१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ५ बुधबार
  • Thursday, 12 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ भदौ ५ बुधबार १o:४९:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

परराष्ट्रमन्त्री आरजुलाई दिल्लीले दिने महत्वबारे प्रधानमन्त्रीलाई पनि थिएन आकलन

काटेका थिए भ्रमण दलका तीन सदस्यको नाम

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ ५ बुधबार १o:४९:oo

परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणलाई दिल्लीले दिने महत्वबारे प्रधानमन्त्री केपी ओलीले पनि सामान्य आकलनसमेत गरेका थिएनन् । भ्रमण औपचारिक भए पनि परराष्ट्रमन्त्री स्वास्थ्य उपचारमै सीमित हुने उनको बुझाइ थियो ।

त्यसैले मन्त्री राणाले आफ्नो भ्रमण टोलीमा समावेश गरेका केही कर्मचारीको नामसमेत प्रधानमन्त्री ओलीले अन्तिममा काटेका थिए । स्रोतका अनुसार अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री राणाको भ्रमणसम्बन्धी एजेन्डामा छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीन कर्मचारीको नाम काटेका थिए ।

परराष्ट्रमन्त्री राणाले आफूसहित ६ जनाको प्रतिनिधिमण्डल प्रस्ताव गरेकी थिइन् । तर, ओलीले दुईजना मात्रै जाँदा पुग्ने बताएका थिए । ‘तपाईं स्वास्थ्योपचारका लागि जाँदै हुनुहुन्छ । विदेशमन्त्रीसँग औपचारिकताका लागि भेट होला, एकजना डिभिजन प्रमुख लैजानुस्, बाँकी दिल्लीमा रहेका कर्मचारीलाई सहभागी गराउँदा भइहाल्छ,’ ओलीले बैठकमा भनेको उद्धृत गर्दै एक मन्त्रीले भने, ‘धेरै प्रतिनिधिमण्डल लिएर जानु मितव्ययिता र तपाईंको भ्रमणको उद्देश्यका सन्दर्भमा पनि उपयुक्त हुँदैन ।’ परराष्ट्रको दक्षिण एसिया डिभिजनका दुई र मन्त्री राणाका निजी सचिवालयका एक कर्मचारीको नाम प्रधानमन्त्री ओलीले काटेका थिए । 

दिल्लीको म्याक्स अस्पतालमा सुरु भयो परराष्ट्रमन्त्री राणाको उपचार
परराष्ट्रमन्त्री राणाको स्वास्थ्योपचार दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा मंगलबार सुरु भएको छ । यसअघि उनको १४ चैत ०८० मा म्याक्स अस्पतालमा शल्यक्रिया भएको थियो । ‘उपचार सुरु भएको छ,’ कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापाले नयाँ पत्रिकासँग भने । स्वास्थ्योपचारका लागि पायक पर्ने गरी परराष्ट्रमन्त्रीलाई भारत सरकारले होटेल सेराटनमा बस्ने व्यवस्था मिलाएको छ ।

के हो दिल्लीको सन्देश ?

डा. निहार नायक, नेपाल–भारत सम्बन्धका जानकार
परराष्ट्रमन्त्री राणाले नेपालको सबैभन्दा पुरानो पार्टी कांग्रेस र बलियो सत्तागठबन्धनको परराष्ट्रमन्त्रीका रूपमा दिल्लीमा उच्च महत्व पाउनुभएको हो । भारतले सीमा विवादका सन्दर्भमा अडान कायम राख्दै नेपाललाई आर्थिक र प्राविधिक सहयोग दिने, ऊर्जा सहकार्य बढाउने सन्देश दिएको छ । मोदीसँग बैठकमा रहेका व्यक्तिहरू प्रमुख सरोकारवाला हुनुहुन्छ र उनीहरूलाई साथमा राखेर नेपालबारे ताजा जानकारी लिनुभएको अर्थमा यसलाई बुझ्नुपर्छ । 

डा. दिनेश भट्टराई, पूर्वराजदूत
परराष्ट्रमन्त्रीलाई भारत सरकारले अभूतपूर्व महत्व दिएको छ । यो महत्वको परिणाम दुई देशको सम्बन्धमा कसरी मुखरित हुन्छ भन्ने कुरा भविष्यले देखाउनेछ ।

रणजित राय, पूर्वराजदूत
परराष्ट्रमन्त्रीको भ्रमण अन्यन्तै सफल रह्यो । उहाँले उच्च नेतृत्वसँग भेट्नुभयो । भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ र आर्थिक साझेदारीलाई थप सुदृढ गर्न पूर्णतया केन्द्रित छ भन्ने सन्देश परराष्ट्रमन्त्रीमार्फत दिएको छ । भारतमा दश वर्षमा दश हजार मेगावाट ऊर्जा व्यापार गर्ने लक्ष्यतर्फ नेपाल अघि बढिरहेको छ र समयभन्दा पहिले नै लक्ष्य पूरा हुन्छजस्तो मलाई लागेको छ । यसबाहेक युवाहरूलाई आकर्षित गर्ने क्रिकेट कूटनीति पनि अघि बढेको छ । यो अर्को सकारात्मक पाटो हो । 

अरुणकुमार सुवेदी, परराष्ट्र मामिला जानकार
दक्षिण एसियाली मुलुकमा आएको पछिल्लो राजनीतिक हलचलले भारतलाई नेपालसँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने भूराजनीतिक बाध्यता छ । नेपालको बलियो सरकारका परराष्ट्रमन्त्री एवं पटक–पटक प्रथम महिला भइसकेको व्यक्तित्वका रूपमा परराष्ट्रमन्त्रीले उच्च महत्व पाउनुभएको छ । नेपालको स्थिर सरकारसँग सहकार्य गर्ने भारतको सन्देशका रूपमा यसलाई बुझ्नुपर्छ ।

रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
धारिलो हुँदै गएको दक्षिण एसियाको आन्तरिक द्वन्द्वमा बाह्य शक्तिको सामरिक रुचि मिसिन थालेर जटिलता बढ्न थालेको अवस्थामा नेपाल–भारत सम्बन्ध व्यक्ति वा दलमा होइन भविष्यमुखी हुनुपर्छ ।

विनोज बस्न्यात, पूर्वउपरथी एवं सुरक्षाविद्
भारतको छिमेक प्रथम नीतिमा नेपालको हित केन्द्रित गर्ने सुरुवात परराष्ट्रमन्त्रीबाट भएको छ । यस आधारमा अब नेपालले दीर्घकालीन राष्ट्रिय हितका लागि रणनीतिक कदम उठाउनुपर्छ ।

नविता श्रीकान्त, विश्लेषक
कांग्रेस–एमाले गठबन्धन सरकारले अघि सारेको संविधान संशोधन र राजनीतिक स्थायित्वको मार्गचित्रलाई दिल्लीले आत्मसात् गरेको छ । दिल्लीले नेपालसँग साझेदारीको महत्वलाई थप स्थापित गरेको छ ।