१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ७ शुक्रबार
  • Thursday, 12 September, 2024
रेशमबहादुर खड्का जाजरकोट
२o८१ भदौ ७ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता नै गायब गरे

Read Time : < 1 मिनेट
रेशमबहादुर खड्का जाजरकोट
नयाँ पत्रिका जाजरकोट
२o८१ भदौ ७ शुक्रबार १४:१७:oo

नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने थाहा पाएपछि जाजरकोटको नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले कर्मचारी हाजिरी खाता नै गायब गरेका छन्।

सरुवा भएर आएका कार्यकारी अधिकृत गोपाल शाहीलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन्। नगर प्रमुखले हाजिरी खाता लुकाएपछि नगरका कर्मचारीले शुक्रबार हाजिर गर्न पाएका छैनन्। नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन नदिन मेयरले खाता लिएको प्रशासन शाखाका एक कर्मचारीले बताए।

तत्कालीन कार्यकारी अधिकृत दिनेश भट्टराईको सूचना आयोगमा सरुवा भएको पत्र साउन २७ गते नगरपालिकामा आएको थियो। पत्र आएसँगै नलगाड नगरपालिकामा जिल्ला समन्वय समितिबाट शाही रमाना लिएर आएका छन्। बिहीबार नगरपालिकामा शाही आउने जानकारी पाएलगत्तै नगर प्रमुखले मन्त्रालयलाई दुईवटा पत्र पठाएका थिए।

नगरपालिकाका एक कर्मचारीका अनुसार मेयर रावतले बिहीबार नै हाजिर खाता मागेर आफ्नो कार्यकक्षमा राखेका थिए। आफू नगरपालिकामा नभएको वेला हाजिर गराउन सक्ने आशंकाले कार्यकक्षमा हाजिर खाता राखेर उनी हिँडेका ती कर्मचारीले बताए।

मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरे पनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्नुपर्ने भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका थिए।

तर, मेयर रावत भने नगरपालिकामा ई–हाजिरीको व्यवस्था भएकाले आफूले हाजिर खाता नलुकाएको बताउँछन्। त्रिभुवन माविको सम्पत्ति हिनामिनाकाे विषय छानबिनलगायतका काम बाँकी रहेकाले केही समय भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत राख्न खोजिएको उनको भनाइ छ। सम्पत्ति हिनामिनाको विषयमा छानबिन गर्न भट्टराईकै संयोजकत्वमा समिति बनाइएकाले छानबिन नसकिएसम्म उनलाई नै काम गर्न दिन आग्रह गरेको मेयर रावतले बताए।