Skip This
महँगी नियन्त्रणमा सरकारको ध्यान गएन : बेदुराम भुसाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ३१ सोमबार
  • Wednesday, 18 September, 2024
फाइल तस्बिर
२o८१ भदौ ३१ सोमबार १९:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

महँगी नियन्त्रणमा सरकारको ध्यान गएन : बेदुराम भुसाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ३१ सोमबार १९:oo:oo

नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले महँगी नियन्त्रणमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन्। राष्ट्रिय सभाको १६औँ अधिवेशन अन्त्यको सन्दर्भमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलको तर्फबाट सोमबार मन्तव्य राख्दै डा. भुसालले महँगी अकासिँदासमेत सरकारको ध्यान नपुगेको बताएका हुन्।

‘मुलुकमा जनताको जीवनस्तर कस्तो छ? महँगी कहाँ पुगेको छ? आयल निगमले नियमित रूपमा समायोजन गर्ने पेट्रोलियम पदार्थको मूल्यलाई माननीय मन्त्रीज्यूले सरकारले गरेको काम भनेर भाषण गर्नुभयो। त्यो त नियमित प्रक्रिया हो। कहिले घट्छ, कहिले बढ्छ। त्यसको कुनै अर्थ छैन। आज खाद्यान्नको मूल्य कहाँ पुगेको छ? चिनीको मूल्य कति बढेको छ? दालको मूल्य कति बढेको छ? चामलको मूल्य कति बढेको छ? पिठोको मूल्य कति बढेको छ? माननीयज्यूले हिसाब गर्नुभएको छ? दुई-चार रुपैयाँ होइन, किलोमा ५० रुपैयाँसम्म खाद्यान्नको मूल्य बढेको छ। अनि जनताले चाडपर्व कसरी मनाउँदै छन्? के सरकारको ध्यान गएको. छ?’ भुसालले भने, ‘महँगी नियन्त्रणमा सरकारको ध्यान पटक्कै गएको छैन। त्यसले जनताप्रति सरकार संवेदनशील छैन भन्ने कुरा देखाउँछ।’

खाद्यान्नको अकासिँदो मूल्यवृद्धिको मारमा परेका जनताले कसरी चाडपर्व मनाउँछन् भन्ने प्रश्न भुसालले गरे। त्रिशंकु संसदमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको भन्दै उनले जनताप्रति सरकारले कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।

‘सरकार बन्ला, भत्केला। अब फेरि यो गठबन्धन भत्किँदैन भन्ने ग्यारेन्टी छ? सरकार बदलिँदैन भन्ने ग्यारेन्टी छ र? जबसम्म कुनै दलको एकल बहुमत हुँदैन, त्यो स्वाभाविक प्रक्रिया हो। अनौठो मान्नुपर्ने कुरा नै छैन। तर, सरकारले काम के गरिरहेको छ? जनताप्रति सरकारले कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा धेरै महत्त्वपूर्ण हो,’ उनले भने।

काठमाडौंका नदीकिनारका हजारौँ घरहरू भत्काउने गरी अभियान चल्दै गरेको भन्दै भुसालले सरकारको धारणा माग गरे।