करिब एक करोड ७९ लाख मतदाताले ७५३ स्थानीय सरकारका लागि ३५ हजार २२१ प्रतिनिधि चुन्ने २०७९ वैशाख ३० को स्थानीय निर्वाचन नजिकिँदै गर्दा यसको चर्चा–परिचर्चा र बहसले आममानिसलाई आकर्षित गर्न थालेको छ । जनताका लागि यो कसैको उक्साहटमा लागेर बहकिने नभई संयम र विवेक प्रयोग गरी उचित निर्णय लिने समय हो । बोलीमा प्रस्टता, व्यवहारमा परिपक्वता, विचारमा अडिग, दूरदर्शी चिन्तन र सन्तुलित विकासका बाटाहरू पहिल्याएर समाज परिवर्तन गर्न सक्ने क्षमता भएको समाजसेवी नेताको छनोट गर्ने निर्वाचन हो यो स्थानीय निर्वाचन । समाज परिवर्तन रातारात हुँदैन, तर क्रमशः चालिने स–साना कदमले पनि दिगो खालको अभियान विकास गर्छ । यसका लागि प्रस्ट भिजन, मिसन, कार्यक्रम र दह्रो आत्मविश्वाससाथ बलियो आधार चाहिन्छ । आधार बलियो हुन जनविश्वास र भरोसा बलियो हुनुपर्छ । स्थानीय नेताका योजना र कार्यक्रम समाजसेवी भावनाले पे्ररित भई भुइँ सतहका समस्यामा केन्द्रित हुनुपर्छ ।
ग्रामीण समाजका डोको र नाम्लो श्रम, सिर्जना, सजीव जीवन तथा गरिबीका प्रतीक हुन् । यिनको विकल्प नदिई गरिबी घट्दैन । गरिबी नघटुन्जेल मानिस भोको नै रहन्छ । भोको मानिसले आत्मविश्वाससाथ आफ्नो अधिकार प्रयोग गर्न सक्दैन । जनताकै पसिनाबाट उमारेको अन्न र जनताकै हातबाट पकाएको रोटी जबसम्म मेरो थालीमा आउँदैन, तबसम्म ‘म मेरो गाउँ, मेरो क्षेत्र र मेरा जनताका लागि निरन्तर लडिरहन्छु’ भन्ने र त्यसैअनुसार व्यवहार गर्ने नेता चाहिन्छ । श्रम नगरी राष्ट्रवादको नाराले मात्र अन्न उमार्दैन भन्ने उद्घोष गर्दै जनतालाई श्रममा आबद्ध गर्ने कार्यक्रमसहित जनतासँग भोट माग्न जानुपर्छ । स्थानीय नेता कुुनै गुट, समूह, गठबन्धनभन्दा पनि जनस्तरमा भिजेको र गाउँको फराकिलो सामाजिक धरातलले गरिरहेको चिन्ता र चाहिरहेको आकांक्षालाई सम्बोधन गरी विश्वासमा लिन सक्ने हुनुपर्छ । खेर फालिएका जमिन बाँझै रहेका खेतबारी र रित्तै भएका घर र गोठलाई हराभरा र भरिभराउ बनाउन सक्ने खुबी भएको नेता र जनतामा आशा उमार्न सक्ने कार्यक्रम भएन भने जनताले दिएको भोटको तात्विक अर्थ रहँदैन । यसमा जनताको खबरदारी सुरुदेखि नै आवश्यक हुन्छ ।
जुनसुकै पार्टीको होस्, गाउँमा भोट माग्न आउने नेतालाई अब जनताले भन्नुपर्छ, तपाईं समाजवाद, साम्यवाद वा अन्य कुनै वादका खोक्रा नाराका आशा र अश्वासन मात्र दिने र भ्रम छर्ने घोषणापत्र बोकेर भोट माग्न नआउनुहोस् । कुटो, कोदालो र भोकसँग जोडिएको कार्यक्रम लिएर आउनुहोस् । चुनाव जितेको एक वर्षभित्र जनताको जीवनसँग जोडिएका समस्या पूरा गर्न सक्ने कार्यक्रम बनाउनुहोस् । निर्वाचित हुनेका सन्तान र निर्वाचित गराउनेका सन्तानले एउटै स्कुलमा पढ्न पाउने र बिरामी पर्दा एउटै अस्पतालको बेडमा उपचार गर्न पाउने व्यवस्थाको ग्यारेन्टी गराउनुहोस् । यी कुरामा विश्वास नजगाउने भए जनताले तिनलाई किन भोट दिने ? शिक्षा र स्वास्थ्यलाई निःशुल्क नबनाई व्यापार बनाएर जनताको ढाड सेक्ने परिपाटी हटाइँदैन भने जनताको भोटको के अर्थ ? आपत्कालीन चुनौतीलाई चिर्न नेताले आप्mनो क्षेत्रका हरेक वडामा एउटा स्वास्थ्य केन्द्र र हरेक गाविसमा एउटा सुविधासम्पन्न अस्पताल र सहरी इलाकामा अस्पतालसहित एउटा अक्सिजन प्लान्टको व्यवस्था गर्न सक्नुपर्छ । पानी, बिजुली, बाटो, शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज वातावरणको योजना बनाई जनताका अगाडि प्रस्तुत गर्नुपर्छ । यी सबै सवालको चित्तबुभ्mदो जवाफ पहिला खोजौँ अनि मात्र भोट हालौँ ।
निर्वाचित हुनेका सन्तान र निर्वाचित गराउनेका सन्तानले एउटै स्कुलमा पढ्न पाउने र बिरामी पर्दा एउटै अस्पतालको बेडमा उपचार गर्न पाउने व्यवस्थाको ग्यारेन्टी गर्ने नेतृत्वलाई अबको निर्वाचनमा जिताउनुपर्छ
आधारभूत आवश्यकता पूरा गर्न मानिसले पानी र जंगलको सामीप्य खोजेको हुन्छ । जंगल अक्सिजनको भण्डार मात्र होइन, खाद्यान्न प्राप्त गर्ने आधार पनि हो । समुद्र नजिक भएका मुुलुक समुद्रलाई खाद्यान्नको मूल स्रोत बनाएर धनी भए । सिंगापुर चाँडै धनी हुनुमा समुद्रमा प्रयोग भएका बन्दरगाह र यसबाट प्राप्त हुने राजस्व मूल कारण हो । ७० वर्षअघि भोकमरी लाग्दा खाद्यान्न पठाएर सहयोग गरेको नेपालले अहिले वार्षिक तीन खर्बबराबरको खाद्यान्न आयात गर्छ । दीर्घकालीन सोच तथा स्रोतको सदुपयोग नहुँदाको परिणति हो यो । यसका लागि दिगो कृषि उत्पादनको नीति तथा कार्यक्रम बनाएर लागू गर्नुपर्छ । आप्mनो भूगोलभित्र पाइने जडीबुटी, फलपूmल र खाद्यान्न उपभोग गर्न जनतालाई अपिल गर्नुपर्छ । भूगोलभित्रका स्रोतको पहिचान, संरक्षण र सदुपयोग गर्नुपर्छ । नेपाल विज्ञान प्रतिष्ठानका वैज्ञानिकहरूको निष्कर्ष छ, नेपालको वनजंगलमा पाइने फलमध्ये २५६ प्रकारका फल खानयोग्य छन् । कुल ४४.७४ प्रतिशत जंगलले ढाकेको नेपालको भूबनोटमा अधिकांश जंगलले ग्रामीण क्षेत्रको विकासमा मद्दत गर्छ । यी सबै सम्भावनाको जोहो गरी गाउँको विकासमा रणनीतिक उद्देश्यले समाजसेवी भएर जनतालाई आत्मनिर्भर बनाउन ध्यान दिने नेतृत्वको छनोट यो निर्वाचनको आवश्यकता हो ।
स्थानीय तहमा भएका साधन र स्रोतहरूको सही सदुपयोग गर्ने नीति, कार्यक्रम र सक्षम नेतृत्व भएमा गाउँको विकास तथा समृद्ध नेपाल र सुखी नेपाली टाढाको विषय होइन । यो निर्वाचनमा समाज बिगार्ने हिजोका भ्रष्ट र गलत नेतालाई शिक्षा दिने अवसरका रूपमा आप्mनो अमूल्य मतको सदुपयोग गरौँ । मान्छे चिनेर भोट हालौँ, पार्टी वा दलको नेताभन्दा पनि असल र कर्मशील समाजसेवी मान्छे छानौँ । आप्mनै मत भोलि आफैँलाई भारी नबनोस् ।