१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ५ बुधबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ५ बुधबार o६:३३:oo
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ५ बुधबार o६:३३:oo

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए ।

औपचारिक भ्रमण भए पनि स्वास्थ्य उपचारलाई केन्द्रमा राखेर भारत गएकी परराष्ट्रमन्त्री आरजु राणालाई दिल्लीले दिने महत्वबारे सरकारले आकलनसमेत गरेको थिएन, त्यही भएर प्रधानमन्त्री केपी ओलीले भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए

दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि पहिलोपटक भारतीय नेतृत्वसँग उच्चस्तरमा वार्ता भएको छ । तर, जुन स्तरको महत्व भारतले परराष्ट्रमन्त्री राणालाई प्रदान गर्‍यो, नेपालको तयारी र उपस्थिति भने कमजोर देखियो । 

परराष्ट्रमन्त्री राणाले समकक्षी डा. एस जयशंकरसँग द्धिपक्षीय वार्ता र प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरिन् । मोदीले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारदेखि विदेशमन्त्री र नेपालका लागि राजदूतसमेत राखेको भेटवार्तामा परराष्ट्रमन्त्री राणासँग दुई सहसचिव र एक उपसचिवस्तरका अधिकारी मात्रै सहभागी भए । कूटनीतिक मामलाका जानकारहरू यसो हुनुले नेपालको आकलन र उपस्थिति कमजोर देखिएको बताउँछन् । भ्रमणमा परिस्थितिको आकलन गरेर निर्णय लिनुपर्नेमा सरकार चुकेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । 

बंगलादेशमा देखिएको राजनीतिक तनावपछि छिमेक नीतिलाई लिएर भारतमा प्रधानमन्त्री मोदीको आलोचना भएको छ । यही वेला परराष्ट्रमन्त्री राणालाई दिल्लीमा उच्च सम्मानको अवसर मिलेको हो । नेपाल सरकारले सुरुदेखि नै कमजोर आकलन गरेको भ्रमण अनपेक्षित रूपमा उच्चस्तरीय त भयो नै, तर कमजोर तयारी र उपस्थितिले एजेन्डा उठानमा प्रभाव पर्‍यो । तर, द्विपक्षीय संयन्त्रमार्फत संवाद गर्न भने दुवै पक्ष सहमत भएका छन् । 

परराष्ट्रमन्त्री राणा आफैँले पनि नेपालमा पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत, पूर्वपरराष्ट्रसचिवसँग भेटेर सुझाव लिने चलन दोहोर्‍याइनन् । भारतीय विदेशसचिवले निमन्त्रणा दिएको एक सातामै उनी दिल्ली भ्रमणमा गएकी हुन् । नेपालबाट भारत गएका परराष्ट्रमन्त्रीमध्ये यो स्तरको महत्व पाउनेमा कमल थापापछि उनी दोस्रो हुन् ।

मोदी–राणा भेटवार्ताको तस्बिर : भारतबाट ‘हेभिवेट’ राजनीतिज्ञ, नेपालबाट ‘जुनियर’ अधिकारी

परराष्ट्रमन्त्री आरजु राणाले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निवासमा भेटेकी थिइन् । शिष्टाचार भनिए पनि भेट शिष्टाचारमा मात्रै सीमित थिएन । किनभने मोदीसँगै भारतीय पक्षबाट उच्च तहका पदाधिकारी सहभागी थिए । प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस जयशंकर, विदेशसचिव विक्रम मिश्री, मोदीका निजी सचिव पिके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव उपस्थित थिए । तर, परराष्ट्रमन्त्री राणासँग ‘जुनियर’ अधिकारी मात्रै थिए । नेपालबाट सहसचिवस्तरका दुईजना (दक्षिण एसिया महाशाखाका प्रमख भृगु ढुंगाना र कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा) र उपसचिवस्तरकी नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिलर दुरपदा सापकोटा सहभागी थिए । परराष्ट्रमन्त्री राणाको भ्रमणलाई दिल्लीले यति महत्व दिने नेपाली पक्षले अपेक्षा नै गरेको थिएन । जसका कारण परराष्ट्रसचिवको समेत उपस्थिति हुन सकेन । स्रोतका अनुसार परराष्ट्रमन्त्री राणा स्वयं पनि दिल्ली उड्नुअघिसम्म उच्चस्तरीय भेटवार्ताबारे ढुक्क थिइनन् । समय तय भएपछि भारतले भने नेपालका लागि राजदूत श्रीवास्तवलाई दिल्ली बोलायो ।

दिल्लीले दिने महत्वबारे प्रधानमन्त्रीलाई थिएन आकलन, काटेका थिए भ्रमण दलका तीन सदस्यको नाम
परराष्ट्रमन्त्री आरजु राणाको भारत भ्रमणलाई दिल्लीले दिने महत्वबारे प्रधानमन्त्री केपी ओलीले पनि सामान्य आकलनसमेत गरेका थिएनन् । भ्रमण औपचारिक भए पनि परराष्ट्रमन्त्री स्वास्थ्य उपचारमै सीमित हुने उनको बुझाइ थियो । त्यसैले मन्त्री राणाले आफ्नो भ्रमण टोलीमा समावेश गरेका केही कर्मचारीको नामसमेत प्रधानमन्त्री ओलीले अन्तिममा काटेका थिए । स्रोतका अनुसार अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री राणाको भ्रमणसम्बन्धी एजेन्डामा छलफलका क्रममा प्रधानमन्त्री ओलीले तीन कर्मचारीको नाम काटेका थिए । परराष्ट्रमन्त्री राणाले आफूसहित ६ जनाको प्रतिनिधिमण्डल प्रस्ताव गरेकी थिइन् । तर, ओलीले दुईजना मात्रै जाँदा पुग्ने बताएका थिए । ‘तपाईं स्वास्थ्योपचारका लागि जाँदै हुनुहुन्छ । विदेशमन्त्रीसँग औपचारिकताका लागि भेट होला, एकजना डिभिजन प्रमुख लैजानुस्, बाँकी दिल्लीमा रहेका कर्मचारीलाई सहभागी गराउँदा भइहाल्छ,’ ओलीले बैठकमा भनेको उद्धृत गर्दै एक मन्त्रीले भने, ‘धेरै प्रतिनिधिमण्डल लिएर जानु मितव्ययिता र तपाईंको भ्रमणको उद्देश्यका सन्दर्भमा पनि उपयुक्त हुँदैन ।’ परराष्ट्रको दक्षिण एसिया डिभिजनका दुई र मन्त्री राणाका निजी सचिवालयका एक कर्मचारीको नाम प्रधानमन्त्री ओलीले काटेका थिए । 

भ्रमणबारे विज्ञहरूका टिप्पणी

परराष्ट्रमन्त्री राणाको भ्रमणलाई लिएर नेपाल–भारतका विज्ञहरूका बहुआयमिक टिप्पणी छन् । उनीहरू नेपाल–भारत सम्बन्ध व्यक्ति वा दलमा होइन भविष्यमुखी हुनुपर्ने बताउँछन् । ‘धारिलो हुँदै गएको दक्षिण एसियाको आन्तरिक द्वन्द्वमा बाह्य शक्तिको सामरिक रुचि मिसिन थालेर जटिलता बढ्न थालेको अवस्थामा नेपाल–भारत सम्बन्ध व्यक्ति वा दलमा होइन भविष्यमुखी हुनुपर्छ,’ पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको राय छ ।

नेपाल–भारत सम्बन्धका जानकार डा. निहार नायकले परराष्ट्रमन्त्रीका रूपमा दिल्लीमा उच्च महत्व पाएको र नेपालबारे मोदीले ताजा जानकारी लिएको बताए । ‘परराष्ट्रमन्त्री राणाले नेपालको सबैभन्दा पुरानो पार्टी कांग्रेस र बलियो सत्तागठबन्धनको परराष्ट्रमन्त्रीका रूपमा दिल्लीमा उच्च महत्व पाउनुभएको हो । भारतले सीमा विवादका सन्दर्भमा अडान कायम राख्दै नेपाललाई आर्थिक र प्राविधिक सहयोग दिने, ऊर्जा सहकार्य बढाउने सन्देश दिएको छ,’ उनले भने, ‘मोदीसँग बैठकमा रहेका व्यक्तिहरू प्रमुख सरोकारवाला हुनुहुन्छ र उनीहरूलाई साथमा राखेर नेपालबारे ताजा जानकारी लिनुभएको अर्थमा यसलाई बुझ्नुपर्छ ।’ 

पूर्वराजदूत डा. दिनेश भट्टराईले राणालाई भारतले अभूतपूर्व महत्व दिएको प्रतिक्रिया दिए । ‘परराष्ट्रमन्त्रीलाई भारत सरकारले अभूतपूर्व महत्व दिएको छ । यो महत्वको परिणाम दुई देशको सम्बन्धमा कसरी मुखरित हुन्छ भन्ने कुरा भविष्यले देखाउनेछ,’ उनले भने । 

नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ र आर्थिक साझेदारीलाई थप सुदृढ गर्न पूर्णतया केन्द्रित छ भन्ने सन्देश परराष्ट्रमन्त्रीमार्फत दिएको बताए । ‘परराष्ट्रमन्त्रीको भ्रमण अन्यन्तै सफल रह्यो । उहाँले उच्च नेतृत्वसँग भेट्नुभयो । भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ र आर्थिक साझेदारीलाई थप सुदृढ गर्न पूर्णतया केन्द्रित छ भन्ने सन्देश परराष्ट्रमन्त्रीमार्फत दिएको छ,’ उनले भने, ‘भारतमा दश वर्षमा दश हजार मेगावाट ऊर्जा व्यापार गर्ने लक्ष्यतर्फ नेपाल अघि बढिरहेको छ र समयभन्दा पहिले नै लक्ष्य पूरा हुन्छजस्तो मलाई लागेको छ । यसबाहेक युवाहरूलाई आकर्षित गर्ने क्रिकेट कूटनीति पनि अघि बढेको छ । यो अर्को सकारात्मक पाटो हो ।’ 

परराष्ट्र मामिला जानकार अरुणकुमार सुवेदीले राणाको सम्मानलाई नेपालको स्थिर सरकारसँग सहकार्य गर्ने भारतको सन्देशका रूपमा बुझ्नुपर्ने बताए । ‘दक्षिण एसियाली मुलुकमा आएको पछिल्लो राजनीतिक हलचलले भारतलाई नेपालसँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने भूराजनीतिक बाध्यता छ,’ उनले भने, ‘नेपालको बलियो सरकारका परराष्ट्रमन्त्री एवं पटक–पटक प्रथम महिला भइसकेको व्यक्तित्वका रूपमा परराष्ट्रमन्त्रीले उच्च महत्व पाउनुभएको छ । नेपालको स्थिर सरकारसँग सहकार्य गर्ने भारतको सन्देशका रूपमा यसलाई बुझ्नुपर्छ ।’ 

पूर्वउपरथी एवं सुरक्षाविद् विनोज बस्न्यातले दिल्लीको उच्च नेतृत्वले परराष्ट्रमन्त्री राणासँग सहज संवाद गरेर द्विपक्षीय सम्बन्धको दीर्घकालीन नयाँ अध्याय सुरु गरेको बताए । ‘भारतको छिमेक प्रथम नीतिमा नेपालको हित केन्द्रित गर्ने सुरुवात परराष्ट्रमन्त्रीबाट भएको छ । यस आधारमा अब नेपालले दीर्घकालीन राष्ट्रिय हितका लागि रणनीतिक कदम उठाउनुपर्छ,’ उनले भने ।

यसैगरी, विश्लेषक नविता श्रीकान्तले पटक–पटक प्रथम महिला भएकी डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्रीका रूपमा भारतमा उच्च महत्व पाउनु स्वाभाविक भएको बताए । ‘कांग्रेस–एमाले गठबन्धन सरकारले अघि सारेको संविधान संशोधन र राजनीतिक स्थायित्वको मार्गचित्रलाई दिल्लीले आत्मसात् गरेको छ । दिल्लीले नेपालसँग साझेदारीको महत्वलाई थप स्थापित गरेको छ,’ उनको भनाइ छ । 

नेपालका मन्त्रीहरूको मोदीसँगको भेट विरलै 
मोदी प्रधानमन्त्री भएको दश वर्षमा नेपालका परराष्ट्रमन्त्रीहरू महेन्द्रबहादुर पाण्डे, प्रदीप ज्ञवाली, नारायणकाजी श्रेष्ठ, नारायण खड्का, डा. विमला राई पौड्याल, रघुवीर महासेठ र एनपी साउदले भारतको औपचारिक भ्रमण गर्ने अवसर प्राप्त गरेनन् । चुच्चे नक्सा जारी भएपछि भारतमा भएको नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीको मोदीसँग भेट हुन सकेन । ०७३ मा प्रधानमन्त्री प्रचण्डका विशेष दूतका रूपमा दिल्ली गएका तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले मोदीसँग शिष्टाचार भेट गरेका थिए । लगानी सम्मेलनका लागि निमन्त्रणा गर्न ०७२ मा दिल्ली गएका तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री मोदी भेट्न एक दिन कुर्नुपरेको थियो । 

दिल्लीको म्याक्स अस्पतालमा सुरु भयो परराष्ट्रमन्त्री राणाको उपचार
परराष्ट्रमन्त्री राणाको स्वास्थ्योपचार दिल्लीको साकेतस्थित म्याक्स अस्पतालमा मंगलबार सुरु भएको छ । यसअघि उनको १४ चैत ०८० मा म्याक्स अस्पतालमा शल्यक्रिया भएको थियो । ‘उपचार सुरु भएको छ,’ कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापाले नयाँ पत्रिकासँग भने । स्वास्थ्योपचारका लागि पायक पर्ने गरी परराष्ट्रमन्त्रीलाई भारत सरकारले होटेल सेराटनमा बस्ने व्यवस्था मिलाएको छ ।

सीमा विवादबारे अलग्गै छलफल भएन 
परराष्ट्रमन्त्री राणाको भ्रमणमा विवादित विषय उठेनन् । सोमबार दिउँसो परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबिच हैदराबाद हाउसमा भएको औपचारिक वार्ता र साँझ प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा सुस्ता र लिम्पियाधुरा–कालापानी सीमाबारे छलफल भएन । 

नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, एयर रुट, बाढी तथा डुबान, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, खेलकुद, सीमा पूर्वाधारलगायत नेपाल–भारत सम्बन्धका सबै पक्षको समीक्षा भएको उल्लेख छ । ‘नियमित द्विपक्षीय संयन्त्रहरूमार्फत दुई पक्षबीच निरन्तर संवाद हुनुपर्नेमा दुवै परराष्ट्रमन्त्री सहमत भएका छन्,’ विज्ञप्तिमा छ । यस बुँदामा सीमा विवादका लागि गठित परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक बस्नुपर्नेमा दुवै पक्ष सहमत भएको अर्थ लाग्ने नेपाली अधिकारीहरू बताउँछन् । 

यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग २७ जेठमा नेपाल–भारत सम्बन्धका सबै संयन्त्र सक्रिय बनाउने प्रस्ताव गरेका थिए । यसमा मोदी सहमत भएका थिए । भारतीय विदेशसचिव विक्रम मिश्रीको नेपाल भ्रमणमा पनि यसबारे छलफल भएको थियो । परराष्ट्रमन्त्री राणाले पनि छलफल गरेकी छिन् । तर, भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भने संयन्त्रहरूमार्फत संवाद हुनुपर्ने विषय उल्लेख छैन ।

के हो दिल्लीको सन्देश ?

डा. निहार नायक, नेपाल–भारत सम्बन्धका जानकार
परराष्ट्रमन्त्री राणाले नेपालको सबैभन्दा पुरानो पार्टी कांग्रेस र बलियो सत्तागठबन्धनको परराष्ट्रमन्त्रीका रूपमा दिल्लीमा उच्च महत्व पाउनुभएको हो । भारतले सीमा विवादका सन्दर्भमा अडान कायम राख्दै नेपाललाई आर्थिक र प्राविधिक सहयोग दिने, ऊर्जा सहकार्य बढाउने सन्देश दिएको छ । मोदीसँग बैठकमा रहेका व्यक्तिहरू प्रमुख सरोकारवाला हुनुहुन्छ र उनीहरूलाई साथमा राखेर नेपालबारे ताजा जानकारी लिनुभएको अर्थमा यसलाई बुझ्नुपर्छ । 

डा. दिनेश भट्टराई, पूर्वराजदूत
परराष्ट्रमन्त्रीलाई भारत सरकारले अभूतपूर्व महत्व दिएको छ । यो महत्वको परिणाम दुई देशको सम्बन्धमा कसरी मुखरित हुन्छ भन्ने कुरा भविष्यले देखाउनेछ ।

रणजित राय, पूर्वराजदूत
परराष्ट्रमन्त्रीको भ्रमण अन्यन्तै सफल रह्यो । उहाँले उच्च नेतृत्वसँग भेट्नुभयो । भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिन्छ र आर्थिक साझेदारीलाई थप सुदृढ गर्न पूर्णतया केन्द्रित छ भन्ने सन्देश परराष्ट्रमन्त्रीमार्फत दिएको छ । भारतमा दश वर्षमा दश हजार मेगावाट ऊर्जा व्यापार गर्ने लक्ष्यतर्फ नेपाल अघि बढिरहेको छ र समयभन्दा पहिले नै लक्ष्य पूरा हुन्छजस्तो मलाई लागेको छ । यसबाहेक युवाहरूलाई आकर्षित गर्ने क्रिकेट कूटनीति पनि अघि बढेको छ । यो अर्को सकारात्मक पाटो हो । 

अरुणकुमार सुवेदी, परराष्ट्र मामिला जानकार
दक्षिण एसियाली मुलुकमा आएको पछिल्लो राजनीतिक हलचलले भारतलाई नेपालसँग सम्बन्ध थप सुदृढ बनाउनुपर्ने भूराजनीतिक बाध्यता छ । नेपालको बलियो सरकारका परराष्ट्रमन्त्री एवं पटक–पटक प्रथम महिला भइसकेको व्यक्तित्वका रूपमा परराष्ट्रमन्त्रीले उच्च महत्व पाउनुभएको छ । नेपालको स्थिर सरकारसँग सहकार्य गर्ने भारतको सन्देशका रूपमा यसलाई बुझ्नुपर्छ ।

रमेशनाथ पाण्डे, पूर्वपरराष्ट्रमन्त्री
धारिलो हुँदै गएको दक्षिण एसियाको आन्तरिक द्वन्द्वमा बाह्य शक्तिको सामरिक रुचि मिसिन थालेर जटिलता बढ्न थालेको अवस्थामा नेपाल–भारत सम्बन्ध व्यक्ति वा दलमा होइन भविष्यमुखी हुनुपर्छ ।

विनोज बस्न्यात, पूर्वउपरथी एवं सुरक्षाविद्
भारतको छिमेक प्रथम नीतिमा नेपालको हित केन्द्रित गर्ने सुरुवात परराष्ट्रमन्त्रीबाट भएको छ । यस आधारमा अब नेपालले दीर्घकालीन राष्ट्रिय हितका लागि रणनीतिक कदम उठाउनुपर्छ ।

नविता श्रीकान्त, विश्लेषक
कांग्रेस–एमाले गठबन्धन सरकारले अघि सारेको संविधान संशोधन र राजनीतिक स्थायित्वको मार्गचित्रलाई दिल्लीले आत्मसात् गरेको छ । दिल्लीले नेपालसँग साझेदारीको महत्वलाई थप स्थापित गरेको छ ।