मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ चैत १३ आइतबार
  • Tuesday, 17 December, 2024
सुदर्शन पौडेल
२o७८ चैत १३ आइतबार o९:२३:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बायोलोजिकल डेस्टिनी र पुरुष स्वास्थ्य 

अग्रलेख

Read Time : > 4 मिनेट
सुदर्शन पौडेल
नयाँ पत्रिका
२o७८ चैत १३ आइतबार o९:२३:oo

पुरुषलाई समाजले सिकाएको खतराको खेलाडी भन्ने अवधारणा रोक्न र जोखिमपूर्ण गतिविधिमा सचेत गराउन पुरुष स्वास्थ्य समूह प्रभावकारी हुन सक्छ 

स्वास्थ्य सेवा उपयोगका आँकडामा महिलाको तुलनामा पुरुष सेवाग्राहीको संख्या कम पाइन्छ । यस्तो अवस्था नेपालको मात्र होइन, संसारका प्रायः सबै स्थानमा देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत वर्षको एकीकृत स्वास्थ्य सूचना प्रणालीको आँकडा हेर्दा पनि स्वास्थ्य सेवाको उपयोग गर्ने नागरिकको संख्यामा पुरुष (करिब एक करोड ५१ लाख पटक)को तुलनामा महिलाको संख्या करिब ६० लाखपटकले बढिरहेको देखिन्छ । हालै प्रकाशित जनसंख्या वितरणमा पनि महिलाको संख्या करिब ६ लाखभन्दा बढी देखिन्छ । तर, यही झिनो अन्तरलाई मात्र स्वास्थ सेवा उपयोगमा महिला र पुरुषबीचको फरकलाई कारण मान्ने पर्याप्त आधार हुँदैन । 

हामी सबैले महसुस गरेकै हौ, बच्चाहरूको खेलमा पनि प्रायः बालकले बन्दुक, गाडी, लडाइँदेखि भारी कामको जिम्मा लिन्छ । कुनै अपरिचित वा सम्भावित सुरक्षा खतरा भएको स्थानमा पनि पुरुष अहंले त्यहाँ महिलाको सुरक्षाको जिम्मेवारी मैले लिनुपर्छ भन्छ । यात्रा गर्दासमेत सवारीसाधनमा सकभर महिला, वृद्ध, बिरामीलाई सुरक्षित बन्दोबस्त मिलाउन पुरुष तम्सिन्छ । अरूलाई सुरक्षा दिने मनसायले होला, सायद ढोका वा निकासतर्फको स्थानमा पहरा दिन्छ पुरुष । यसपछाडि केही जैविक एवं सामाजिक कारण भएको विभिन्न अनुसन्धानले प्रस्ट्याएका छन् । अमेरिकाको हार्बर्ड विश्वविद्यालयका प्राध्यापक रोबर्ट एच. स्मर्लिङले पुरुषहरू किन छिटो मर्छन् भन्ने अनुसन्धानमूलक लेखमा पुरुषको जैविक नियति (बायोलोजिकल डेस्टिनी)का कारण ऊ खतरापूर्ण गतिविधि (जस्तै कठिन सामाजिक जिम्मेवारीदेखि हानिकारक व्यवहारसम्म)मा बढी सरिक हुनुलाई उल्लेख गरेका छन् । हार्बर्ड हेल्थ जर्नलमा सन् २०२० जुनमा प्रकाशित सो लेखले स्वास्थ्य सेवा वा उपचारमा समेत पुरुषहरू हत्तपत्त तत्पर नहुने तथ्य उजागर गरेको छ । 

महिलाहरू प्रजननसँग सम्बन्धित अवस्थाका कारण (कुनै शारीरिक वा जैविक अवस्थामा खास खराबी नहुँदानहुँदै पनि) स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने, स्वास्थ्य सेवाको उपयोेग गर्नुपर्ने अवस्था आउँछ भन्ने गरिन्छ । यो तर्क आंशिक रूपले स्वीकार्य छ । यसैले राज्यका नीति तथा कार्यक्रममा पनि प्रजननसँग सम्बन्धित अवस्थाका महिला सबैलाई स्वास्थ्य सेवाको दायरामा ल्याउने प्रयास हुँदै आएको छ । प्राथमिक तथा उपचारात्मक सेवा विस्तार गर्दा पनि यसै उद्देश्यबाट निर्देशित भएको पाइन्छ । फलस्वरूप आमा सुरक्षा कार्यक्रम, गर्भवती र सुत्केरी सेवा तथा भत्ताजस्ता प्राथमिकता प्राप्त कार्यक्रम सञ्चालनमा छन् जब कि राज्यबाट पुरुषहरूको स्वास्थ्यलाई ध्यानमा राखेर कार्यक्रम ल्याएको पाइँदैन । मैले विभिन्न स्रोतको अध्ययन तथा भेटघाटका क्रममा यस जिज्ञासाको उत्तर खोज्ने चेष्टा गरेँ र त्यसबाट मैले सिकेका र अनुभव गरेका तथ्यलाई यहाँ प्रस्तुत गर्दै छु ।

राष्ट्रिय स्वास्थ्य प्रणालीमा पुरुषलक्षित स्वास्थ्य कार्यक्रमको अभाव भएकाले अबका दिनमा नेपालले राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रममार्फत पुरुषलाई पनि सेवाको दायरामा ल्याउनुपर्छ 
 

साहसी र बलियो हुनुपर्ने सामाजिक बोझ : एउटा तर्क, सामाजिक तथा लैंगिक रूपमा कार्य विभाजन गर्ने क्रममा पुरुषलाई घरबाहिरका आर्थिक, सामाजिक आदि जिम्मेवारी तोकिएको हुन्छ । यस दौरानमा कतिपय अवस्थामा निकै कठोर र साहसी जिम्मेवारीसमेत सम्हाल्ने भएको हुँदा पुरुषमा शारीरिक तथा मानसिक तन्दुरुस्ती हुने, रोगव्याधि नलाग्ने हुन्छ । अर्कातर्क, सानै उमेरदेखि पुरुषलाई बलियो र साहसी हुनुपर्छ, कठिन वा अप्ठ्यारो कामको जिम्मा लिनुपर्छ भन्ने मनोवैज्ञानिक दबाब सिर्जना गरिन्छ । त्यसैले पुरुषहरूमा आफ्ना सानातिना स्वास्थ्य समस्यालाई समस्याका रूपमा नहेर्ने प्रवृत्तिसमेत पाइन्छ । 

केही पुरुष स्वास्थ्य सेवाको आवश्यकता परेमा पनि अस्पताल वा स्वास्थ्य संस्थामा जान धक मान्छन् । त्यहाँ जाँदा समुदाय, साथीभाइदेखि आफ्नै जहान परिवारले समेत हेप्न सक्ने डर मान्दा रहेछन् । केही पुरुष आफ्ना सानातिना समस्या अरूलाई सुनाएर बेफ्वाँकमा तनावमा पार्न चाहँदैनन् । प्राकृतिक छनोटका क्रममा पुरुष भ्रूण केही थप शक्तिसाथ उत्पत्ति र विकसित हुन्छ जसका कारण पुरुषहरू बढी स्वस्थ र साहसी हुन्छन् भन्ने दाबी गरिन्छ । यसो हुनुमा पुरुषहरूको जैविक नियति (बायोलोजिकल डेस्टिनी)लाई जिम्मेवार मानिन्छ । 

अझै पनि केही जाति वा सम्प्रदायमा पुरुषहरू आफ्ना समस्या महिलालाई सुनाउन चाहँदैनन् । पछिल्लो समयमा स्वास्थ्य तथा चिकित्सा सेवामा महिलाको उपस्थिति निकै बाक्लो भएको अवस्थामा पुरुषले आवश्यक उपचारात्मक वा स्वास्थ परामर्श सेवा लिन हच्किएको पनि हुन सक्छ ।

आश्रितको सुखप्रति बढी सरोकार : अधिकांश पुरुषले आफ्नो स्वास्थ्य समस्याभन्दा आफ्ना बच्चा, बाआमा, जहान परिवारको स्वास्थ्यलाई उच्च महत्व दिन्छन् । यस्तो अवस्थामा आर्थिक तथा अन्य स्रोतसाधनको सीमितता वा व्यस्तताका कारण आफ्ना (सानातिना) आवश्यकता वा समस्यालाई लुकाउँछन् । अर्कातर्फ, अस्पताल वा स्वास्थ्य संस्थामा जाँदा त्यहाँ स्वास्थ्य परीक्षणका क्रममा नयाँ र असाध्य रोग पहिचान भयो भने त्यसका कारण बाँकी जीवन नर्कसमान हुने, फलस्वरूप नियमित जिम्मेवारी निर्वाह गर्न असमर्थ हुने डरले उपचार र परामर्श सेवा लिन त्यति उत्सुक हुने गरेको देखिन्नन् । पुरुषहरू गम्भीर स्वास्थ्य समस्याको पहिचान भएको वा त्यस्तो उपचारका क्रममा परिवार वा अन्य व्यक्तिमाथि पूर्ण रूपमा निर्भर हुनुपर्ने अवस्थाको कल्पना गर्दा पनि डराउँदा रहेछन् । 

आर्थिक तथा समय व्यवस्थापन गर्न नसक्नु : अधिकांश मध्यम तथा निम्न मध्यम वर्गीय परिवारका पुरुषले संघर्ष गरी आर्जन गरेको सम्पत्तिले परिवारका आवश्यता र रहर पूरा गर्नुलाई बढी महत्व दिने भएको हुँदा आफ्नो स्वास्थ्य समस्यासम्बन्धी प्रारम्भिक लक्ष्यणप्रति हेलचेत्र्mयाइँ गर्छन् । जब समस्या निकै गम्भीर हुन्छ, तब उपचारको खर्च पनि बढी हुने र परिवार वा आफन्तलाई पर्न सक्ने बोझका कारण पुरुषहरू आफ्नो उपचारबाट उम्किन खोज्ने प्रवृत्ति पनि यदाकदा देखिन्छ । त्यसको परिणाम जीवनयापनसँग सम्बन्धित रोग वा स्वास्थ्य समस्यालाई प्रारम्भिक अवस्थामा पहिचान हुन नसक्दा त्यसबाट घातक परिणाम देखा पर्छ । 

नेपालको एकीकृत स्वास्थ्य सूचना प्रणालीलाई सूक्ष्म विश्लेषण गर्ने हो भने त्यहाँ सेवा उपयोग गर्नेमा कम तर गम्भीर प्रकृतिका रोगको संक्रमण हुनेदेखि मृत्यु हुनेको संख्यामा पुरुषको संख्या उल्लेख्य पाइन्छ । देशको सरदर आयु हेर्दा पनि (महिलाको तुलनामा) पुरुषहरू करिब दुई वर्ष कम बाँचेको आँकडा देखिन्छ । यस तथ्यले पुरुषलाई सेवाको दायरामा ल्याउन राज्य तथा समुदायस्तरबाट जनस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न टड्कारो आवश्यकता रहेको देखिन्छ । 

पुरुष स्वास्थ्य समूहको अपरिहार्यता : राष्ट्रिय स्वास्थ्य प्रणालीमा पुरुषलक्षित स्वास्थ्य कार्यक्रमको अभाव छ । नेपालले राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रममार्फत पुरुषलाई पनि सेवाको दायरामा ल्याउनुपर्छ । देशमा महिला, बालबालिका र वृद्धवृद्धालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिएको छ र त्यसले सकारात्मक नतिजासमेत दिएको छ । अबका दिनमा पुरुषमा विकसित हुने स्वास्थ्य समस्या पहिचान र त्यसको निदानका सम्बन्धमा समुदाय, संस्थादेखि हरेक पेसाकर्मीले आफ्नातर्फबाट भूमिका निर्वाह गर्नुपर्छ । 

पुरुष स्वास्थ्य समूह नेपालको सन्दर्भमा नवीनतम् प्रयोग हुन सक्छ । यद्यपि, विभिन्न स्थानमा विभिन्न प्रयोजनका लागि यस्ता समूह सञ्चालनमा रहेका छन् । हरेक पालिकाले वडा तहमा त्यहाँका पुरुष जनसंख्याको अनुपातमा समूहहरू गठन गरी, त्यसले सम्पादन गर्ने कार्यक्रम निर्देशिकाको खाका तयार पारी कार्यान्वयनको व्यवस्था गर्नुपर्छ । यस्तो समूह बनाउँदा पुरुष स्वास्थ्यबारे व्याप्त गलत धारणा हटाउन जनचेतना अभिवृद्धि गर्न मद्दत पुग्नेछ । त्यसका साथै हानिकारक रक्सी, चुरोट सेवनदेखि लागू पदार्थसम्मको सेवनका सम्बन्धमा पनि छलफल र त्यसबाट छुट्कारा पाउन गर्न सकिने उपायको खोजीमा पुरुषलाई सघाउन सकिन्छ । गाउँघरमा बरालिने, अनावश्यक खर्च गर्नेजस्ता कामबाट सकारात्मक काममा लाग्न प्रेरित गर्न पनि समूहको सान्दर्भिकता हुन सक्छ । 

पुरुषलाई समाजले सिकाएको खतराको खेलाडी भन्ने अवधारणालाई रोक्न र अति जोखिमपूर्ण गतिविधिमा सचेत गराउन पुरुष स्वास्थ्य समूह प्रभावकारी हुन सक्छ । शरीरले नियन्त्रण गर्न नसक्ने भार बहनका काम, सवारीसाधन एवं अन्य मेसिनको अनियन्त्रित प्रयोगबाट हुने दुर्घटनादेखि आपसी झैँझगडालगायत सामाजिक वा मानवीय हिंसाका गतिविधिबाट हुन सक्ने हानिबाट जोगिन प्रेरणा दिनदेखि निगरानीसमेत गराउन सकिन्छ । यसका लागि दक्ष जनशक्ति परिचालन गरेर त्यस्ता समूहलाई सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । उक्त समूहलाई स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवालगायत सामाजिक विकासलक्षित गतिविधि सञ्चालनमा उपयोग गर्न सकिन्छ । 

प्रजनन स्वास्थ्यका दृष्टिले महिलाको तुलनामा पुरुषहरू कम जोखिममा रहने सम्भावना भए पनि पुरुषहरू कम बिरामी पर्ने कुराका पछाडि प्रमाणित वैज्ञानिक तथ्य छैनन् । पछिल्लो पुस्ताका पुरुषहरूमा स्वास्थ्य सेवाको उपयोग गर्ने तत्परता केही बढेको भन्ने अनुसन्धानले देखाएको छ । यद्यपि, यो क्रम (महिलाको तुलनामा) निकै कमजोर छ । यसका सम्बन्धमा राज्यका निकाय समयमै सचेत भई प्रभावकारी नीतिगत तथा कार्यगत तयारीमा जुट्नु उचित हुनेछ ।

(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य संकायका सहप्राध्यापक हुन्)