खराब प्रवृत्तिलाई नयाँ नाम दिँदैमा त्यो नयाँ हुने होइन । धेरैले भन्दैमा गलत सही बन्दैन, न त थोरैले भन्दैमा सही छोपिन्छ । गलत र सहीको कसी त्यसको आवरणले निर्धारण गर्दैन न त आकर्षक सजावटले गलतको प्रभावलाई कम गर्न सक्छ । जतिसुकै चिप्ला कुरा गरे पनि सेवा वा वस्तुको पारख त्यसका सही उपभोक्ताले गर्छन् नै । खराब नियत भएकाबाट असल काम र व्यवहारको अपेक्षा गर्न सकिन्न ।
ओझेलमा परेका विषय वा सेवाको महत्वबोध गराउन, अवरुद्ध गतिलाई ऊर्जा दिन पनि नयाँ कलेवर दिनुपर्छ । त्यसका लागि विषय वा सेवाको अन्तर्भाव बुझ्न सक्ने पारख चाहिन्छ, जसरी रंगकर्मीको कला बुझ्न कलाप्रेमी मन चाहिन्छ । मानवता बाँकी रहेको जमातले नै अर्को मानिसको अन्तर्आत्माको बोली चिन्न सक्छ । जीवन र जगत् बुझेको जमातले जति स्वाभाविक रूपमा जीवन र जगत् चल्ने आधारभूत तत्वको संरक्षण र संवर्धन गर्न योगदान दिन सक्छ त्यति अरूबाट अपेक्षा राख्न सकिन्न ।
जीवन र जगत्को चक्र सूत्रमा बनाइने सिनेमा होइन । प्राकृतिक अवस्थामा रहेका वस्तुमा बेग्लै सुन्दरता हुन्छ । त्यसो भन्दैमा परिमार्जन गर्नुपर्दैन भन्ने होइन । प्राकृतिक स्वरूपमा कतिसम्म परिमार्जन स्वाभाविक र स्वीकार्य हुन्छ भन्ने निर्णय सूक्ष्म विश्लेषणमा आधारित हुनुपर्छ र त्यस्ता निर्णयलाई सरोकारवालाहरूले स्वीकार गर्न सक्ने हुनुपर्छ । यस्तो सवालमा कोही व्यक्तिको सनक वा मुढेबललाई जबर्जस्ती लाद्न खोज्नु अनर्थ हुन सक्छ । पूरा गर्न नसक्ने सपना देख्नु र मुढेबल प्रयोग गर्नु मानसिक कमजोरी हो । उसो त सपनाको सिर्जनशीलतामा आविष्कारको बिउ भेटिन सक्छ, तर फर्सीको बिउ रोपेर काँक्रो वा करेला फल्दैन । कसैले गुलियो करेलाको सपना बाँड्छ भने बुझ्नुपर्यो त्यसमा भुल्नु मूर्खता हो ।
समाजमा हरेक स्वाभाविक कुरालाई भड्किलो बनाउने प्रवृत्ति हाबी भएको छ । अप्राकृतिक समाज सिर्जना गर्न खोज्ने आडम्बरीहरू बलिया छन् । अप्राकृतिक भएपछि त्यसमा जतिसुकै बाह्य भड्काउ ल्याउन खोजे पनि अन्ततः उदांगिन्छ, निरस हुन्छ कागजको फूलले भँमरालाई आकर्षण गर्न नसकेजस्तै । सत्यका स्वरूप फरक–फरक हुन सक्छन् । कतिपय विषयवस्तु वा सेवाको सम्बन्धमा व्यक्ति–व्यक्तिबीच फरक–फरक धारणा हुन सक्छ ।
समग्र देशको हितभन्दा पनि आफू, आफ्ना मान्छे र आफ्नो दलभन्दा माथि उठेर सोच्ने प्रवृत्ति कुनै दल वा तिनका नेतामा नपाइनु दुर्भाग्य हो
एकै व्यक्तिको हकमा पनि विभिन्न अवस्थामा धारणा फरक पर्न सक्छ । कलियुगीन समाज यसरी बाँडिएको छ कि यहाँ सत्य, न्याय र विवेकभन्दा आस्थाका आधारमा मानिस विभक्त हुन्छन् । कसैले सबैतिर सकारात्मक मात्र देखेको हुन्छ त अर्को त्यसमा नकारात्मक मात्र देख्छ । केहीले फाइदा पाउँछ, तर अरू थुप्रै जमात बेफ्वाँकमा रमिता मान्छन् । गलत वा सहीका आवरणमा हेरफेर हुन सक्दछ, तर त्यसको अन्तर्वस्तुमा हत्तपत्त परिवर्तन हुँदैन । त्यो अन्तर्निहित सारलाई चिन्न ढिला गर्नु स्वयंलाई हास्य पात्र बनाउनु मात्र हो । कुनै विचार वा समूहप्रति आस्था राख्नु नराम्रो होइन, तर चेतनाको प्रयोग गर्न नसक्ने (भक्त) जमात पनि गलतका पृष्ठपोषक हुन् ।
सत्तामा कोही हुनु र नहुनुले तात्विक फरक पनि पर्दैन किनकि सबै पात्र रूपमा फरक भए पनि सारमा समान छन् । ‘भाइहरू’ पाल्न सक्ने नै शक्तिशाली हुन्छन् । फेरि पनि यो या त्यो बहानामा गुट वा दलीय स्वार्थलाई अभीष्ट बनाउनेहरू एउटै प्रकृतिको नाच प्रदर्शन गर्दै छन् । नियम निर्धालाई मात्र भएको छ । सत्तामा हुँदा र सत्ताबाहिर हुँदा बोलिने बोलीमा बेमेल देखिन्छ ।
जलवायु परिवर्तनले विश्वव्यापी रूपमा भयावह अवस्था सिर्जना गरेको छ । कोभिडको महामारीले नेपालमा मात्र करिब साढे एघार हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । यसका कारण सामाजिक आर्थिक मनोवैज्ञानिक रूपमा समाजमा पारेको नकारात्मक असरलाई कम गर्न केही विशिष्ट खालका नीति तथा कार्यक्रम ल्याउनुपर्ने थियो सरकारले । आज पनि नागरिकको आँखामा धुलो छर्ने, सस्तो लोकप्रियताका लागि क्षणिक लाभ हेरेर कार्यक्रम ल्याइएका छन् । समग्र देशको हितभन्दा पनि आप, आफ्ना मान्छे र आफ्नो दलभन्दा माथि उठेर सोच्ने प्रवृत्ति कुनै दल वा तिनका नेतामा नपाइनु दुर्भाग्य हो ।
कोभिडका सम्बन्धमा आजका दिनसम्म आइपुग्दा समस्या समाधानका सम्बन्धमा धेरै जानकारी उपलब्ध छन् । एकतिर राज्यको एकमात्र प्राथमिकता कोभिडविरुद्धको खोपजस्तो देखिन्छ । सत्तासीन र सत्ताबाहिर हुनेहरू भिड जम्मा गरेर राजनीतिक अभीष्ट पूरा गर्न खोज्दै छन् । नयाँ सामान्यीकरणमा जानका लागि भौतिक तथा सामाजिक व्यवहार सुधारका कार्यक्रम सञ्चालन हुनुपथ्र्यो । अहिले देशको प्राथमिकता सूचीबाट जलवायु परिवर्तन, कोभिड आदि हट्दै गएर दलहरू वैशाखदेखि सुरु हुने भनिएका स्थानीय तथा संघीय चुनावका लागि जोडघटाउदेखि उत्तेजक नाराको खोजीमा लाग्न थालेका छन् ।
लेखक जनस्वास्थ्यकर्मी हुनुहुन्छ ।