
कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । कञ्चनपुरको पर्या–पर्यटन प्रवर्द्धनका लागि शुक्रबारदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा हुन लागेकाे आठौँ शुक्लाफाँटा पर्यटन महोत्सवको सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर रानाले उद्घाटन गर्दै पर्यटनका माध्यमबाट आम्दानी वृद्धिका लागि महोत्सव सराहनीय भएको बताए । उनले तीनै तहका सरकारको संयुक्त साझेदारीमा पर्यटकीय कामकाज अघि बढाउनुपर्ने जोडदिएका छन् ।
भीमदत्त नगरका प्रमुख पदम बोगटीले निकुञ्ज जिल्लाका अन्य पालिकासँगै जोडिएको भए पनि भीमदत्त नगर जेठो पालिका भएकाले आफैँले दायित्व लिएर कार्यक्रम सञ्चालन गरेको बताए । मेयर बोगटीले पर्यटकीय सम्भावना बोकेको शुक्लाफाँटामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्नेमा जोड दिएका छन् ।
भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले विगतका वर्षहरू जस्तै यस वर्ष पनि नगरपालिकाले शुक्लाफाँटा पर्यटन महोत्सव मनाउन लागेको बताउँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज स्थापनाको अवसर पारेर कञ्चनपुरको पर्यापर्यटन प्रवर्द्धनका लागि सरोकारवालासँग समन्वय गरेर महोत्सव आयोजना गरिएको बताए । सात दिनसम्म मनाइने महोत्सवका हरेक दिन फरक–फरक कार्यक्रम रहेका छन् ।
पहिलो दिन सुदूरपश्चिमको लोकसंस्कृति झल्किने गरेर झाँगी प्रदर्शनसहित उद्घाटन गरिएको छ । दोस्रो दिन निकुञ्जभित्र भारतीय पत्रकारसहितका सरोकारवालाहरूलाई भ्रमण, तेस्रो दिन एयरपोर्टदेखि निकुञ्जसम्म सरसफाइ, चौथो दिन डिजिटलमार्फत निकुञ्जको प्रचारप्रसार, पाँचौँ दिन निकुञ्सम्बन्धी निबन्ध प्रतियोगिता, छैटौँ दिन पर्यटनबारे सरोकारवालासँग छलफल र सातौँ दिन निकुञ्जका कर्मचारी र भीमदत्त नगरका जनप्रतिनिधिबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता राखेर समापन गरिनेछ । ‘१२ फागुनदेखि महेन्द्रनगर खुला मञ्चमा हुने महोत्सवमा आउने राष्ट्रिय कलाकारहरूलाई निकुञ्ज अवलोकन गराइनेछ,’ उपाध्यक्ष केसीले भने, ‘यसरी राष्ट्रिय कलाकारलाई निकुञ्ज अवलोकन गराएपछि उहाँहरूबाट समेत थप प्रचारप्रसार हुनेछ ।’
भीमदत्त नगरका नगर प्रवक्ता पदमराज अवस्थीले पर्यटकीय सम्भावना बोकेका निकुञ्जमा पर्यटनको संख्या वृद्धि गर्दै यहाँको आर्थिक वृद्धि विकासका लागि महोत्सव आयोजना गरिएको बताए । प्रवक्ता अवस्थीले कञ्चनपुरकै हितका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवलाई थप स्तरीय बनाउन र पर्यटकीय गन्तव्य बनाउन नागरिक स्तरबाटै सुझाव आएको छ ।