मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सुदर्शन पौडेल
२०७८ फाल्गुण १ आइतबार ०७:२८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मदिराको ‘ब्रान्डिङ’ र समृद्धिको सपना

Read Time : > 2 मिनेट
सुदर्शन पौडेल
२०७८ फाल्गुण १ आइतबार ०७:२८:००

रक्सी बेचेर धन कमाउने र प्रदेशलाई समृद्ध पार्ने सपना कसैले देखेको छ भने त्यो बहुलट्ठीपनसिवाय केही हुनेछैन


गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने समाचार चर्चामा छ । प्रदेशका विभिन्न जातजाति र समुदायमा परापूर्वदेखि उत्पादन, उपभोग र व्यापार हुँदै आएको रक्सीबारे अध्ययन, अनुसन्धान गरी गुणस्तर कायम गर्नुलाई राम्रै मान्न सकिएला, तर उत्पादन हुने वस्तुको गुणबारे सोच्ने हो भने योभन्दा भद्दा प्राज्ञिक मजाक अरू हुन सक्दैन । 

रक्सीको व्यावसायिक उत्पादनबाट (क्षणिक) लाभ लिएका कतिपय देशको हालको अवस्था डरलाग्दो देखिन्छ । स्कटल्यान्ड, इटलीलगायत कतिपय देशका रक्सी उत्पादनमा निर्भर सहरका मानिसमा कलेजो बिग्रने (लिभर सिरोसिस)को समस्या देखापरेको छ । रक्सी सेवन नगरी एकपल बस्न नसक्ने अवस्था त्यहाँ छ । गर्भवती आमाहरूले सेवन गरेको रक्सीका कारण शिशुहरू रोगी वा विकलांग जन्मँदै छन् । ती सहर पछिल्लो समयमा सिटी अफ सिरोसिसका नामले बदनाम हुँदै छन् । 

देशको प्रमुख पर्यटकीय गन्तव्य, गण्डकी प्रदेशको मुकाम पोखरामा हरेक वर्ष लाखौँ बाह्य तथा आन्तरिक पर्यटक पुग्छन् । त्यसबाहेक प्रदेशका विभिन्न क्षेत्र र वर्गका मानिसबीच घरायसी प्रयोजनदेखि स्थानीय व्यापारका लागि रक्सी, छ्याङ, जाँड, अइला, तोङ्वा, रम, ब्रान्डी आदि उत्पादन र प्रयोग हुँदै आएका छन् । स्थानीयस्तरमा उत्पादन गर्दा त्यसमा अल्कोहलको मात्रा नियन्त्रण नहुने, सहज उपलब्ध हुने हुँदा बालबालिकासमेत यसका अम्मली हुनेछन् । शारीरिक वा मानसिक थकान मेटाउने माध्यमका रूपमा रक्सीलाई लिइँदा उपभोग अनियन्त्रित भई कलेजो बिग्रिनेदेखि अन्य गम्भीर स्वास्थ्य समस्या देखापर्न सक्छ । 
कोदोबाट उत्पादित रक्सीलाई स्तरीकरण र बजारीकरण गर्ने कुरा अहिले चर्चामा छ ।

कोदो नेपालको पहाडी क्षेत्रको भरपर्दो पोषणको स्रोत हो । आजकाल रक्सीको खपत बढेका कारण कोदो रक्सी उत्पादनमा खपत हुने गरेको छ । यसलाई समयमै रोक्न सकिएन भने पछि अनाज नपाउने, तर रक्सी पाउने अवस्था नआउला भन्न सकिन्न । विश्वका युद्धग्रस्त क्षेत्रमा मानिसका न्यूनतम आधारभूत आवश्यकता पूरा नहुने, तर हतियार र मादक पदार्थ सहज पाइनेजस्तो अवस्था यहाँ पनि नआउला भन्न सकिन्न । हाम्रा पाखाबारी बाँझा छन्, कोदोको उत्पादन नै हुन छाड्यो ।

पछिल्ला वर्षमा नेपालमा आयात हुने वस्तुको सूचीमा कोदोसमेत पर्न थालेको छ । कोदोजस्तो रैथाने खाद्यान्न जगेर्ना गर्ने, त्यसलाई पुनः स्थानीयको नियमित खानाको सूचीमा प्रवेश गराउने, त्यसको व्यापार प्रवद्र्धन गरी निर्यातयोग्य खाद्यवस्तु बनाउन सहयोग हुने गरी विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूले अध्ययन गरी उत्पादनमा विशिष्टीकरण, व्यापार व्यवसायमा विविधीकरण र आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउनेतर्फ लक्षित हुनुपर्नेमा उल्टो मति प्रदर्शन भएको छ । युरोपमा कोदोको केक, मम, पाउरोटी, कुकिज आदिको मूल्य उच्च रहेको जानकारी नेपालका नेतादेखि विश्वविद्यालयका पदाधिकारी सबैलाई पक्कै हुनुपर्ने हो । 

गण्डकी प्रदेश सरकार र उसको विश्वविद्यालयलाई विकासको नशाले लट्ठै पारेको हो भने त्यस क्षेत्रका प्राकृतिक वनस्पति, खाद्यान्न, पशुपक्षीबारे विस्तृत अध्ययन–अनुसन्धान गरी त्यसको पर्याप्त लाभ स्थानीय समुदायदेखि राज्यले उपभोग गर्ने अवसर सिर्जना गर्न सक्थ्यो । त्यहाँको पर्यावरण, संस्कृति, जीवनचर्याको अध्ययन अनुसन्धानलाई प्राथमिकतामा पार्न सक्थ्यो । विश्वविद्यालयका शैक्षिक तथा प्राज्ञिक गतिविधि साक्षर जनशक्ति उत्पादन गर्नेभन्दा फरक धारमा हिँडेको समाचार सुन्न पाइन्न । 

नेपालमा रक्सीलाई प्रतिबन्ध गरिनुपर्छ भन्ने आवाज संसद्बाट अनुमोदित भई त्यसअनुसार नीति–नियमसमेत तयार भएको अवस्था छ । तर, रक्सी बेचेर धन कमाउँछौँ र प्रदेशलाई समृद्ध पार्छौँ भन्ने सपना कसैले देखेको छ भने त्यो बहुलट्ठीपनसिवाय केही हुनेछैन । रक्सीबाट धन र नाम कमाएका सहरहरू आफ्नो नामसँग गाँसिएको कलंक धुन हरसम्भव कोसिस गरिरहेका छन् । हामी भने सही विकल्प खोज्नुको साटो भद्धा मजाक लाग्ने विषयमा होमिँदै छौँ । राज्यका लागि रक्सी आम्दानीको स्रोत हुने भएको हुँदा गण्डकी प्रदेश सरकारको उक्साहटमा गण्डकी विश्वविद्यालयले सबै काम छाडेर रक्सीको ब्रान्डिङमा हतारो देखाएको अनुमान लगाउन गाह्रो छैन । 

विश्वमा हरेक तीनजनामा एकले रक्सी सेवन गर्छन् । सन् २०१६ मा प्रकाशित विश्वव्यापी रक्सीको खपत तथा स्वास्थ्य जोखिमसम्बन्धी प्रतिवेदनअनुसार रक्सीको एक थोपासमेत मानव स्वास्थ्यका लागि हितकर हुँदैन । ल्यानसेट नामक जर्नलमा सन २०१६ मा प्रकाशित लेखमा विश्वमा १६ देखि ४९ वर्ष उमेर समूहका १० प्रतिशत मानिसको अकाल मृत्युको कारण रक्सी रहेको उल्लेख छ । रक्सीकै कारण विश्वमा वर्षमा ३०–३५ लाख मानिसको ज्यान जाने गरेको छ ।  

कोदोको होस कि स्याउको, रक्सी स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसलाई विश्वविद्यालयले ब्रान्डिङ गर्ने अनुमति पायो भने त्यो आफैँमा राष्ट्रिय लज्जा मात्र नभई सामाजिक विकृति फैलाउने कारक पनि हुनेछ । अतः गण्डकी विश्वविद्यालयलले गर्वसाथ प्रचार–प्रसार गरेको कोदोको रक्सी ब्रान्डिङ गर्ने परियोजना त्यागोस् । रक्सीको ब्रान्डिङ गर्ने स्रोत, साधन र ऊर्जालाई उसले पठनपाठनको गुणस्तरीयतामा खर्च गरोस् ।  (पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनस्वास्थ्य संकायमा प्राध्यापनरत छन्)