१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
फाइल तस्बिर
२o८१ भदौ ७ शुक्रबार १८:१o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रीय समितिमा आरजुको ब्रिफिङ- भारत भ्रमण सफल भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १८:१o:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छिन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा. राणाले शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा भदौ २ देखि ६ गतेसम्मको आफ्नो भारत भ्रमण सफल भएको बताएकी हुन्। नेपाल र भारतबीचको आपसी सदभाव अभिवृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो। 

परराष्ट्रमन्त्री डा. राणा भारतको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएकी हुन्। कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकबिच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको बताइन्।

उनले नेपालमा ठुला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको बैठकमा सुनाइन्। 

मन्त्री डा. राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस जयशंकरसँगको भेटवार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रवर्द्धन गर्न मार्गदर्शन गरेको बताइन्। 

भ्रमणका क्रममा गत सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा आपसी हित तथा विद्यमान सहकार्यलाई थप विस्तार गर्ने विषयमा विचार आदान–प्रदान भएको उनले जानकारी दिइन्। भेटमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणापत्र हस्तान्तरण गरेको र प्रधानमन्त्री मोदीले उपयुक्त समयमा आफू नेपाल आउने बताएको जानकारी मन्त्री डा. राणाले दिइन्।

सोही दिन विदेशमन्त्री एस जयशंकरसँग भएको भेटवार्तामा आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधारलगायतका विषयमा कुराकानी भएको उनले जानकारी दिइन्।

भ्रमणका क्रममा उठाइएका नेपालको चासो र हितका विषयको कार्यान्वयन गरी पूर्णता दिन संयुक्त संयन्त्र एवं अन्य निकायहरूद्वारा प्रक्रिया छिट्टै अगाडि बढाइने पनि उनले बताइन्।