विषय प्रवेश गर्नुअघि दुईओटा सन्दर्भ उल्लेख गर्न चाहन्छु । कामविशेषले कलंकी जाँदै थिएँ, बाटोमा गाडी उल्लेख्य थिए । त्रिपुरेश्वरबाट मेरो गाडीअगाडि रहेको एक कारका गतिविधिका कारण निकै हैरानी पर्यो । उक्त कार बाटो खुलिसक्दा पनि अगाडि बढ्दैनथ्यो । पछाडिका सवारीहरूले हर्न बजाएपछि हिँड्थ्यो, फेरि अर्को जाममा पुरानै रबैया दोहोर्याउँथ्यो । अति भएपछि बाटो अलि खुकुलो भएको मौकामा आफू अगाडी बढ्न उक्त गाडीलाई लाइटको संकेत दिएँ, तर कुनै रेस्पोन्स आएन, तैपनि साइड लाइट बालेर अगाडि बढेँ । त्यसक्रममा उसका गतिविधि नियाल्दा थाहा लाग्यो, चालक गाडीमा जडित ग्याजेटमा कुनै श्रव्यदृश्य हेर्न व्यस्त थियो ।
दोस्रो, सार्वजनिक यातायातमा पोखरा जाँदै थिएँ, नागढुंगा कटेपछि चालकले मोबाइलमा कुराकानी गर्न सुरु गरे । उनको ध्यान सडकमा कम थियो, सडक लेन मिचेर हिँड्थे, घुम्तीमा संकेत दिँदैनथे । यो घटनाले हामी यात्रीहरू निकै चिन्तित भयौँ । उनलाई गाडी चलाइरहँदा फोनमा ध्यान नदिन आग्रह गर्यौँ, तर उनले बेवास्ता गरे । प्रहरीको चेकपोस्ट आउँदा मोबाइल लुकाउँथे, प्रहरी ओझेल परेपछि पुनः त्यही गतिविधि दोहोरिन्थ्यो । मुग्लिन पुगेपछि हाम्रो चिन्ता प्रहरीलाई जानकारी गरायौँ ।
प्रहरीले उनलाई सम्झाए, ऐन नियमका प्रावधान बताए । त्यहाँबाट अगाडि बढेपछि चालक निकै रिसाएका थिए । एकलास स्थानमा गाडी रोकेर यात्रीहरूलाई धम्क्याए– प्रहरीलाई उजुर गर्ने को हो ? उसका अभिव्यक्ति अशोभनीय थिए, हामीले विनम्रतापूर्वक उसलाई सम्झाउन खोज्यौँ । केही बेरको गलफत्तीपछि गाडी अगाडि बढ्यो । यसपटक उसले गाडी चलाउँदा फोन गरेन, तर गाडीको गति भने निकै तीव्र बनायो ।
यस्ता घटना हामी सबैले बढ्दो रूपमा भोगिरहेका छौँ । मोबाइल फोन र मानिसका बीचमा अनौठो सम्बन्ध विकास हुँदै गएको देखिन्छ । साथमा मोबाइल छैन भने बेचैनी हुने वा मोबाइलमा फोनको घन्टी बजेपछि वा टेक्स आएको संकेत पाएपछि तुरुन्तै जवाफ फर्काउने हुटहुटी बढेको पाइन्छ । जसकारण मानिसहरू जोखिम मोलेरै भए पनि सवारी चलाउँदै गर्दासमेत फोनको प्रयोग गर्न तत्पर भएको पाइन्छ ।
आजकल अधिकांश गाडी तथा मोटरसाइकलमा मोबाइल÷ग्याजेट राख्ने व्यवस्था हुन्छ । जुन सवारी दुर्घटनाको एक मुख्य कारण रहेको विभिन्न अध्ययनले देखाएका छन् । यसका बाबजुद यात्राका दौरान फोनमा कुराकानी गर्ने वा श्रव्यदृश्य हेर्ने कार्यलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालेको पाइँदैन । पछिल्लो समय सहरमा प्रचलनमा रहेको पठाओ वा टुटलका ट्याक्सी र मोटरसाइकलका ड्राइभरको ध्यान हरक्षण मोबाइलको स्क्रिनमा हुन्छ, ग्राहकको प्रतीक्षामा । साथै, मार्ग पहिल्याउन सवारी चलाइरहेकै समयमा उनीहरूको आँखा स्क्रिनमा पनि गइरहेको हुन्छ । यो प्रवृत्तिप्रति चालक स्वयं सचेत होलान् र रोकिएला भन्न सकिन्न ।
विश्वमा मोबाइल फोनको प्रचलन सुरु भएको चार दशक भयो । नेपालजस्ता विकासोन्मुख देशमा यसले समुदायस्तरमा व्यापकता पाएको पनि करिब दुई दशक भयो । सन् २००० को दशकमा सवारी चलाउँदा मोबाइलको प्रयोग एक प्रतिशतबाट बढेर एघार प्रतिशत पुग्यो ।
यस परिप्रेक्षमा विश्व स्वास्थ्य संगठनले सन् २०११–२०२० लाई सडक सुरक्षा दशकको रूपमा मनायो । त्यसक्रममा सडक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रमहरू जस्तै– सवारीचालक अनुमतिपत्र, सवारीको गति तोक्ने, सडकको स्तरोन्नति, सडक संकेत, सडक बत्तीको व्यवस्था र त्यसको कडाइका साथ पालना, सवारी चलाउँदा सिटबेल्टको प्रयोग, सवारी चलाउँदा मादक पदार्थ र मोबाइल फोन निषेध गर्नेलगायतका कार्यक्रम विश्वभर सञ्चालन भए ।
असुरक्षित सडक : नेपालमा एक वर्षमा सरदर २५४ भन्दा बढी सवारी दुर्घटना हुन्छन् र त्यसबाट करिब चार हजारभन्दा बढीको ज्यान गएको देखिन्छ, त्यसको कैयौँ बढी गम्भीर घाइते हुने गरेका छन् । यस्तो मृत्यु कुल जनसंख्यामा प्रतिलाख करिब नौजना हो । यस्तो आँकडा विश्वव्यापी रूपमा प्रतिलाख छिटै करिब १६ जना पुग्ने विश्व स्वास्थ्य संगठनको प्रक्षेपण छ । सडक दुर्घटनामा मृत्यु हुनेमा ४० प्रतिशत २६ वर्षमुनिका युवा रहने गरेका छन् ।
नेपालमा सडक प्रयोगकर्ता पैदलयात्री वा अन्य प्रयोगकर्ताको समेत मोबाइल फोनको प्रयोगमा हेलचेक्र्याइँका कारण सडक असुरक्षित भएका छन् । सहरभित्रका अधिकांश बाटामा पैदलयात्रीका निम्ति छुट्टै बाटा छैनन् । भएका स्थानमा पनि भत्केका, फोहोर थुपारेको वा विभिन्न रूपमा भएको अतिक्रमणका कारण सहज रूपमा हिँडडुल गर्न समस्या हुने गरेको छ । कतिपय व्यक्तिमा पैदल बाटो हुँदाहुँदै पनि मूल सडकमा हिँड्ने, जथाभावी बाटो काट्ने प्रवृत्ति देखिन्छ । बाटामा हिँड्ने मानिस पनि एयरफोनमा संगीतमा रम्दै वा फोनमा कुराकानीमा एकाग्र हुँदै हिँड्ने गर्दा सवारीसाधनको यातायातमा अवरोध पु¥याउने गरेको वा दुर्घटनासमेत हुने गरेको छ ।
हामीले सुन्दै आएका छौँ, सवारी चलाइरहँदा मोबाइलमा कुराकानी गर्ने वा ग्याजेटमा ध्यान केन्द्रित गर्दा दुर्घटना बढाउँछ । सन् २०१७ मा प्रकाशित यसै विषयमा विश्वभरि अध्ययन गरिएका ६० वटा अध्ययनको निचोडमा करिब २५ प्रतिशत सडक दुर्घटनाको कारण चालकको ध्यान अन्यत्र मोडिनु मुख्य रहेको देखाएको छ । ५० किलोमिटर प्रतिघन्टाको दरमा गुडेको सवारीचलाकले एक सेकेन्ड मात्र पनि ध्यान अन्यत्र मोडिँदा सवारी १४ मिटर अनियन्त्रित दिशामा जान्छ ।
मोबाइल फोनमा ध्यान जाँदा यात्राका क्रममा सडक प्रयोगकर्ता वा वरपरको वातावरणको बारेमा पर्याप्त ध्यान दिन नसकिने भएका कारण गम्भीर दुर्घटनाको जोखिम हुन्छ । सडकमा राखिएका ट्राफिक संकेतहरूका बारेमा पर्याप्त ध्यान केन्द्रित गर्न नसक्ने हुन्छ । राज्यले तोकेको सडकको स्पिड लिमिटको पालना हुँदैन । यसले सडक उपयोगका क्रममा सवारीका बीचको दूरी कायम गर्ने सम्बन्धमा समस्या ल्याउँछ । तोकिएको सडक लेनमा मात्र रहने, लेन बदल्ने वा अघि बढ्ने क्रममा हुन सक्ने असावधानी बढ्छ ।
यी माथि उल्लेखित वा भिन्न अवस्थामा सडक सुरक्षाका लागि प्रायः सबै देशले कानुनी प्रावधानका अलावा फोनको प्रयोग निषेध गरेका छन् । जापान, न्युजिल्यान्डलगायतका कतिपय देशले सवारी चलाउँदा मोबाइल चलाउन कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा सडकमा कानुनविपरीतको गतिविधि गर्ने चालकलाई सचेत पार्ने, जरिवाना गर्नेजस्ता सामान्य दण्डात्मक व्यवस्था गरिएको छ । यद्यपि, यस नियमलाई खुबै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ । गाडी वा मोटरसाइकलमा चालकको सामुन्ने पर्ने गरी फोन राख्ने स्ट्यान्ड जडान गरी ब्लुटुथ वा एयरफोनको सहयोगदेखि हातैमा लिएर निर्बाध फोनमा कुराकानी गर्ने गरिन्छ ।
कानुनी प्रावधान : नेपालमा रहेको करिब २५ वर्ष पुरानो सडक सुरक्षासम्बन्धी कानुन र नियमावलीको २०७४ मा संशोधनका आधारमा सवारीचालकले मोबाइलको प्रयोगलाई दण्डनीय मानेको छ । यस्तो कसुरमा सवारीचालक अनुमतिपत्र ६ महिनासम्म रद्दसमेत गर्न सक्ने र अधिकतम रु. १५ सयसम्मको जरिवानाको व्यवस्था गरेको छ । पछिल्ला दिनमा नेपालमा पनि प्रतिमहिना करिब ५० भन्दा बढी सवारीचालक कारबाहीमा पर्ने गरेका छन् । यस्तो व्यवस्था लागू हुनुभन्दा पहिले सवारीचालकले मोबाइल प्रयोग गरेको विषयलाई दण्डको व्यवस्था गरेको थिएन ।
सामाजिक आर्थिक क्षेत्रमा निकै प्रभावकारी सिद्ध आधुनिक समाजको वरदान मोबाइल फोन सडक सुरक्षाका लागि निकै घातक सिद्ध हुँदै गएको छ । सडक दुर्घटनाबाट बच्न बढी जिम्मेवार सवारीचालक वा सडक प्रयोगकर्ता स्वयं सचेत हुने वा अनुशासनमा बस्नु नै हो ।
यस सम्बन्धमा नागरिकको तहमा विकसित भएको धारणा चिन्ताको विषय बन्दै गएको छ । नागरिकको जीवनरक्षाका लागि राज्यका तर्फबाट कानुनी तथा अन्य व्यवस्थापकीय पूर्वाधारको निर्माण गर्न र त्यस्ता प्रावधानको कार्यान्वयनमा पनि लाग्नुपर्दछ । कानुन तोड्नेलाई सख्त कारबाही नगरी सानोतिनो जरिवानामा मात्र सीमित राख्दा कानुन तोड्न हौसला मिलेको छ । अतः कानुनको कडाइका साथ कार्यान्वयन गर्ने र त्यस्ता व्यक्तिलाई समाजले पनि कसुरदार ठह¥याउने पद्धतिको विकास गरिनुपर्छ ।
(पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य संकायमा प्राध्यापन गर्छन्)