१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
गणेश लम्साल विराटनगर
२o८१ भदौ २३ आइतबार १९:o२:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कार्यक्रम कटौती गरे मुख्यमन्त्रीविरुद्ध अनशन बस्ने पूर्वमुख्यमन्त्रीको चेतावनी

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार १९:o२:oo

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रमहरू मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कटौती गरेको भन्दै संसदबाटै अनशन बस्ने चेतावनी दिएका पूर्वमुख्यमन्त्री केदार कार्कीले आइतबार बिहान फेसबुकमा स्टाटस लेखेर चेतावनी दोहोर्याएका हुन्।

आफूले घोषणा गरेका कार्यक्रमहरू जनमुखी भए पनि वर्तमान सरकारले नियतवश कटौती गरेको आरोप लगाउँदै पूर्वमुख्यमन्त्री कार्कीले फेसबुकमा लामो स्टाटस लेख्दै अनशन बस्ने चेतावनीबाट पछि नहट्ने बताएका छन्। उनले १४ भदौमा प्रदेश सभाको बैठकमा पनि आफूले घोषणा गरेका कार्यक्रमहरूले निरन्तरता नपाए सार्वजनिक स्थानमा सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका थिए। उनले संसदमा भनेका थिए, ‘म जनताको मतको ऋण तिर्न अनशन बसेर मृत्यु भोग्न पनि तयार छु। सरकारले कात्रो किनेर राखोस्।’

पूर्वमुख्यमन्त्री कार्कीले आफूले थालेका कार्यक्रमहरूलाई बजेट सुनिश्चितता गर्न माग गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्मरणपत्र पनि बुझाउने जनाएका छन्। उनले १६ साउन २०८१ मा पनि पत्रकार सम्मेलन गर्दै आफूले घोषणा गरेका कार्यक्रमहरू कटौती गरे सरकारविरुद्ध कडा संघर्ष थाल्ने चेतावनी दिएका थिए।

आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुमवासीलाई जग्गा खरिदमा अनुदानलगायतका कार्यक्रम वर्तमान प्रदेश सरकारका मुख्यमन्त्रीले कटौती गरेको पूर्वमुख्यमन्त्रीले आरोप लगाउँदै आएका छन्।

यद्यपि, मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारमातहतका मन्त्रालयहरूले भने पूर्वमुख्यमन्त्री केदार कार्कीले घोषणा गरेका कुनै पनि कार्यक्रम कटौती नभएको जानकारी दिएका छन्। १६ भदौ आइतबार कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले विज्ञप्ति जारी गर्दै भनेका छन्,  ‘पूर्वसरकारले थालेका कार्यक्रम कुनै पनि कटौती भएका छैनन्। बरु यो आर्थिक वर्षका लागि विनियोजन भएर सञ्चालन भैरहेका छन्।’

तर, सरकारको प्रस्टीकरणपछि पूर्वमुख्यमन्त्री कार्कीले झनै आक्रामक बन्दै सरकारले खुलमखुल्ला झुठको खेती गरेको आरोप लगाएका छन्। उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अघिल्लो वर्ष कडा रोग सहायता कार्यक्रमअन्तर्गतको ५ करोड रुपैयाँको बजेट एक महिनामा नै आफ्ना नेता, कार्यकर्ता र नाता–सम्बन्धका व्यक्तिलाई बाँडेको आरोपसमेत लगाएका छन्। प्रदेश स्वास्थ्य मन्त्रालयले बिमा कार्यक्रमको दर रेटमा बढी भुक्तानी दिएर आर्थिक अनियमितता गरेको सूचना आएको भन्दै छानबिन गर्न माग पनि गरेका छन्।