१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १२ बुधबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १२ बुधबार o६:o८:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भिजिट भिसासम्बन्धी अध्ययन समिति गठन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १२ बुधबार o६:o८:oo

भिजिट भिसामा हुने मानव तस्करी रोक्न सरकारले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा मंगलबार सात सदस्यीय समिति गठन भएको हो ।

समितिका सदस्यहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरीशचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकाल र अध्यागमन विभागका निर्देशक प्रकाशचन्द्र अधिकारी तथा सदस्यसचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी रहेका छन् । 

भिजिट भिसामा खाडी तथा मलेसिया गएका हजारौँ नेपाली त्यहाँ अलपत्र परेपछि सरकारले ती देशमा भिजिट भिसामा जान कडाइ गरेको छ । सोमबारदेखि अत्यावश्यक अवस्थामा मात्र ती देशमा जान दिने निर्णय गृह मन्त्रालयले गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले यस समस्याबारे मंगलबार सरोकारवाला निकायसँग छलफल गरी समिति गठन गरेका हुन् । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, गृहसचिव टेकनारायण पाण्डेलगायत थिए । नेपाली युवाहरू भिजिट भिसा प्रयोग गरी दुबईलगायत खाडी मुलुकमा गई भोग्नुपरेका विभिन्न कठिनाइ र त्यसबारे देखिएका समस्या समाधान गर्न ठोस कार्यान्वयनको योजना पेस गर्ने गरी समिति गठन भएको हो । 

बैठकमा कार्गो र लगेजको एक्सरेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभागसमेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय गरेको छ । बैठकमा गृहमन्त्री खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताउँदै मुलुकको एउटा मात्र अन्तर्राष्ट्रिय इयरपोर्टलाई प्रविधियुक्त बनाउन सरकार लागिरहेको बताएका छन् ।