१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २३ आइतबार
  • Monday, 16 September, 2024
२o८१ भदौ २३ आइतबार o८:oo:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिहारमा पहिलोपटक व्यावसायिक विद्युत् निर्यात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २३ आइतबार o८:oo:oo

नेपाल विद्युत् प्राधिकरणले मध्यकालीन सम्झौताअन्तर्गत भारतको बिहार राज्यमा पनि विद्युत् निर्यात सुरु गरेको छ । प्राधिकरणले शुक्रबारबाट बिहारमा ४० मेगावाट विद्युत् निर्यात गरेको हो ।

भारतले गत ३ भदौमा नेपालका विभिन्न १० जलविद्युत् परियोजनाको एक सय २५ मेगावाट विद्युत् बिहारमा बिक्री गर्न प्राधिकरणलाई स्वीकृत दिएको थियो । त्यसमा भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि पहिलो चरणमा तीन परियोजनाको ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताए । 

अहिले १४.४५३ मेगावाटको माया खोला, १४.४ मेगावाटको मोदी र ११.६४ मेगावाटको दुधकुण्ड जलविद्युत् परियोजनाको विद्युत् बिहारमा निर्यात गरिएको हो । एक सय ३२ केभीको कुशाहा–कटैया अन्तरदेशीय प्रसारणलाइनबाट उक्त विद्युत् बिहारमा निर्यात गरिएको हो । सम्झौताअनुसार प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु)मा उक्त विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ ।

११.६४ मेगावाटको दोर्दी–१, ९.९९ मेगावाटको डाउन पिलुवा, १०.६७ मेगावाटका तल्लो खारे, ११.६४ मेगावाटको माथिल्लो खिम्ती, ६.८ मेगावाटको माथिल्लो खिम्ती–२, १४.६ मेगावाटको गण्डक र १९.२१ मेगावाटको माथिल्लो सोलु जलविद्युत् परियोजनाले ‘नो अब्जेक्सन लेटर’ पाइसकेका छैनन् । अबको एक साता उक्त आयोजनाको विद्युत् बिक्री गर्न पनि नो अब्जेक्सन लेटर आउने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

‘तीन आयोजनाको ४० मेगावाट विद्युत् भारतको बिहारमा निर्यात सुरु भइसकेको छ । बाँकी सात आयोजनाको विद्युत् पनि एक साताभित्र बिहारमा निर्यात हुनेछ,’ उनले भने, ‘भारतले तत्काललाई बिहारमा एक सय २५ मेगावाट विद्युत् बिक्री स्वीकृत दिइसकेको छ । अब एक साता सोही मात्रामै बिहारमा विद्युत् निर्यात हुनेछ ।’

भारतमा विद्युत् बिक्री गर्न निश्चित आयोजनालाई स्रोत देखाएर स्वीकृति लिनुपर्छ । त्यसपछि एनएलडिसीबाट ‘नो अब्जेक्सन लेटर’ पनि लिनुपर्छ । एनएलडिसी भारतको विद्युत् प्रसारण प्रणाली व्यवस्थापन गर्ने निकाय हो । नेपालबाट पठाइने विद्युत् प्रवाह गर्न मिल्ने गरी एनएलडिसीले प्रसारणलाइनको व्यवस्थापन गर्नुपर्छ । त्यसको व्यवस्थापन गरेर एनएलडिसीले नेपाललाई विद्युत् पठाउन ‘नो अब्जेक्सन लेटर’ दिनेछ । त्यसपछि नेपालले भारतीय प्रसारण प्रणालीमा विद्युत् पठाउन सक्नेछ । 

बिहारमा यसअघि विद्युत् आदान–प्रदान मोडेलमा विद्युत् निर्यात हुने गरेको थियो । भारतको बिहार राज्य नेपालसँग जोडिएको छ । बिहारमा पाँच वर्षसम्म जुनदेखि अक्टोबरसम्म अर्थात् बर्खाको समयमा दुई सय मेगावाट विद्युत् बिकी गर्ने गरी गत असारमा एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग सम्झौता भएको थियो । यसको विद्युत् बिक्रीदर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु) रहेको छ । यसअन्तर्गत एक सय २५ मेगावाट विद्युत् बिक्री गर्ने अनुमति पाएपछि भारतले ७५ मेगावाट विद्युत् बिक्रीका लागि स्वीकृत दिन बाँकी छ । ३ भदौमा भारतले मध्यकालीन सम्झौताअन्तर्गत नेपालका १२ परियोजनाको दुई सय ५१ मेगावाट विद्युत् बिक्री गर्न नेपाललाई स्वीकृति प्रदान गरेको थियो । त्यसमा नेपाले हरियाणामा १२५.८९ मेगावाट र बिहारमा एक सय २५ मेगावाट विद्युत् बिक्री गर्न पाउँछ ।  

यसअन्तर्गत प्राधिकरणले गत साताबाटै भारतको हरियाणा राज्यमा थप १२५.८९ मेगावाट विद्युत् बिक्री गर्न सुरु गरेको थियो । ७५ मेगावाटको लिखु–१ र ५०.८९ मेगावाटको लिखु–२ को १२५.८९ मेगावाट विद्युत् हरियाणामा बिक्री गर्न सुरु भएको थियो । प्राधिकरणले प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा (५.४५ भारु)मा उक्त विद्युत् त्यहाँ बिक्री गरेको छ ।

त्यससँगै भारतको हरियाणा राज्यमा मध्यकालीन सम्झौताअन्तर्गत दुई सय ३५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताअन्तर्गत निर्यात भइरहेको छ । प्राधिकरणले यसअघि पनि हरियाणा राज्यमा एक सय नौ मेगावाट विद्युत् मध्यकालीन सम्झौताअन्तर्गत नै बिक्री गरिरहेको थियो । त्यसको दर भने प्रतियुनिट आठ रुपैयाँ ४० पैसा (५.२५ भारु) छ । योसँगै भारतमा मध्यकालीन सम्झौताअन्तर्गत कुल दुई सय ७५ मेगावाट विद्युत् निर्यात हुन थालेको छ ।