१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
एजेन्सी
२०७७ पौष २५ शनिबार १३:२९:००
Read Time : > 1 मिनेट
फिचर

कोरोना संक्रमण भएका वेला भेटेको व्यक्तिबारे जानकारी लुकाउने महिलालाई जेल सजाय

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ पौष २५ शनिबार १३:२९:००

सिंगापुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको समय आफूले भेटेको एकजना व्यक्तिबारे जानकारी लुकाएकी एक महिलालाई जेल सजाय सुनाइएको छ । सिंगापुरका सञ्चारमाध्यमहरूले जनाएअनुसार ६५ वर्षीया ओबी हिवकलाई जेल सजाय सुनाइएको हो ।

उनले कोरोना संक्रमित भएको समयमा भेटेको एकजना केटा साथीबारेको जानकारी लुकाएकी थिइन् । सिंगापुरका अधिकारीहरूले सिसिटिभी फुटेज र अरू माध्यममार्फत ती महिलाले केटा साथीलाई भेटेको सूचना लुकाएको पुष्टि गरेका हुन् । 

ती महिलाले आफ्नो परिवारले पुरुष साथीसँग भेटेको थाहा पाए गतल सोच्ने डरले जानकारी लुकाएको बताएकी छिन् । सिंगापुरले संक्रमण फैलन नदिन कठिन प्रयास गरिरहेको छ । त्यसमा उसले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको निगरानीलाई महŒवका साथ लिने गरेको छ । सरकारको यो प्रयासमा असहयोग गर्ने नागरिकमाथि सिंगापुरले जेल सजायसम्म दिने निर्णय गरेको छ । 

सरकारको प्रयासका कारण सिंगापुरमा भाइरस संक्रमण ठूलो मात्रामा फैलन पाएको छैन । अहिलेसम्म त्यहाँ कोरोना भाइरस संक्रमणबाट २९ जनाको मात्रै मृत्यु भएको छ । संक्रमितको संख्या पनि तुलनात्मक रूपमा कम देखिएको छ ।

ती महिलालाई गत फेब्रुअरीमै संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुभन्दा पहिले महिलाले ७२ वर्षीय लिम कियङ होङ नाम गरेका व्यक्तिलाई पाँचपटक भेटेकी थिइन् । 

सरकारी अधिकारीहरूले ती महिला आफ्नो श्रीमान् ब्याडमिन्टन खेल्न बाहिर गएको समय पुरुषसँग भेट्न जाने गरेको दाबी गरेका छन् । सिंगापुरको स्ट्रेस टाइम्सले उल्लेख गरेअनुसार ती महिलाले श्रीमान् बाहिर भएको समयमा उक्त पुरुषसँग बिहान–बेलुकाको खाना वा खाजा खाने समयमा भेटेको जनाएका छन् । ‘उनी आफ्नो परिवारले ती केटा साथीसँग नियमित भेटिरहेकोबारे जानकारी नपाओस् भन्ने चाहन्थिन् । परिवारले उनीहरूको सम्बन्धबारे गलत नसोचून् भन्ने उद्देश्यले भेटघाट भएको विषय लुकाएकी थिइन्,’ सरकारी अधिकारीहरूले अदालतमा पेस गरेको पत्रमा भनेका छन् ।

संक्रमणका कारण ती महिलालाई अस्पतालमा भर्ना गर्नुपरेको थियो । त्यसपछि महिलाले फोनमार्फत उनका केटा साथीलाई पनि आफूहरूको भेटबारे बाहिर खुलासा नगर्न भनेकी थिइन् । लिमलाई पनि मार्चमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलाको वकिलले भने उनले अरु कसैलाई संक्रमण नसारेको दाबी गरेका छन् ।

सिंगापुरका अधिकारीहरूले पार्किङ रेकर्ड, क्रेडिट कार्ड, फोन रेकर्ड र सिसिटिभी फुटेजलगायत तथ्यको अध्ययन गरी उनीहरूबीचको भेटको पुष्टि गरेका हुन् । सिंगापुरको अदालतले महिलाले अन्य व्यक्तिलाई यो संकटबाट बचाउनुपर्नेमा जानकारी लुकाएर धोका दिएको उल्लेख गरेको छ । अदालतले संकटको समयमा नागरिकको यस्तो गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गरेको छ ।