
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई थप आकर्षित गर्न सरकारले छुट सुविधा वृद्धि गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्दै आएको यात्रु सेवा शुल्कबापतको तीन हजार र पर्यटन शुल्कबापतको एक हजार रुपैयाँ छुट दिने निर्णय १९ चैतदेखि कार्यान्वयनमा आउने भएको नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा लिने यात्रुहरूको हकमा भने दुवै शुल्क यथावत् रहनेछ । सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भदौ ०८३ सम्म छुट सुविधा दिने निर्णय गरेको हो ।
भैरहवा र पोखराबाट हुने अन्तर्राष्ट्रिय टिकटमा यात्रुसेवा र पर्यटन शुल्क छुट दिने निर्णय कार्यान्वयनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगममार्फत इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आयटा)मा पत्राचार गरिसकेको भुलले बताए । निगम आयटाको सदस्य भएकाले उसैमार्फत शुल्क छुट दिइएको निर्णयबारे जानकारी गराइएको हो । अब आयटाले ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जिडिएस)मा अपडेट गरेपछि छुट कार्यान्वयनमा आउँछ । यो कार्यान्वयनमा आउन ४५ दिन लाग्ने उनको भनाइ छ ।
मन्त्रिपरिषद्बाट २८ साउनमा स्वीकृत गरिएको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्यविधिमा हवाई टिकटमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) पनि पुनरावलोकन गर्ने निर्णय गरिएको छ । तर, कार्यविधि बनेको ६ महिना बितिसक्दासमेत भ्याट छुटको विषयमा अर्थ मन्त्रालयले निर्णय गरेको छैन । भ्याट छुटका लागि आर्थिक ऐन संशोधन गर्नुपर्ने हुन्छ ।
‘पर्यटन बोर्डले तत्कालै पर्यटन शुल्क हटाउने निर्णय गरेर पठाएको थियो, यात्रुसेवा शुल्क पूर्ण रूपमा छुट दिने निर्णय पनि बल्ल १० माघमा मात्रै राजपत्रमा प्रकाशित भएको थियो,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘हामीले भ्याट, यात्रुसेवा र पर्यटन शुल्क छुटको निर्णय भएपछि एकैपटक आयटामा पत्राचार गर्ने योजना बनाएका थियौँ, तर अर्थले भ्याट छुटबारे अझै निर्णय गरेको छैन, यसैले यात्रुसेवा र पर्यटन शुल्क छुट दिने निर्णय मात्रै कार्यान्वयनका लागि आयटामा पत्राचार गरेका छौँ ।’ छुट कार्यान्वयनमा आएपछि काठमाडौंको तुलनामा भैरहवा र पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानको यात्रा थप सस्तो हुनेछ । भैरहवा विमानस्थलबाट फ्लाई दुबई, जजिरा, थाई एयर एसिया र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।
भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइएको सुविधा