१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २६ बुधबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २६ बुधबार o८:३६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बन्ने भयो श्रमिक अस्पताल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २६ बुधबार o८:३६:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक अस्पताल बनाउने भएको छ । ७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूको परिवारका सदस्यको सहज उपचारका लागि मन्त्रालयले अस्पताल बनाउने भएको हो । श्रमिकको कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा, पेसागत कारणले लाग्ने रोगलगायतको अनुसन्धानसमेत गरिने मन्त्रालयले जनाएको छ । उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याइने पनि मन्त्रालयको भनाइ छ । साथै, वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूको परिवारका सदस्यका लागिसमेत सहुलियतमा उपचार सेवा उपलब्ध गराइने भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अवधारणापत्र स्वीकृत गरी अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका टोलीसमेत गठन गरिसकेका छन् । मन्त्रालयका श्रमसम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा गठन गरिएको सम्भाव्यता अध्ययन टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोत–साधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्नेछ । अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन महासंघका प्रतिनिधि रहेका छन् । लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पताल निर्माण गर्न लागिएको मन्त्री श्रेष्ठले बताएका छन् । 

सामाजिक सुरक्षा योजनाहरू कार्यान्वयन गर्न श्रमिक अस्पताल निर्माण जरुरी देखिएको भन्दै मन्त्री श्रेष्ठले यस अभियानमा सबैबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरिएको बताए । नेपालमा अधिकांश श्रमिक विपन्न छन् । धुलो, धुवाँमा रहेर काम गर्ने श्रमिकलाई रोग लाग्ने सम्भावना बढी हुने तथा कम उमेरका बिरामी तथा रोगीको संख्या पनि धेरै भएको उनको भनाइ छ । साथै औद्योगिक करिडोरमा काम गर्ने हजारौँ श्रमिक समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा छन् । सरकारले श्रमिक र श्रमिकका परिवारका लागि न्यून मूल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक देखिएकाले श्रमिक अस्पतालको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठको भनाइ छ ।