Skip This
आज साँझदेखि तीन दिन पश्चिमकेन्द्रित भीषण वर्षाको प्रक्षेपण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २७ बिहीबार
  • Tuesday, 17 September, 2024
यम बम काठमाडाैं
२o८१ भदौ २७ बिहीबार o६:११:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आज साँझदेखि तीन दिन पश्चिमकेन्द्रित भीषण वर्षाको प्रक्षेपण

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने पूर्वानुमान ल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ भदौ २७ बिहीबार o६:११:oo

भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखा (हावाको चाप कम भएको क्षेत्र)का कारण पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको प्रक्षेपण गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार साँझदेखि शनिबारसम्म तीन दिन गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा धेरै वर्षा हुने अनुमान गरिएको हो । त्यसमा पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिँदै बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम र सुर्खेत बाढीपहिरोको उच्च जोखिममा रहने भन्दै सचेत गराएको छ । 

शान्ति कँडेल, मौसमविद् 
नेपालमा मनसुनी गतिविधि कायमै छ । भारतको मध्यप्रदेश क्षेत्रमा विकसित भएको न्यूनचापीय रेखाका कारण थप मनसुनी गतिविधि बढिरहेको हो । न्यूनचापीय रेखाका कारण बिहीबार साँझदेखि शनिबार बिहानसम्म नेपालमा वर्षा हुने देखिन्छ । यसमा पनि पश्चिममा धेरै वर्षा हुनेछ । अन्य ठाउँमा वर्षा नहुने भन्ने होइन । तर, धेरै वर्षा पश्चिममा हुन्छ । 

महाशाखाकी मौसमविद् शान्ति कँडेलले उत्तर–पश्चिम (नेपालनजिक) सरिरहेको न्यूनचापीय रेखाको असर बिहीबार साँझदेखि शनिबार बिहानसम्म नेपालमा देखिने बताइन् । ‘हल्कादेखि मध्यम वर्षा त देशभर नै हुन्छ, तर न्यूनचापीय रेखा विकसित भएको क्षेत्र पश्चिम नेपालनजिक भएकाले लुम्बिनी र सुदूरपश्चिममा अत्यधिकसम्म वर्षा हुने देखिन्छ,’ उनले भनिन् ।

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार यो अवधिमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुनेछ । अन्य प्रदेशमा भने केही क्षेत्रमा हल्कादेखि मध्यम र एक–दुई ठाउँमा भीषण वर्षा हुन सक्छ । तर, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मुसलधारेदेखि भीषण वर्षाको सम्भावना छ । सुदूरपश्चिमका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको चेतावनी दिइएको छ । 

मौसमविद् कँडेलका अनुसार मनसुनी प्रणाली सक्रिय नै रहेका वेला न्यूनचापीय रेखा विकसित भएकाले वर्षा हुन लागेको हो । यो प्रणालीका कारण पश्चिम नेपालमा बुधबार साँझबाट बादल लाग्न सुरु भइसकेको छ । 

बिहीबार सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा हावाहुरीसहित मुसलधारे वर्षाको आकलन गरिएको छ । बिहीबार राति सुदूरपश्चिमका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा हावाहुरीसहित मुसलधारे वर्षा हुने तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भीषणदेखि अत्यधिक वर्षाको चेतावनी महाशाखाले दिएको छ ।

पश्चिमका आठ जिल्लामा रेडअलर्ट : बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी, अछाम, सुर्खेतमा बाढीपहिरोको उच्च जोखिम

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिमका ६ तथा कर्णाली र लुम्बिनीका एक–एक गरी आठ जिल्लामा रेडअलर्ट जारी गरेको छ । अत्यधिक वर्षा भएर बाढीपहिरोको जोखिम निम्तने भन्दै महाशाखाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछामलाई रेडअलर्टमा राखेको हो । कर्णालीको सुर्खेत र लुम्बिनीको बर्दिया पनि रेडअलर्टमा छन् ।

महाशाखाले सुदूरपश्चिमको दार्चुला, बझाङ र बाजुरालाई मध्यम जोखिममा राखेको छ । कर्णालीका दैलेख, कालीकोट र सल्यान तथा लुम्बिनीका बाँके, दाङ, नवलपरासी पश्चिम, कपिलवस्तु, पाल्पा, रुपन्देही र अर्घाखाँची मध्यम जोखिममा परेका छन् । त्यस्तै, गण्डकीका नवलपरासी पूर्व, स्याङ्जा र तनहुँ, लुम्बिनीको चितवन तथा मधेशका बारा र पर्सा पनि मध्यम जोखिममा छन् ।