम्रो ब्याटिङसमेत गर्थे । उनले टेस्टमा तीन हजार ५०३ रन जोडेका छन् । यसक्रममा उनले ६ पटक शतकीय इनिङ्स खेले । आश्विनले पहिलो श्रेणीमा आठ शतक प्रहार गरेका छन् ।
धेरै पाँच विकेट लिने भारतीय बलर
आश्विन भारतको टेस्ट खेलमा धेरै पाँच विकेट लिने बलर हुन् । पूर्वकप्तान कुम्बलेले टेस्ट करिअरमा ३५ पटक पाँच विकेटको प्रदर्शन गरे । विश्व क्रिकेटमा श्रीलंकाली स्पिनर मुथैया मुरलीधरणले टेस्टमा सर्वाधिक ६७ पटक पाँच विकेटको प्रदर्शन गरेका छन् । आश्विन र अस्ट्रेलियाका सेन वार्नले समान ३७ पटक पाँच विकेटको प्रदर्शन गरेका थिए । आश्विनले सबैभन्दा बढी इंग्ल्यान्डविरुद्ध विकेट लिएका छन् ।
उनले तीनवटै फर्म्याटमा गरी १५० विकेट लिए भने अस्ट्रेलियाविरुद्ध १४६ विकेट लिए । भारतीय खेलाडीमध्ये विदेशी भूमिमा धेरै विकेट लिनेमा उनी शीर्ष स्थानमा छन् । आश्विनले अस्ट्रेलियाको भूमिमा ३८ खेलमा ७१ विकेट हात पारेका छन् । श्रीलंकामा उनले १६ खेलमा ४९ विकेट र भारतीय भूमिमा १३१ खेलमा ४७५ विकेट हात पारेका थिए । आइसिसीको टेस्ट बलिङ वरीयतामा उनी पाँचौँ स्थानमा छन् ।