मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले करको दर बढाएर मात्र राजस्व वृद्धि गर्नुभन्दा उत्पादन, लगानी, रोजगारी र आर्थिक गतिविधि विस्तार गरेर राजस्वको आधार फराकिलो बनाउनुपर्ने बताएका छन् ।
कर प्रणालीलाई उत्पादन र लगानीमैत्री बनाउनुपर्नेमा जोड दिँदै उनले करको अनावश्यक भार बढाउनु सरकारको प्राथमिकता नभएको बताए ।
१५औँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व कार्यालय हेटौँडाले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले कर प्रणाली न्यायपूर्ण, पारदर्शी र नागरिकमैत्री हुनुपर्ने बताए ।
यस वर्षको ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराले राज्यको आर्थिक नीति र विकासको दिशा स्पष्ट पारेको उनको भनाइ थियो ।
उनले आर्थिक क्षमताका आधारमा करको भार निर्धारण हुनुपर्ने बताए। न्यून आय भएका नागरिकमाथि अनावश्यक करको भार पर्न नहुने र बढी आर्थिक क्षमता भएकाले क्षमताअनुसार योगदान गर्नुपर्ने उनको धारणा थियो । इमानदारीपूर्वक कर तिर्ने नागरिक निरुत्साहित हुने र कर छली गर्नेले लाभ पाउने अवस्थाको अन्त्य गर्नुपर्ने उनले बताए ।
मुख्यमन्त्री थापामगरले कर संकलनसँगै त्यसको सदुपयोग र सार्वजनिक खर्चको पारदर्शिता सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गरे । सरकारले कति बजेट खर्च गर्यो भन्नेभन्दा पनि त्यसबाट नागरिकको जीवनमा कस्तो परिवर्तन आयो भन्ने आधारमा सफलताको मूल्यांकन हुनुपर्ने उनको भनाइ थियो ।
‘करदाताको एक रुपैयाँ पनि राज्यको जिम्मेवारी हो भन्ने भावना शासन प्रणालीका हरेक तहमा स्थापित हुनुपर्छ,’ उनले भने, ‘कर उठाउने सरकारभन्दा करको सदुपयोग गरेर नागरिकको जीवन बदल्ने सरकार बन्नु हाम्रो लक्ष्य हुनुपर्छ ।’
उनले आन्तरिक राजस्व परिचालनलाई आर्थिक आत्मनिर्भरतासँग जोड्दै बाह्य ऋण र अनुदानमाथिको अत्यधिक निर्भरता घटाउनुपर्ने बताए । प्रदेश र स्थानीय तहको आर्थिक क्षमता बलियो भए मात्रै संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उनको भनाइ थियो ।
बागमती प्रदेशमा कृषि, उद्योग, पर्यटन, ऊर्जा, सेवा क्षेत्र र सूचना प्रविधिमा ठुलो सम्भावना रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले यी क्षेत्रलाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए । प्रदेशको आन्तरिक राजस्वको आधार फराकिलो बनाउन प्रदेश र स्थानीय तहबिच सहकार्य तथा सूचना आदानप्रदान बढाउनुपर्नेमा उनले जोड दिए।
युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्नुपर्ने बताउँदै उनले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा व्यवहार गर्न सरकार प्रतिबद्ध हुनुपर्ने धारणा राखे ।
उद्योगी तथा व्यवसायीलाई लगानीको वातावरण, सुरक्षा र नीतिगत स्थिरता दिनुपर्ने भए पनि कर छली, राजस्व चुहावट र आर्थिक अनियमिततामा राज्य कठोर हुनुपर्ने उनले बताए ।
कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र सेवामुखी बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्रीले कर कार्यालय नागरिकका लागि डर र झन्झटको केन्द्र नभई सेवा र सहजीकरणको केन्द्र बन्नुपर्ने बताए ।
उनले बागमती प्रदेश सरकार कृषि, उद्योग, पर्यटन, ऊर्जा, सूचना प्रविधि र उद्यमशीलताको विकासमार्फत आर्थिक आधार बलियो बनाउने तथा सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने दिशामा प्रतिबद्ध रहेको पनि बताए ।
कार्यक्रममा मुख्यमन्त्री थापामगरले करलाई सरकारी आम्दानीको स्रोतका रूपमा मात्र नभई राष्ट्र निर्माणमा नागरिकको योगदानका रूपमा बुझ्नुपर्ने उल्लेख गरे । करदाता, निजी क्षेत्र र सरकारबिचको सहकार्यबाट मात्रै न्यायपूर्ण कर प्रणाली, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो ।