१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
तिवारी यादव वीरगन्ज
२o८१ भदौ ७ शुक्रबार १७:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्साका मिटरब्याजपीडितले बुझाए गृहमन्त्रीलाई ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १७:४४:oo

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन पर्साले अनुचित लेनदेन (मिटरब्याज)बाट समस्यामा परेका गरिब किसानको समस्या समाधानको माग राख्दै पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।

शुक्रबार वीरगन्जको घण्टाघर चोकबाट निस्केर मिटरब्याजविरुद्ध किसान–मजदुरहरूले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाएका हुन्।

आन्दोलनका जिल्ला अध्यक्ष कृष्णराज ठाकुर नेतृत्वको टोलीले सातबुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको आन्दोलनको वीरगन्ज महानगर अध्यक्ष शम्भुप्रसाद यादवले जानकारी दिए।

मिटरब्याजी र पीडितबीच कुनै छलफल नै नगरी बाहिरी व्यक्तिको प्रभावमा लगत कट्टा भइरहेको भन्दै उनीहरूले यसबारे पुनः छलफल हुनुपर्ने माग गरेका छन्।

एउटा दर्ता नम्बर भएको एउटै फाइलमा धेरै मिटरब्याजीलाई विपक्षी बनाई जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरे पनि एउटा मात्र छलफल गरी बाँकी सम्पूर्ण मुद्दाको लगत कट्टा गरिएको पीडितहरूले बताएका छन्।

यस्तै, जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका र फैसला हुन बाँकी मुद्दाको फाइल खोली वादी र प्रतिवादीलाई बोलाई छलफलमा ल्याउन उनीहरूले माग गरेका छन्।

कुनैकुनै मुद्दामा ऋणीसँग घरजमिन आफ्नो नाममा गराएर ऋण दिए पनि साहुले त्यसका बाबजुद ऋणीसँग कपाली तमसुक गरेको र खाली चेक पनि लिएको ज्ञापनपत्रमा उल्लेख छ। साहुको विरुद्ध प्रमाण हुँदा पनि कारबाही नभएकोमा पीडितहरूले असन्तुष्टि जनाएका छन्।

विगत लामो समयदेखि गरिब मजदुरहरू मिटरब्याजका कारण पीडित बनेको, दृष्टिबन्धकको माध्यमबाट सोझा गरिब र निमुखाहरू पीडित बन्दै गएकाले यसमा गम्भीर बन्न सरकारलाई आग्रह गरिएको छ।