Skip This
राष्ट्रपतीय बहसमा कमजोर देखिए ट्रम्प
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
पूजा पिल्लाई
२o८१ भदौ २७ बिहीबार o८:o७:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रपतीय बहसमा कमजोर देखिए ट्रम्प

Read Time : > 2 मिनेट
पूजा पिल्लाई
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार o८:o७:oo

योजनाभन्दा व्यक्तित्वमा बहस केन्द्रित भए पनि ट्रम्पको तुलनामा ह्यारिसलाई बढी व्यावहारिक र परिपक्व छनोटका रूपमा हेरिने सम्भावना छ

अमेरिकी उपराष्ट्रपति एवं सन् २०२४ का लागि अमेरिकी राष्ट्रपति पदकी प्रत्यासी कमला ह्यारिसको चुनावी अभियानमा सबैभन्दा ठुलो लाभ भनेको उनी श्वेत पुरुष नहुनु हो । अर्थात्, न उनी जो बाइडेन हुन्, न डोनाल्ड ट्रम्प । यो भिन्नता १० सेप्टेम्बरमा प्रत्यक्ष बहसको समयमा स्पष्ट देखिएको थियो । स्मरण रहोस्, उनले ट्रम्पविरुद्ध पहिलोपटक खुला प्रत्यक्ष बहस गरेकी हुन् । ह्यारिसले बहस कक्षमा आफ्ना प्रतिद्वन्द्वी भएको ठाउँमा पुगेर हात मिलाउँदै परिचय दिएर आफ्नो अद्वितीय पहिचानको संकेत गरेकी थिइन् । सुरुमा ह्यारिस थोरै हतास देखिए पनि बहसका क्रममा उनी शान्त र विश्वस्त देखिन्थिन् । डेमोक्य्राट समर्थकमाझ यसअघि बाइडेन र ट्रम्पबिचको प्रत्यक्ष बहसमा बाइडेन तल परेको अवस्था फेरि दोहरिन्छ कि भन्ने भय थियो । तर, ह्यारिसको वाक्पटुताले समर्थकलाई आश्वस्त बनाएको छ । 

अघिल्लो बहसमा ट्रम्प स्पष्ट रूपमा बलिया देखिएका थिए, किनभने बाइडेन तर्क र प्रतितर्क दिँदा अत्तालिएका थिए, अर्थात् बाइडेन कमजोर देखिएका थिए । तर, हालको बहसमा पूर्वराष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीसँग माथ खाएका छन् । प्रतिद्वन्द्वी ह्यारिसले ट्रम्पको र्‍यालीमा देखिएको सानो भिड, विश्व नेतामाझ ट्रम्पको अलोकप्रियता र कानुनी समस्याजस्ता कमजोरी सतहमा ल्याएर ट्रम्पका कमजोरी उजागर गर्न कुनै कसर बाँकी राखिनन् । 

र, योजनाअनुरूप बहसका क्रममा ट्रम्प नियन्त्रणबाहिर पुग्ने गरी भड्केका थिए । ह्यारिसका उपराष्ट्रपतीय उम्मेदवार टिम वाल्जले प्रसूति भइसकेपछि शिशु फाल्न अनुमति दिएको, स्प्रिंगफिल्ड ओहायोमा हाइटीका आप्रवासीले कुकुर–बिरालाजस्ता पाल्तु जनावर खाने गरेको अभिव्यक्ति दिएर ट्रम्प आफ्नो विवेक गुमाएको अवस्थामा पुगेका थिए । यसअघि हाइटीका आप्रवासीले पाल्तु जनावर खाने भन्ने षड्यन्त्रको सिद्धान्त ट्रम्पका उपराष्ट्रपतीय उम्मेदवारले फैलाउँदै आएका थिए । आफू र रिपब्लिकन उम्मेदवारबिचको भिन्नता प्रदर्शन गर्न ह्यारिसले प्रतिद्वन्द्वीलाई अतिरञ्जित रूपले चाखलाग्दो गरी हेर्नु नै पर्याप्त थियो । यो हेराइ अहिले सामाजिक सञ्जालमा मिम बनेर भाइरल भइरहेको छ । एक सय पाँच मिनेटको बहसमा ह्यारिसले बारम्बार ‘पृष्ठ बदल्ने’ र उज्यालो भविष्यलाई इंगित गर्ने आफ्नो अभियानमा जोड दिएकी थिइन् । र, बहसमा उनको तर्क स्पष्ट थियो । उनले ट्रम्प फेरि राष्ट्रपति हुँदा उनको विगत पुनरावृत्ति हुने अर्थात् ठुला प्रतिज्ञा गर्ने, तर काम नगर्ने, झुट र द्वेषी षड्यन्त्रका सिद्धान्त फैलाउने काम दोहोरिने बताएकी थिइन् ।

ह्यारिसलाई बाइडेनको विरासतमा जोड्ने ट्रम्पको योजनाले काम गर्न सकेन । ह्यारिसले ट्रम्पलाई ‘तपाईं मविरुद्ध प्रतिस्पर्धा गर्दै हुनुहुन्छ न कि जो बाइडेनसँग’ भनेर जानकारी गराएकी थिइन् र पछि ‘म स्पष्ट रूपमा जो बाइडेन होइन, र डोनाल्ड ट्रम्प त निश्चय नै होइन’ भनेकी थिइन् । यो सबै भन्दै गर्दा उनले अमेरिकी भविष्यका लागि आफ्नो खाका प्रस्तुत गरेकी थिइन् । र, सँगसँगै उनले चतुर्‍याइँपूर्वक अलोकप्रिय राष्ट्रपति बाइडेनबाट आफूलाई अलग राखिन्, तर उनको आलोचना भने गरिनन् ।

ह्यारिस नोभेम्बरको चुनावमा विजयी भइन् भने विजय उनका ‘योजना’ले भने हुनेछैन । जब कार्यक्रमका मध्यस्थकर्ताले पेन्सिलभेनियाजस्ता मतदानमा अस्थिर मत झर्ने राज्यमा चलिरहेको गाजामा इजरायल युद्ध, जलवायु परिवर्तनजस्ता मुख्य मुद्दाबारे कडा प्रश्न गर्दा उनका प्रतिक्रिया प्रायः अस्पष्ट, हिचकिचाहटपूर्ण वा ट्रम्पलाई आक्रमण गरेर विषयान्तर गर्ने खालका थिए । महिलाको शारीरिक स्वायत्तताबारे जोसका साथ अभिव्यक्ति दिने ह्यारिसले गर्भपतनमा रोक लगाउने मुद्दासँग जोडिएका प्रश्नसँग संघर्ष गर्नुपरेको थियो । अर्कातर्फ ट्रम्पले यस मामिलामा ‘राज्यअनुसार समस्या समाधान’ गर्ने जवाफ दिएका थिए । जब ह्यारिसलाई गर्भपतनका लागि तोकिएको सीमाअवधिलाई समर्थन गर्छिन् वा गर्दिनन् भनेर प्रश्न गरिँदा उनले स्पष्ट प्रतिक्रिया दिन सकेकी थिइनन् । स्पष्टताको यो अभावलाई समर्थकले विशेषतः महिला मतदाताले नजरअन्दाज गर्नेछैनन् ।

भावी अमेरिकी राष्ट्रपतिले मुद्रास्फीति, रोजगारी र विश्वमा अमेरिकाको स्थानबारे ज्वलन्त प्रश्नलाई कसरी सम्बोधन गर्न सक्छन् भनेर बुझ्ने अवसरका रूपमा हेरिएको १० सेप्टेम्बरको बहस निराशाजनक रह्यो । वास्तवमा बहस विचारभन्दा व्यक्तित्व र विस्तृत योजनाभन्दा भाष्यमा बढी केन्द्रित थियो । किफायती हेरचाह ऐन खारेज गर्ने प्रस्तावबारे सोध्दा ट्रम्पले ‘मसँग योजनाको अवधारणा छ’ भन्ने अविस्मरणीय उद्धरण प्रस्तुत गरेका थिए । ह्यारिससँग छलफल गरिएका मुद्दाले कति नयाँ विषय सतहमा ल्याएको थियो भन्नेमा अस्पष्टता थियो । तर, बहस ट्रम्पको तुलनामा ह्यारिसलाई बढी व्यावहारिक र परिपक्व छनोटका रूपमा हेर्नका लागि पर्याप्त हुन सक्छ । स्मरण रहोस्, ट्रम्पले आफ्नो प्रतिद्वन्द्वीलाई ‘जेलमा गैरकानुनी विदेशी आप्रवासीलाई ट्रान्सजेन्डर बनाउने शल्यक्रिया’ गरेको भन्ने उदेकलाग्दा आरोपसमेत लगाएका थिए ।

सन् २०२४ मा थप आशावादी योजनाले जित्न सक्छ र आप्रवासीको मिश्रित जातिकी छोरीका रूपमा महिलालाई अपमान गर्ने र नश्लीय विभाजनको दोहन गर्नका लागि परिचित एक शक्तिशाली श्वेत अरबपतिलाई चुनौती दिने योजना बढी गम्भीर र आशावादी हुन सक्छ भन्नेमा शंका छैन । सम्भवतः यही योजनाले कमला ह्यारिसलाई ह्वाइट हाउसमा विजयी बनाउन मद्दत गर्न सक्छ ।

(पिल्लाई द इन्डियन एक्सप्रेसकी प्रमुख संवाददाता हुन्) द इन्डियन एक्सप्रेसबाट