१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २७ शनिबार
  • Friday, 23 August, 2024
२o७७ भदौ २७ शनिबार १३:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाउँपालिका अध्यक्षलाई धम्की दिने भारतीय ठेकेदार पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २७ शनिबार १३:२o:oo

सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक भारतीय ठेकेदार पक्राउ परेका छन् । 

शुक्रबार राति भारतीय ठेकेदार बब्लु भगतले अन्सारीलाई गोली हानी ज्यान मार्ने धम्की दिएका थिए । नेपालमै रहेका भगतलाई धम्की दिएलगत्तै प्रहरीले पक्राउ गरेको हो । 

अध्यक्ष अन्सारीका अनुसार ती ठेकेदारले फोनमा ज्यान मार्ने धम्की  दिएका थिए । राति धम्की आएपछि अन्सारीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले राति नै कोसी गाउँपालिका– ८ स्थित भन्टाबारीबाट भगतलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । 

भगतले कोसी प्रोजेक्टको काम गर्दै आएका थिए । उनले नेपालतर्फ भारतका विभिन्न ठेक्कापट्टा हेर्ने गरेको बताइएको छ ।

उनी लामो समयदेखि नेपालमा ठेक्कापट्टा गरेर बस्दै आएको खुलेको छ । उनको ससुराली कोसी गाउँपालिकामा भएकाले एक पारिवारिक विवादमा अध्यक्ष अन्सारीले हस्तक्षेप गरेको भगतले आरोप लगाउँदै आएका थिए । सोही विषयलाई लिएर धम्की दिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

भगत पक्राउ पर्दा अत्यधिक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको एसपी थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी थापाले बताए ।