महामारीबीच अध्ययन–अध्यापनलाई भर्चुअल माध्यमबाट प्रभावकारी बनाउने प्रयास भए पनि त्यो विधि खासै प्रभावकारी देखिएन
विश्वमै आतंक मच्चाइरहेको कोभिड १९ को घाउ निको नहुँदै फेरि ओमिक्रोनको त्रासले छोप्यो । फेरि शिक्षा क्षेत्र र राष्ट्रको सुदूर भविष्यसमेत तहसनहस हुनेभयो । रोजगारी तथा राष्ट्रको आर्थिक उत्पादनमा करिब नौ प्रतिशतसम्मको योगदान दिने यो क्षेत्र बिग्रिएमा समग्र राष्ट्रको आर्थिक उन्नतिमै असर पुग्छ । राष्ट्रको विकास, समृद्धि, चेतना, संस्कार र सभ्यताको विकास तथा त्यसको गति त्यो देशको शैक्षिक वातावरणमा भर पर्छ । तर, वार्षिक बजेटको ठूलो हिस्सा ओगटेको हाम्रो देशको शिक्षा क्षेत्रको दुर्दशा बुभ्mन हाम्रा कलेज, विद्यालय र विश्वविद्यालयको नतिजा र त्यहाँभित्र भइरहेको अनियमितता, भ्रष्टाचार र राजनीतिकरणलाई हेरे पुग्छ ।
राजनीति, भ्रष्टाचार र बेथितिका धमिला छिटाले शैक्षिक वातावरण धमिल्याएपछि त्यो देशको उन्नति कसरी हुन्छ ? संस्कार, सभ्यता र चेतनाको विकास कसरी हुन्छ ?
शिक्षकसहित सबैभन्दा धेरै कर्मचारी भएको क्षेत्र र कोरोना भाइरसले किनारामा धकेलेको क्षेत्र पनि विद्यालय नै हो । कोरोना महामारीबीच अध्ययन–अध्यापनलाई नयाँ विधिसँगै भर्चुअल माध्यमबाट सिकाइ प्रभावकारी बनाउने प्रयास विद्यार्थी, शिक्षक र अभिभावक सबैबाट निरन्तर जारी छ । सामान्य मार्गनिर्देशनमा प्रभावकारी शिक्षा दिन सकिने यो प्रविधि भौगोलिक विकटता, गरिबी, अज्ञानता, अशिक्षा र पछौटेपनका कारण हामीकहाँ खासै प्रभावकारी हुन सकेन ।
हजारौँ बालबालिका यसको पहुँचबाट टाढै रहे । शिक्षा क्षेत्रसँग देशको भविष्य गाँसिएको छ भन्ने सोच कसैमा पलाएन । आवश्यकताअनुसार सीप र कौशल विकास गर्न नसक्ने शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्दैन । हाम्रो शिक्षा प्रणाली पाठ्यपुस्तक, तथा परीक्षाकेन्द्रित मात्र छ । आज कक्षामा सिकाइएकोे कुराले भोलि देशको अवस्थालाई कता लान सकिन्छ भन्न्ने अनुमानसम्म गरिएको छैन ।
समाज तथा राष्ट्रले खोजेको जनशक्ति उत्पादन गर्न आधारभूत सीप विकासतर्फ राष्ट्रले ध्यान दिनुपर्छ । योग्य नागरिक बन्न कुनै एउटा विषयको शैक्षिक ज्ञान मात्र पर्याप्त हँुदैन । सामाजिक, धार्मिक, नैतिक, सांस्कृतिक आदि पक्षका साथै समाजको चालचलन, रीतिथिति, परम्परा, वेशभूषा, भाषा आदि उसले सिक्ने अनिवार्य विषय बन्नुपर्छ । हामी विविधतायुक्त समाजमा बाँचेका छौँ । हाम्रो शिक्षाले हाम्रो विविधतालाई समेट्नुपर्छ । हाम्रो सभ्यता र सामाजिक संस्कारलाई जोड्नुपर्छ । हाम्रो शिक्षा प्रणालीले भाषाको महत्व र यसको प्रयोगलाई कहिल्यै प्राथमिकतामा राखेन ।
भाषा जीवन कौशलको महत्वपूर्ण पक्ष हो, तर यसलाई परीक्षा उत्तीर्ण गर्ने अतिरिक्त विषय मात्र बनाइयो । संयुक्त राष्ट्र संघजस्ता विश्वका सबै राष्ट्रका नागरिकले काम गर्ने ठाउँमा भाषा तथा सञ्चार कौशलले ठूलो भूमिका राख्छ, तर हामी भाषागत कौशल र सञ्चार क्षमतामा दक्षिण एसियाली मुलुकको दाँजोमा धेरै पछाडि छौँ । भारत, पाकिस्तान, बंगलादेश तथा श्रीलंकाका नागरिकको भाषिक कौशल तथा सञ्चार क्षमता हाम्रोभन्दा निकै उच्च छ । तर, हामी आप्mनै नेपाली भाषामा समेत प्रस्ट सञ्चार कौशल देखाउन सकिरहेका छैनौँ ।
अहिलेको नयाँ पुस्तामा भाषा, संस्कृति तथा सामाजिक आचारण डरलाग्दो किसिमले खस्किँदै गएको छ । आदर, सत्कार, मानसम्मान, ढोगभेट हराए । दया, माया, करुणा र सेवाभाव देखावटी र बनावटी बन्न पुगे । कर्तव्य के हो ? जिम्मेवारी के हो ? दायित्व कति हो ? न हाम्रो शिक्षाले यसलाई अनिवार्य बनायो न सामाजिक व्यवहारले नै यसलाई पहिलो प्राथमिकतामा राख्यो । व्यक्तिले कति उमेरसम्ममा सामाजिक आचारणका कति कुरा अनिवार्य जान्नैपर्ने कुनै सीमा राखिएन । नजान्दा के हुने दण्ड तोकिएन । कतैबाट मूल्यांकन नगरिने भएपछि व्यक्तित्व निर्माणका यी आवश्यकीय कुरा व्यक्तिमा आएनन् । भएका केही नैसर्गिक गुण पनि हराए । अराजक र घमन्डी स्वभाव व्यक्तिमा हुर्किंदै गयो । हाम्रो शिक्षा, शिक्षा नीति, हाम्रा अव्यावहारिक सिकाइ, शून्य अनुगमन र मूल्यांकन यसका कारण हुन् ।