१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
टेकराज थामी काठमाडाैं
२o८२ असार १३ शुक्रबार o६:३७:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलमको अर्को दर्दनाक अत्याचार

Read Time : > 7 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार o६:३७:oo
  • बम विस्फोटका घाइतेलाई इँटाभट्टामा कोचेर हत्या गरेको मुद्दामा उच्च अदालतले हालै सफाइ दिएका कांग्रेस नेता अफताब आलमले २६ वर्षअघि रौतहट जिविस सदस्य जयप्रकाश कौशलमाथि गरेको क्रूर अपराधको नालीबेली

फिल्मी शैलीको आलम–अत्याचार खेपेका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशल भन्छन्– म जुनवेला अब्दुल कलाम आजादको चुनाव प्रतिनिधि बनेर रौतहट– २ मा खटिएको थिएँ, त्यही वेलादेखि म अफताबको तारो बनेको थिएँ । उनी मलाई कुनै हालतमा सिध्याउन चाहन्थे । ममाथि आफ्ना कार्यकर्ता हत्याको आरोप लगाए । उनको घरमा माओवादीले आगजनी गर्‍यो, तर माओवादीले जिम्मा लिइसकेको घटनामा पनि मलाई फसाउन खोजे । जबकि, त्यो घटनामा मेरो कुनै संलग्नता थिएन । जिविस कार्यालयबाटै मलाई अफताब आलमका भाइ महताबसहितका हतियारधारीहरूले सरकारी गाडीमै अपहरण गरेर लगे । उनीहरूले मलाई आलमका काका जर्नेल भनिने शेख जाहिरको घरमा पुर्‍याए । त्यहाँ मेरा दुवै हात सिलिङतर्फ फर्काएर फरक–फरक दिशामा बाँधिदिए । मुखमा बाल्टीबाटै पानी छ्यापे, शरीरमा बाँसको भाटा बर्साए । पीडा खप्न नसकेर म चिच्याउन थालेँ । तर, उनीहरू रोकिएनन् । यही क्रममा महताब मेरोनजिक आएर आगजनी गरेको स्वीकार गर् भन्थ्यो । मैले नमानेपछि फेरि यातना दिन्थे । म अर्धचेत भएपछि दुइटा कपाली तमसुक र खाली कागजमा हस्ताक्षर गर्न लगाए ।

१७ चैत ०५६, बिहान ११ बजे । तत्कालीन जिल्ला विकास समिति (जिविस) रौतहटका सभापति रामचन्द्र राउत कुर्मी सदरमुकाम गौरस्थित कार्यालयमै थिए । उनीसँगै थिए, जिविस सदस्य जयप्रकाश कौशल । अकस्मात् ना.अ झ ४४१ नम्बरको सरकारी गाडी कार्यालयअगाडि रोकियो । गाडीबाट तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री अफताब आलमका भाइ महताब आलम सानका साथ कार्यालयपरिसरमा उत्रिए । 

गाडीभित्र नारद सिंह, रामकिशोर राय यादव, रामचन्द्र गिरी, शेख मोजमिल, शेख जमिल अख्तर, शेख सोयबलगायतका युवा पनि थिए । उनीहरू महताबसँगै गाडीबाट झरे । गाडीमा राखिएको कटुवा पेस्तोल र बन्दुक हातमा बोकेर सरासर जिविस सभापति कुर्मीको कार्यकक्षतर्फ लागे । 

सभापति कुर्मी आफ्नै कुर्सीमा थिए, सदस्य कौशल सोफामा । हातहातमा हतियार बोकेको दलबल ढोकाबाट छिरेपछि अवाक् बनेका कुर्मी कुर्सीबाट जुरुक्क उठे । सोफामै थिए, कौशल । महताब सरासर कौशलतर्फ लम्किए । उनको पाखुरा अठ्याउँदै आफूतिर ताने । कौशलले सोफामै रहन बल लगाए । महताबले सँगै रहेका आफ्ना युवालाई कौशललाई उठाउन निर्देशन दिए । निर्देशन भुइँमा खस्न नपाउँदै युवाहरू अघि बढे । कौशललाई घुच्चुकमा समातेर लछार्दै कार्यालयबाट बाहिर निकाले । कौशल घरी भुइँमा ज्यान छाड्थे, घरी भर्‍याङमा तेर्सिन्थे । तर, युवा बलको सामु उनको केही जोड चलेन । 

महताब नेतृत्वको टोलीले कौशललाई कार्यालयपरिसरमा रोकिराखेको आफ्नै गाडीमा जबर्जस्ती हाले । दायाँ–बायाँ हतियारसहितका युवा पनि बसे । ड्राइभरसँगैको सिटमा बसे महताब । हुइँक्याएको गाडी रौतहट राजपुर फरहदवास्थित शेख जर्नेल भनिने शेख जाहिरको घरमा रोकियो । कौशललाई गाडीबाट घिसार्दै निकाले । 

२६ वर्षअघिको घटना सम्झिँदै कौशलले भने, ‘म सभापति कुर्मीको कार्यकक्षमा थिएँ । महताब नेतृत्वको हतियारसहितको टोली कार्यालयमा प्रवेश गर्‍यो । मलाई घिसार्दै कार्यालयबाट बाहिर निकाल्यो । बाहिर गाडी रहेछ । सोही गाडीमा राखे । गाडी राजपुरतर्फ हुइँकियो । गाडीभित्र कुट्न थालिसकेका थिए । जर्नेलको घर पुर्‍याउँदासम्म म घायल भइसकेको थिएँ ।’

जर्नेलको घरपरिसरमा पुर्‍याएपछि कौशलको दुवै हात समातेर लात हान्दै घरभित्र छिराए । ठुलो कोठाको बिचमा ठिंग उभ्याए । दायाँ र बायाँ दुवै हातमा जुटको डोरी बाँधेर कोठाको सिलिङमा लगेर जोडले कसे । त्यसपछि महताब कौशलतर्फ अघि बढे । एक हातले च्यापु अँठ्याउँदै निर्देशन दिए, ‘मेरो घरमा आगो लगाउने र लुटपाट गर्ने तैँ होइनस्?’

एक दिनअघि अर्थात् १५ चैत ०५६ को मध्यरात १२:३० बजेतिर तत्कालीन भूमिगत माओवादीका एक सयभन्दा धेरै लडाकु तत्कालीन वन राज्यमन्त्री अफताबको घरमा छिरेका थिए । उनीहरूले घरमा पेट्रोल र मट्टीतेल छर्किएर आगो लगाएका थिए । त्यसक्रममा अफताबको घरबाट सिक्सर पेस्तोल, दुईवटा कटुवा पेस्तोल, १२३ राउन्ड बाह्र बोर कार्तुस, ३५ तोला सुन, आधा किलो चाँदी र नगदसहित ४१ लाख ६५ हजार ८०० रुपैयाँ मूल्यबराबरको धनमाल लुटेर लगेका थिए । माओवादीले लगत्तै विज्ञप्ति नै निकालेर घटना स्वीकार गरेको थियो । तर, अफताबले उक्त घटनालाई आफ्ना विरोधी तह लगाउने हतियार बनाए । त्यसैअन्तर्गत कौशललाई दिनदहाडै प्रहरीको सामुन्नेबाट अपहरण गरी आफ्नै काका जर्नेलको घरमा ल्याउन लगाएका थिए ।

सिलिङमा हात बाध्दा पनि कौशल घटना स्वीकार गर्न मानिरहेका थिएनन् । अब महताब नेतृत्वको टोलीले कौशलको अनुहारमा बाल्टिनबाटै पानी छ्याप्दै बाँसको भाटाले ढाड, तिघ्रा र हातमा प्रहार गर्न थाले । पीडा खप्न नसकेर कौशल जोडले चिच्याए । तर, निर्दयी महताबको प्रहार रोकिएन । उनले युवाहरूलाई अझ तेज प्रहार गर्न भने । कुटाइले शिथिल बनिसकेका कौशलको टाउको आफ्नै कुममा लत्रिन पुग्यो । महताब फेरि कौशलको अगाडि पुगेर एक हातले च्यापु समात्दै चर्को स्वरमा बोले, ‘घटना स्वीकार गर्छस् कि तँलाई यहीँ सिध्याइदिऊँ ?’ तर, नगरेको काम स्विकार्न उनी तयार भएनन् । फेरि कौशलको अनुहारमा पानी छ्याप्न र भाटा प्रहार सुरु भयो । चोटले कौशल अर्धचेत बने । सोही मौकामा महताबले सँगै रहेका वकिललाई घटना सकारेको कपाली तमसुक तयार गर्न लगाए । निर्देशनअनुसार दुईवटा तमसुक तयार भयो । अर्धचेत कौशलको हात पालैपालो खोलियो । तमसुकमा औँठाछाप लगाए । त्यसबाहेक अन्य तीनवटा सादा कागजमा पनि कौशलको औँठाछाप लगाए । काम सकिएपछि उनलाई पुन: पूर्ववत अवस्थामै बाँधियो । 

कौशलले भने, ‘जर्नेलको घरभित्र पुर्‍याएपछि मेरो दुवै हात सिलिङतर्फ फर्काएर फरक–फरक दिशामा बाँधिदिए । मुखमा बाल्टीबाटै पानी छ्यापे, शरीरमा बाँसको भाटा बर्साए । पीडा खप्न नसकेर म चिच्याउन थालेँ । तर, उनीहरू रोकिएनन् । यही क्रममा महताब मेरो नजिक आएर आगजनी गरेको स्वीकार गर् भन्थ्यो । मैले नमानेपछि पुन: यातना दोहोर्‍याउँथे । म अर्धचेत भएपछि दुइटा कपाली तमसुक र खाली कागजमा हस्ताक्षर गर्न लगाए ।’

कार्यालयपरिसरबाटै हतियारसहितको समूहले कौशललाई अपहरण गरेपछि तत्कालीन जिविस सभापति कुर्मी उजुरी लिएर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुगे । कार्यालयमै थिए, जिप्रका रौतहटका तत्कालीन एसपी मदनबहादुर खड्का । उनलाई घटनाको बेलिबिस्तार लगाए । एसपी खड्काले कुर्मीका अगाडि केही सक्रिय भएझैँ गरे । हातमा रहेको सेटबाटै अपहरित कौशलको खोजी गर्न निर्देशन दिए । सभापति कुर्मीले अपहरणमा संलग्न महताबसहित युवाको नाम पनि एसपी खड्कालाई बताए । तर, उनले महताबलाई पक्राउ गर्न त्यति जागरुकता देखाएनन् । कौशल अपहरणको खबरले गौर मात्र होइन, सिंहदरबारसमेत तरंगित भइसकेको थियो । काठमाडौंका एफएम रेडियोमा कौशल अपहरणमा परेको खबर घन्किन थालिसकेको थियो । त्यसैले उनको खोजीका लागि प्रहरी संगठनमा मात्रै होइन, गृह मन्त्रालयसम्मै दबाब बढ्न थाल्यो । 

प्रहरी मुख्यालय र गृह मन्त्रालयबाट जिप्रका गौरमा तारन्तार फोन जान थाल्यो । तर, एसपी खड्काले आलटाल गरिरहे । किनभने अपहरणमा बहालवाला राज्यमन्त्री अफताब नै संलग्न रहेको सूचना उनले घटना भएलगत्तै थाहा पाइसकेका थिए । उनले सोचेका थिए– आवेग मत्थर भएपछि कौशललाई अफताबका मान्छेले सहजै मुक्त गर्नेछन् । यद्यपि, उनले दक्षिणतर्फको नेपाल–भारत सीमातर्फका नाकामा भने प्रहरी चेकजाँचलाई तेज बनाएका थिए । ताकि कौशललाई अपहरणकारीले सीमा कटाउन नसकून् । 

एसपी खड्काले अनुमान गरेजस्तो कौशल अपहरणमुक्त भएनन् । बिहान ११ बजे अपहरणमा परेका उनी साँझ ७:०० बजेसम्म पनि मुक्त भएनन् । गृह र प्रहरी मुख्यालयको दबाब अब धेरै समय झेल्न सक्ने अवस्था थिएन । उनले तुरुन्तै जिप्रकामा कार्यरत असई प्रेमबहादुर राउतसहितको टोली राजपुरतर्फ पठाए । खबर तुरुन्तै राजपुरस्थित अफताबको घरमा पुग्यो । त्यसपछि साँझ ७:३० बजेतिर कौशलको बन्धन फुकाएर घरबाहिर निकाले । कौशललाई शेख जर्नेल र महताबले नै घरबाहिर निकालिरहेका वेला असइ राउत घरको आँगनमा पुगे । अपहरित कौशलको प्रहरीले उद्धार गर्‍यो, सँगै रहेका जर्नेल र महताबले कुनै प्रतिक्रिया दिएनन् । 

यसरी साढे आठ घण्टापछि कौशल अपहरणमुक्त भए । कौशललाई प्रहरीले गाडीमा राखेर गौर पुर्‍यायो । अस्पतालमा घाउ चेकजाँच भयो । त्यसपछि उनले किटानी जाहेरीसहित घटनामा संलग्नविरुद्ध जाहेरी दिए । तर, प्रहरीले जाहेरी दर्ता गर्न मानेन । पछि कौशलले हुलाकमार्फत जोहरी दर्ता गराए । यद्यपि, प्रहरीले घटनामा संलग्न कसैलाई पनि पक्राउ गरेन । 

कौशलले घटना सम्झिए, ‘अपहरण परेको साढे आठ घण्टापछि साँझ मुक्त भएँ । प्रहरीकै गाडीमा गौर पुगेपछि शरीरको घाउचोट चेकजाँच भयो । मैले घटनामा संलग्नविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिन खोजेँ । तर, प्रहरीले जाहेरी दर्ता गरेन । पछि हुलाकबाट जाहेरी दर्ता भयो ।’ 

सरकारी गाडीको दुरुपयोग गरी राज्यमन्त्री अफताबकै संलग्नतामा भएको अपहरणमा प्रहरीले कुनै एक्सन नलिएपछि चौतर्फी विरोध सुरु भएको थियो । तत्कालीन संसद्मा एमाले प्रमुख प्रतिपक्षीको भूमिकामा थियो । कौशल एमालेकै टिकटबाट जिविस सदस्य भएका थिए । त्यसो हुँदा एमाले राज्यमन्त्री अफताबको राजीनामा र घटनाको छानबिनका लागि आयोग गठन गर्नुपर्ने माग गर्दै सदन अवरुद्धमा उत्रियो । तर, सत्तारूढ कांग्रेस टसकोमस भएन । बरु, कांग्रेसका सांसद राज्यमन्त्री अफताबको बचाउमा उत्रिए । उनीहरूले संसद्मा भने, ‘कौशल अपहरणमा अफताब निर्दोष छन् । छानबिनका लागि आयोग गठन र अफताबको राजनीनामा आवश्यक छैन । बरु, अफताबको घर आगजनी भएकाले उनी पीडित हुन्, कौशल होइनन् । अफताबको घरमा भएको आगजनीका सम्बन्धमा छानबिन गर्न आयोग गठन गर्नुपर्छ ।’ 

सत्तापक्ष र प्रतिपक्षको नोकझोकले संसद् अवरुद्ध बन्यो । अन्तत: अफताबको घरमा भएको आगजनी र कौशल अपहरण दुवै घटना छानबिनका लागि आयोग गठन गर्ने सहमतिमा सरकार र प्रतिपक्ष सहमत भए । तत्कालीन पुनरावेदन अदालत जनकपुरका न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीनसदस्यीय छानबिन आयोग गठन भयो । जसमा सदस्य रहेका थिए, अधिवक्ता शेरबहादुर केसी र अग्नि खरेल । करिब डेढ महिनाको छानबिनपछि आयोगले प्रतिवेदन सरकारलाई बुझायो । कौशलको अपहरण र कुटपिटमा अफताब स्वयं र निकटस्थ व्यक्तिहरूको संलग्नता देखिएको प्रतिवेदनमा स्पष्ट किटान थियो । प्रतिवेदनमा भनिएको छ, ‘छानबिन आयोगले मुद्दा फैसला गर्ने तवरबाट निष्कर्ष निकाल्न र ठहर गर्न नमिले पनि आयोगबाट हालसम्म संकलन गरिएका प्रमाण, कागजात र छानबिन तथा जाँचबुझबाट अपहरण तथा कुटपिटको घटना वारदातमा माननीय राज्यमन्त्री मोहम्मद अफताब आलमको आफ्नै र निकटस्थ व्यक्तिहरूको संलग्नता रहेको दृश्य पर्दामा आएको छ ।’

कौशल अपहरणको सम्बन्ध जोडिएको ०५६ को निर्वाचन

०५६ को आमनिर्वाचनमा रौतहट २ का उम्मेदवार थिए अफताब आलम । उनका चुनावी प्रतिस्पर्धी  थिए, एमालेका अब्दुल कलाम ‘आजाद’ । राजपुर क्षेत्र मुस्लिम समुदायको बाहुल्य भएकाले सोही समुदायका अफताब र अब्दुलबिच निकट प्रतिस्पर्धा थियो । जुन अफताबका निम्ति मुटुको खिल समान थियो । सोही चुनावमा अब्दुलका प्रतिनिधि थिए, जयप्रकाश कौशल । अफताबका लागि चुनाव जित्न बुथ कब्जा एक मात्र हतियार थियो । जसको खिलापमा थिए, कौशल । उनको बुताले भ्याएजतिको ठाउँमा बुथ कब्जा रोक्ने प्रयास गरे । तर, सकेनन् । अन्तत: चुनाव अफताबले नै जिते र वन राज्यमन्त्री बने ।

०५४ को स्थानीय निर्वाचन जितेका कौशल जिविस सदस्य थिए । सरकारले रौतहटको विकासका निम्ति प्रत्येक वर्ष ठुलो परिमाणमा बजेट विनियोजन गथ्र्यो । तर, अफताबकै निर्देशनमा दुरुपयोग हुन्थ्यो । केन्द्र तथा मन्त्रालयस्तरकै विकास योजनामा अनियमितता भएपछि जिविसले कौशलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले रौतहटका प्रत्येक विकास योजनाको छानबिन गर्‍यो र अनियमितता पुष्टि गर्दै प्रतिवेदन ११ चैत ०५६ मा जिविसमा पेस गर्‍यो । जुन आफताबलाई निको लागेको थिएन । 

अफताब कौशलप्रति पहिलेबाटै क्रुद्ध थिए । विकास योजनामा अनियमितता औँल्याउँदै पेस भएको प्रतिवेदनले उनको आवेगलाई अझ बढाइदियो । उनी कौशललाई कुनै हालतमा सिध्याउन चाहन्थे । जसका निम्ति उनले कौशलविरुद्ध आफ्ना कार्यकर्ता शम्भु पटेलको हत्या अभियोगसमेत लगाए । तर, सफल भइरहेका थिएनन् । अफताबका प्रियपात्र पटेलको ९ माघ ०५६ मा अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । यसै क्रममा १५ चैत ०५६ मा तत्कालीन माओवादीले उनको घरमा गरेको आगजनी र लुटपाट अफताबका लागि विरोधी तह लगाउने हतियार बन्यो । उनले अब्दुल र कौशललगायत सबै विरोधीलाई प्रतिवादी बनाउँदै प्रहरीमा जाहेरी दिए । अब उनलाई आवश्यक थियो प्रमाणको । कौशल अपहरणको प्रयोजन त्यसैका निम्ति थियो । 

कौशलले भने, ‘रौतहटमा केन्द्र तथा मन्त्रालयस्तरकै विकास योजनामा व्यापक अनियमितता थियो । जिविसले मेरै संयोजकत्वमा छानबिन समिति गठन गर्‍यो । हामीले प्रत्येक योजनाको मिहिन ढंगले अध्ययन गर्‍याैं । नभन्दै अनियमितता भएको देखियो । अध्ययन प्रतिवेदन जिविसमा बुझायौँ । जुन अफताबका लागि राम्रो थिएन । त्यही रिसइबी साध्न मेरो अपहरण गरेका थिए ।’ 

अफताबले निजी गाडी प्रयोग गर्दा फसिने डरले कौशलको अपहरणमा सरकारी गाडी प्रयोग गरेका थिए । सरकारी गाडीका लागि पर्सास्थित जिल्ला वन कार्यालयका प्रमुख, मोहनप्रसाद ढुंगेललाई भनेका थिए । राज्यमन्त्रीको आग्रहलाई टार्न नसकेपछि ढुंगेलले कार्यालयपरिसरमा रहेको ना.अ झ ४४१ नम्बरको गाडी चालक अम्बिकाप्रसाद कुर्मीकै साथ लगाएर राजपुर पठाइदिएका थिए । सोही गाडीमा गएका महताबसहितका हतियारधारी समूहले कौशललाई जिविस कार्यालयबाटै अपहरण गरेर राजपुरस्थित शेख जर्नेलको घर पुर्‍याएका थिए । 

जे छ, रिपोर्ट स्पष्ट छ : अग्नि खरेल, सदस्य, उच्चस्तरीय छानबिन आयोग

रौतहटमा जयप्रकाश कौशल अपहरणमा परे । त्यसको विरोधमा संसद् नै अवरुद्ध भयो । पछि  सरकारले तत्कालीन पुनरावेदन अदालतका न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा आयोग गठन गर्‍यो । त्यसमा म र शेरबहादुर केसी सदस्य थियौँ । हामीले घटनाको निष्पक्ष छानबिन गर्‍यौँ । प्रतिवेदन बुझायौँ । घटनाको सन्दर्भमा प्रतिवेदनमै क्लियर कट भनिएको छ । त्यसबाहेक अहिले केही नबोलौँ ।