नेपाल–भारतबिच ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल

मंगलबार, १ मंसिर, २०८३
डिजिटल संस्करण

काठमाडौं  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच मंगलबार शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल–भारतबिचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।

भेटमा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबिच सहकार्य गर्ने विषयमा छलफल भएको थियो। त्यसैगरी, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना, निर्माणाधीन परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने तथा विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो।

यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास र विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको छ।

भेटका क्रममा दुवै पक्षले ऊर्जा तथा जलस्रोतका क्षेत्रमा आपसी सहकार्यलाई थप प्रभावकारी बनाउँदै पारस्परिक हितका आयोजनाहरूलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए।

सुझावित समाचार