१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
२o८१ भदौ ७ शुक्रबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बारामा बाढीले पक्की घर भत्कायो, गुडिरहेको कार बगायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ ७ शुक्रबार १८:४२:oo

बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ शान्तिटोलमा वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि एक घर भत्किएको छ। वर्षापछि भाङ्ग्रे खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय सुनील साहको पक्की घर भत्किएको हो।

साह नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हुन्। उनी जिल्लाबाहिर कार्यरत छन्। घरमा उनको परिवारका सदस्य बस्दै आएका थिए। बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेका छन् भने भत्किएको घरबाट सामान निकालिएको छ।

यता बाढीले बजनीमा गुडिरहेको एउटा कार बगाएको छ। जितपुरका व्यवसायी शिवजी साह सोनारलगायत चारजना सवार कार बाढीले बगाएको हो। बाढीले कारसँगै बगाएपछि एक स्थानीयले उनीहरूलाई उद्धार गरेका थिए। कार बाढीले बगाएपछि डोरीले रुखमा बाँधेर राखिएको थियो।

उता जितपुरसिमरा उपमहानगरपालिका– ५ स्थित खाल्का टोल डुबानमा परेको छ। अत्यधिक वर्षापछि आएको बाढीले सयौँ घर रहेको बस्ती डुबानमा परेको हो। बस्ती डुबानमा परे पनि मानिस सुरक्षित छन्। वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकीसमेत डुबाएको छ।

यसैगरी, बाढीले शुक्रबार बिहान जितपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावरहाउस, नरबस्ती, बजनी जलमग्न बनेको थियो। वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी भने घटेको छ। वर्षाले सडक जलमग्न बनेपछि केही विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका थिए।

जितपुरसिमराका नगर प्रमुख राजन पौडेलले बाढी र डुबानप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। बाढीले स्थानीयस्तरमा क्षति पुर्‍याएपछि जितपुरसिमरा उपमहानगरपालिकाको नगरस्तरीय विपत् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भइरहेको छ।