काठमाडौं/ नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका केन्द्रीय नेतृत्वदेखि पालिका तहका कमिटी र विभिन्न तहका जनप्रतिनिधिसम्म गरी तीन हजार ४१४ जना सहभागी हुने भएका छन्।
एमालेले पार्टीको इतिहासमै पहिलोपटक पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संघीय संसददेखि स्थानीय तहसम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराएर राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।
माइतीघर हाइटस्थित कार्की ब्यांक्वेटमा हुने भेलाको उद्घाटन मंसिर २ गते बिहान ११ बजे पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम छ। पार्टीका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भेलामा विशेष सम्बोधन गर्नेछिन्।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष सहभागी हुनेछन्। त्यस्तै, संघीय सांसद, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलगायतको सहभागिता रहनेछ।
एमालेले राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्ने, पार्टीको वैचारिक तथा संगठनात्मक एकता सुदृढ बनाउने र आगामी स्थानीय तह निर्वाचनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले भेला आयोजना गर्न लागेको जनाएको छ।
पार्टीको केन्द्रीय कमिटीको असोज ५ देखि ८ गतेसम्म सम्पन्न तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भएर कार्यान्वयन गर्ने विषयलाई भेलाको मुख्य उद्देश्य बनाइएको छ।