मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ७ बुधबार
  • Thursday, 19 December, 2024
प्रेमप्रसाद ढकाल
२o८o चैत ७ बुधबार o७:१२:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हाम्रो राजनीतिमाथि प्रश्न

आफूले चुनेको नेतृत्व भ्रष्ट, घुसखोर तथा बिचौलियालाई जोगाएर उनीहरूकै संरक्षक बनेको दृश्य जनताले हेर्न चाहेका थिएनन्

Read Time : > 4 मिनेट
प्रेमप्रसाद ढकाल
नयाँ पत्रिका
२o८o चैत ७ बुधबार o७:१२:oo

जनताको ठूलो बलिदान र लामो संघर्षले ल्याएको परिवर्तनबाट जनताले जुझारु, शक्तिशाली र इमानदार नेतृत्व खोजेका थिए । बोलीवचनमा मात्र होइन, कर्ममा पनि नेतृत्व इमानदार बनोस् भन्ने चाहेका थिए । मुलुकको विकासका लागि शासन, सुशासन र अनुशासन जरुरी हुन्छ । भ्रष्टले हदैसम्मको सजाय पाउनुपर्छ । जनता अनुशासनमा बस्नुपर्छ । रानीतिक दल र त्यसको नेतृत्व जनताप्रति उत्तरदायी हुनुपर्छ । देशको विकास, जनताको समृद्धि र सुशासन सरकारको लक्ष्य हुनुपर्छ ।

सम्भावनाका हिसाबले हाम्रो देश बनाउनै नसकिने अवस्थामा पुगेको छैन । चुनौती छन्, समस्या पनि बग्रेल्ती होलान्, तर व्यवस्थापन गर्न नसकिने खालका छैनन् । नीति, नियम र योजना तर्जुमा गर्दा त्यसको निर्दिष्ट लक्ष्य कहाँसम्मको हो र यो कहिलेसम्म पूरा गर्न सकिन्छ र गर्नुपर्छ, सो प्रस्ट हुनुपर्छ । विकासका लागि पूर्वाधारको समय कति र उत्पादन व्यवस्थापनको समय कति हो, निश्चित गरिनुपर्छ ।

स्थानीय उत्पादनलाई सहयोग नगर्ने, स्वदेशमै रोजगारी दिन नसक्ने र कार्यान्वयन हुन गाह्रो हुने खालका योजना छन् भने तिनलाई सुरुमै हटाउनुपर्छ । योजना बनाएर मात्रै हुन्न, त्यसको फलदायी उपलब्धि आउनुपर्छ भन्नेतिर जनताको आकर्षण थियो, तर नेतृत्वको ध्यान त्यतातिर पुगेन । अझै पनि नेतृत्व अलि गम्भीर र निःस्वार्थी भयो भने परिवर्तन टाढा छैन । यो आमविश्वासको कुरा हो ।

बहुदलीय व्यवस्था र लोकतन्त्रको उपयोग गर्ने नाममा हामी जानेर वा नजानेर धेरै ठाउँमा धेरैपटक चुकिसक्यौँ । यति हुँदा पनि जनताले राजनीतिक दल र तिनका नतृत्वका गफमा विश्वास गरेर पटक–पटक साथ दिइरहे । भ्रष्टाचारलाई निर्मूल गरी स्थानीय उत्पादन बढाउने, रोजगारी दिने र महँगीविरुद्ध सडकमा आई जनतालाई साथ दिने नेतृत्व जनताले खोजेका थिए । भ्रष्टाचार गर्ने र कर नतिर्नेको कालो धनलाई प्रयोग नगर्ने नेतृत्व जनताको रोजाइमा थियो, तर त्यसो हुन सकेन ।

भाइभतिजा र आफन्तको लावालस्करभित्र हौसिएको नेतृत्व बनोस् भन्ने मत जनताको थिएन । आफूले चुनेको नेतृत्व भ्रष्ट, घुसखोर तथा बिचौलियालाई जोगाएर उनीहरूकै संरक्षक बनेको दृश्य जनताले हेर्न चाहेका थिएनन्, तर अहिले भयो त्यस्तै । नेतृत्वमा भागबन्डा गर्ने, अनियमिततामा एक हुने र नियम, कानुन र पद्धतिको उल्लंघन गर्दै सेटिङ मिलाएर बिचौलियामार्फत स्वार्थ पूरा गरी आफू चोखो देखाउने होडबाजी हाबी भयो ।

हरेक निकायका नेतृत्व तहको यो भित्री मुखौटो बिस्तारै खुल्दै गएको आभास जनतालाई भएको छ । जनताले चुनेर पठाएका नेताहरूको अहिले को–कस्ता व्यक्तिसँग उठबस छ ? उनीहरूबाट भए गरेका र गराइएका कामले समाजमा कस्तो असर पारेका छन् ? र जनताको कस्तो प्रतिक्रिया आइरहेछ ? यी सबै कुरा कसैलाई बताइरहनु जरुरी छैन । सबै सार्वजनिक नै छ । नेतृत्वमा पुगेका ठूला दल र त्यसका शीर्ष नेतृत्वको मिलिभगत निर्णयलाई नै सर्वमान्य सिद्धान्त बनाउन खोज्नु सार्वभौम जनताको अपमान हो । यसको बदला जनताले कुनै न कुनै दिन अवश्यक लिनेछन् ।

अहिलेको पुस्ताले गाउँ देखेन होला । पैदल हिँडेन होला । दुःख, अभाव के हो, बुझेन होला । त्यति धेरै संघर्ष या आन्दोलन गरेको पनि देखेको छैन होला, तर उसलाई अहिले विश्वमा कहाँ के भइरहेको छ, त्यो सबै थाहा छ । अमेरिका, बेलायत, जापान, चीनमा के–कस्ता सम्भावना थिए ? उनीहरूले समस्या र चुनौतीको सामना कसरी गरे ? र, त्यो स्तरसम्मको विकासमा पुग्न उनीहरूलाई कति समय लाग्यो ? यो सबै अहिलेको पुस्तालाई राम्रै थाहा छ । नयाँ–नयाँ प्रविधिको पर्याप्त ज्ञान छ, ऊसँग । 

मुलुक दिन–प्रतिदिन अझ अधोगतितिर गइरहेको छ । परनिर्भरता बढेको छ । रेमिट्यान्सको भरमा देश थामिएको छ । आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको अवस्था डामाडोल छ । बेरोजगारीदर भयावह छ । यस्तोमा हाम्रो राजनीतिक नेतृत्वले के हेरिरहेको छ ?
 

विकासका सम्भावना पहिल्याएर अगाडि बढ्न सक्ने प्रचुर सामाथ्र्य छ । विषयको विज्ञता पनि छ । तर, उसलाई काम गर्ने ठाउँ र अवसर भने छैन । देशभित्र जति पनि आयोग, समिति र उपसमिति बन्छन्, जति पनि देशमा राजदूतावास छन्, ती सबैमा दल र नेताको भागबन्डा छ । मन्त्रालय मन्त्रालयमा भागबन्डा छ । 

सार्वजनिक निकाय सबैतिर भागबन्डा छ । सम्बन्धित क्षेत्रको विज्ञता, कामको अनुभव, सीप, कौशल केही चाहिन्न । पार्टीको झोला बोकेको भरमा नियुक्ति पाइन्छ । स्कुल, कलेज, विश्वविद्यालय जहाँसुकै सेटिङ छ । शिक्षा क्षेत्र होस् या स्वास्थ्य, नेताको सिन्डिकेटकै दबदबा छ । यो सिन्डिकेटले विज्ञता चिन्दैन, मात्र आफ्नो हो कि होइन भनेर हेर्छ । आफूलाई हेर्छ । तर, राज्यसत्तालाई आफ्नो पार्टीको, आफ्ना मान्छेको र आफू अनुकूलको बनाएर आमजनताको भविष्यमाथि कुठाराघात गर्ने छुट कसैलाई पनि छैन । 

हामी कस्तो प्रणाली बसाउन खोज्दै छौँ ? भावी पुस्तालाई के सिकाउँदै छौँ ? सोचौँ । यस्तो प्रणालीले देश उँभो लाग्दैन । विज्ञताको कदर गर्न सिकौँ । विश्व अर्थतन्त्रको मालिक बन्न छिमेकी देश चीन त्यो प्रतिस्पर्धामा अब्बल भएर किन अगाडि बढिरहेको छ ? आफूलाई विश्व अर्थतन्त्रको मालिक ठान्ने राष्ट्रहरू किन हायलकायल भइरहेका छन् ? चीन आर्थिक रूपमा मात्रै होइन, आधुनिक प्रविधिमा पनि उदाउँदो राष्ट्र हो ।

ऊसँग अर्थतन्त्रको सबलीकरणलाई ध्यान दिने मात्रै नभई विभिन्न आधुनिक प्रविधि र प्रशासनिक निकायलाई चुस्त र दुरुस्त सञ्चालन गर्न सक्ने विषयगत विज्ञको नेतृत्व छ । चाहे पार्टीको उच्च ओहोदामा होस् वा प्रशासनिक निकायको नेतृत्वमा होस्, त्यहाँ विश्वका विभिन्न ख्यातिप्राप्त विश्वविद्यालयबाट पढेर आएका विज्ञ व्यक्तिकै नेतृत्व छ । उसको नेतृत्वमा चल्ने टिम छ । त्यो समूह निश्चित समयभित्र नतिजामुखी परिणाम ल्याउन निरन्तर क्रियाशील छ । यसरी उदाएको छ चीन । तर, हाम्रोमा सिन्डिकेटका नाममा पाखा लगाइएका र दलको झोला बोक्न नचाहेका सयौँ विषयविज्ञ बिदेसिन बाध्य छन् । राज्यको पहुँचमा पुगेकाहरूसँग आफू सुविधा लिने र नेता रिझाउनेबाहेक अको केही कामै छैन अनि कसरी हुन्छ राष्ट्रको उन्नति ?

देशको विकास र जनताको समृद्धि सजिलै प्राप्त हुने विषय होइन । यसका लागि दूरदर्शी नेतृत्वको खाँचो पर्छ । विकासका पूर्वाधार के–के हुन् ? कसरी चलाउने ? कहाँबाट सुरु गर्ने ? त्यसको प्रस्ट ज्ञान हुनुपर्छ । जनताको रोजीरोटी मुख्य कुरा हो । पहिलो ध्यान त्यहाँ जानुपर्छ । गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा तथा नागरिकको जिउधनको सुरक्षा प्राथमिकताका विषय हुन् ।

मानव संसाधनमा व्यापक लगानी गर्दै कृषिलाई इन्टरप्राइजेजका रूपमा लिएर गुणस्तरीय पूर्वाधार विकास गरी उत्पादनकेन्द्रित आयोजना निर्माणमा हामी किन धेरै पछि छौँ ? त्यहाँ गम्भीर हुनुपर्छ । हाम्रो भूगोल सुहाउँदा अग्ला–अग्ला डाँडा आफैँमा ‘भ्यू टावर’ हुन्, तर तिनै अग्ला डाँडामा भ्यू टावर बनाउने नाममा हामीले अर्बौं खन्यायौँ । बाटो लाने नाममा भइरहेका खेतीयोग्य जमिन मासेर तथा बस्ती उजाड पारियो । न त्यसले उत्पादन दियो न त रोजगारी नै । उल्टै रातारात गाउँ रित्तिँदै गए । खेतबारी बाँझा भए । सहर भरिँदै गयो । बेरोजगारको संख्या थपिँदै गयो ।

विदेश जाने युवाको लस्कर झनै बढ्यो । भ्यू टावर र बाटोले अरू के दियो ? आर्थिक निर्भरता बढाउन उत्पादन कति बढ्यो ? रोजागारी कति दियो ? ग्रामीण क्षेत्रका जनताको रोजीरोटीमा के–कति परिवर्तन आयो ? समीक्षा गरौँ । गरिबीबाट माथि उठेका विश्वका देशहरूले ग्रामीण विकासको क्षेत्रमा गरेका कामबाट सिकौँ । आन्तरिक राष्ट्रियता बलियो बनाउँदै उत्पादनमुखी रोजगारी सिर्जना गरौँ । आत्मनिर्भर बनौँ । सबै शक्ति मिलेर वैदेशिक हस्तक्षेपविरुद्ध एक भएर लडौँ । अहिले चलाइएको र चलिरहेको राजनीतिक सिन्डिकेटलाई स्वार्थकेन्द्रित चिन्तनबाट निकालेर जनताकेन्द्रित बाटोतिर मोडौँ । जनतामारा राजनीतिक सिन्डिकेट बन्द गरौँ ।

सधैँ सबैलाई समयले जिम्मेवारी दिँदैन । मानिस समयले दिएको नेतृत्वदायी जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेर महान् बन्ने हो । चीनका देङ स्याओ पिङ, मलेसियाका महाथिर मोहमद, सिंगापुरका ली क्वान यू, दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाहरू सपना बोकेर देश बनाउन अएका नेता थिए । समयले उनीहरूलाई मौका दियो । उनीहरूले निःस्वार्थ भई काम गरे र जनताको विश्वास जिते । देश बनाएरै छाडे । विश्व इतिहासमा महान् बने ।

नेताहरूले चाहेर लागिपरे भने देश बन्न समय लाग्दैन भन्ने उदाहरण दिए उनीहरूले । तर, हाम्रो भने अवस्था सधँै उही रह्यो । मुलुक दिन–प्रतिदिन अझ अधोगतितिर गइरहेको छ । परनिर्भरता बढेको छ । रेमिट्यान्सको भरमा देश थामिएको छ । आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रको अवस्था डामाडोल छ । बेरोगारीदर भयावह छ ।

युवा तथा सक्षम र योग्य जनशक्ति पलायन भइरहेको छ । नेताहरू व्यक्तिगत तथा दलगत सत्तास्वार्थमा केन्द्रीकृत छन् । राजनीति विषाक्त छ । दिशाहीन र दिग्भ्रमित बन्दै गएका नेताहरूको उत्तेजक राजनीतिक भाषणबाट जनता वाक्क भएका छन् । गोयबल्स शैली अपनाएर भए पनि नेताहरू सत्तामा टिकिरहन चाहन्छन्, तर जनताको बुझाइ र समयको बहाव नेताहरूले सोचेभन्दा फरक भइसकेको छ । सुध्रिने हो भने अब नेताहरू बदलिनुपर्छ । जनतामा भ्रम नछरी आप्mना कमजोरी सुधार्नुपर्छ । व्यवस्थाभित्रका कमजोरी हटाई सही सूचना मात्र जनतामा सम्प्रेषण गर्नुपर्छ । समय अझै छ । यदि देश र जनताप्रति समर्पित हुन चाहने हो भने पहिला आफूलाई बदल । सपना देख । 

आप्mना मान्छे बदल । मन बदल । रीत बदल । परम्परा बदल । यदि कतै पनि बदलिन सकेनौ भने समयानुसार बदलिँदै गएका जनताको आक्रोशले मान्छे मात्र होइन, व्यवस्था नै बदल्न सक्छ । त्यतिवेला तिम्रो सिन्डिकेटको सुमेरु घुम्ने ती यावत् मान्छे को कसको दैलो कुर्न कहाँ पुग्छन्, ठेगान हुँदैन ।
(ढकाल अध्यापक हुन्)