१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Sunday, 08 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ५ बुधबार २१:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इजरायलमा श्रमिक पठाउन सुरु, श्रममन्त्री श्रेष्ठद्वारा बिदाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार २१:३१:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएर पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाइ गरेका छन्। निजी क्षेत्र तथा बिचौलियारहित सरकार–सरकार ‘जिटुजी’ प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठसहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदूत हनान गोदर विमानस्थल पुगेका थिए। 

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरूलाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्जत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गरे। उनले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक-पटक प्रयास भए पनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताए। मन्त्री श्रेष्ठले इजरायल नेपालीहरूका लागि आकर्षक गन्तव्य मुलुक बन्ने विश्वास व्यक्त गरे। 

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ। वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मंसिरमा छ सय ७५ श्रमिकको नामवली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामवली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।

इजरायल जाने नेपालीले मासिक करिब २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्। मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आएका छन्।